गैंडाकोट । गैंडाकोट नगर बाल सञ्जालको आयोजनामा मिति २०८२ माघ १६ गते शुक्रवार तिलोत्तमा नगरपालिकामा बालमैत्री अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ।
अवलोकन भ्रमणमा गैंडाकोट नगर बाल सञ्जालका पदाधिकारी एवं सदस्य, सल्लाहकार तथा जिल्ला बाल क्लब नवलपुरका सचिव विशाल सापकोटा, गैंडाकोट नगरपालिकाको शिक्षा शाखा, आर्थिक विकास, आर्थिक प्रशासन शाखा, महिला तथा बालबालिका शाखाका कर्मचारी, कार्यपालिका सदस्य तथा प्रतिनिधिहरू गरी ३० जनाको प्रतिनिधि मण्डल सहभागी रहेको थियो।
भ्रमणका क्रममा प्रतिनिधि मण्डलले तिलोत्तमा नगरपालिका अन्तर्गतका बाल समूह सञ्जाल, बालमैत्री शाखा तथा बालमैत्री सहजकर्ताहरूसँग शिष्टाचार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो। अन्तर्क्रिया कार्यक्रममा तिलोत्तमा नगरपालिकाले बालमैत्री नगरपालिका घोषणा गर्नुअघि अपनाएको प्रक्रिया, घोषणा पश्चात सञ्चालन गरिएका कार्यक्रम तथा प्रभावकारी असल अभ्यासहरूबारे अनुभव आदान–प्रदान गरिएको थियो।
कार्यक्रममार्फत तिलोत्तमा नगरपालिकाले बाल अधिकार सुनिश्चित गर्न अपनाएका नीतिगत व्यवस्था, संस्थागत संरचना, बाल सहभागिता प्रवर्द्धनका अभ्यास तथा स्थानीय तहको भूमिका एवं चुनौतीहरू बारे विस्तृत जानकारी प्राप्त भएको गैंडाकोट नगर बाल सञ्जालले जनाएको छ।
कार्यक्रममा बोल्दै सञ्जालका सल्लाहकार एवं जिल्ला बाल क्लब नवलपुरका सचिव विशाल सापकोटाले अवलोकन भ्रमणले गैंडाकोट नगर बाल सञ्जाल तथा नगरपालिका प्रतिनिधिहरूलाई बालमैत्री नगरपालिका निर्माणका लागि आवश्यक व्यवहारिक ज्ञान र अनुभव प्रदान गरेको बताए। उनले यस प्रकारका सिकाइ भ्रमणहरू बालबालिका र स्थानीय तहका लागि प्रभावकारी हुने उल्लेख गरे।
त्यस्तै गैंडाकोट नगर बाल सञ्जालका अध्यक्ष संसार सापकोटाले भ्रमणबाट प्राप्त सिकाइलाई व्यवहारमा उतार्दै गैंडाकोट नगरपालिकालाई पनि छिट्टै बालमैत्री नगरपालिकाको रूपमा विकास गर्न सञ्जाल सक्रिय र प्रतिबद्ध भएर लाग्ने बताए।
.gif)




 x 450 (H) Global Pana.jpeg)


