Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्रवासी नेपालीको प्रतिनिधित्वका लागि कांग्रेस केन्द्रीय सदस्यमा बालकृष्ण पाण्डेको उम्मेदवारी


ग्लोबल पाना
शनिबार, असोज २४ २०८३
  • 194
    SHARES

  • images
    प्रवासी नेपालीको प्रतिनिधित्वका लागि कांग्रेस केन्द्रीय सदस्यमा बालकृष्ण पाण्डेको उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नेपाली जनसम्पर्क समिति भारतका पूर्व केन्द्रीय सभापति बालकृष्ण पाण्डेले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। भारतबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका पाण्डेले आफ्नो चार दशकभन्दा लामो राजनीतिक तथा सामाजिक सेवाको अनुभवलाई आधार बनाएका छन्। पाण्डेले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। २०४५–४६ सालको जनआन्दोलनदेखि भारतमा रहेर नेपाली लोकतन्त्रका पक्षमा जनमत निर्माण, प्रदर्शन तथा धर्नालगायतका गतिविधिमा सक्रिय रहेको बताइएको छ। भारतमा रहेका नेपालीका समस्या समाधानका लागि नेपाल तथा भारत सरकारका सम्बन्धित निकायसँग समन्वय र पहल गर्दै आएको उनको भनाइ छ।

    images
    images
    images

    नेपाली जनसम्पर्क समिति भारतमा शाखा सचिवदेखि क्षेत्रीय नेतृत्व, महासचिव, केन्द्रीय संगठन सचिव, प्रवक्ता तथा महामन्त्री हुँदै पाण्डेले तीन पटक केन्द्रीय सभापतिको जिम्मेवारी सम्हालेका छन्। संगठनलाई विधान र लोकतान्त्रिक प्रक्रियाअनुसार सञ्चालन तथा विस्तार गर्न उनले भूमिका निर्वाह गरेको समर्थकहरूको दाबी छ। पाण्डे नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत भइसकेका छन्। उनले पार्टीका विभिन्न पुस्ताका नेताहरूसँग सहकार्य गर्दै राजनीतिक गतिविधिमा निरन्तरता दिएको बताएका छन्। राजनीतिक गतिविधिसँगै पाण्डेको सामाजिक तथा मानवीय सेवामा समेत संलग्नता रहेको छ। २०७२ सालको भूकम्प, बाढी–पहिरो तथा कोभिड–१९ महामारीका समयमा भारतमा रहेका नेपालीलाई राहत, उपचार तथा स्वदेश फर्काउन समन्वय गर्ने कार्यमा उनी सक्रिय रहेको जनाइएको छ। भूकम्पपछि नेपाली जनसम्पर्क समिति भारतमार्फत विभिन्न जिल्लामा राहत सामग्री तथा आर्थिक सहयोग परिचालन गरिएको थियो।

    कोभिड–१९ महामारीका समयमा भारतमा रहेका नेपालीलाई स्वदेश फर्काउन समन्वय गर्नुका साथै समस्यामा परेका नेपाली महिला तथा बालबालिकाको उद्धार, उपचार तथा कानुनी र मानवीय सहयोगमा समेत पाण्डे संलग्न रहेको उनका समर्थकहरूले बताएका छन्। पाण्डेको उम्मेदवारीलाई प्रवासी नेपालीको प्रतिनिधित्वसँग जोडेर हेरिएको छ।

    नेपाल तथा विश्वका विभिन्न मुलुकबाट आएका कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले उनको राजनीतिक यात्रा, संगठनात्मक अनुभव तथा सामाजिक योगदानको मूल्याङ्कन गर्दै निर्णय गर्नुपर्ने उनका समर्थकहरूको अपिल छ। पाण्डेले आफूलाई “संघर्षबाट खारिएको, संगठनबाट स्थापित र सेवाबाट जोडिएको राजनीतिक यात्रा” का रूपमा प्रस्तुत गर्दै कांग्रेसको केन्द्रीय समितिमा प्रवासी नेपालीको आवाजलाई थप प्रभावकारी बनाउन उम्मेदवारी दिएको बताएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ