Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बालअधिकार प्रवर्द्धन र अनलाइन बालयौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिकाबारे अन्तरक्रिया सम्पन्न


ग्लोबल पाना
आइतबार, जेठ १७ २०८३
  • 441
    SHARES

  • images
    बालअधिकार प्रवर्द्धन र अनलाइन बालयौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिकाबारे अन्तरक्रिया सम्पन्न

    पाेखरा । बालअधिकार प्रवर्ध्दन र अनलाइन बालयौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम भ्वाइस अफ चिल्ड्रेनको आयोजना, बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)को सहकार्य र केएनएच जर्मनी तथा जर्मन कोअपरेसनको सहयोगमा पोखरामा सम्पन्न भएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) का केन्द्रीय सदस्य केशव पौडेलले बालअधिकार प्रवर्द्धनमा सञ्चारकर्मीहरूको भूमिका तथा योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो भने कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमिरेले सन् २०२३ मा ५१४ जना बालबालिकामा गरिएको एक अध्ययन अनुसार १३ देखि १८ वर्ष उमेर समूहका ९७ प्रतिशत बालबालिकाको इन्टरनेटमा पहुँच पुगिसकेको छ ।

    images
    images
    images

    अध्ययनमा सहभागी बालिकाहरुमध्ये ३८.६० प्रतिशतले आफूलाई यौनजन्य सन्देश आएको बताएका छन् । त्यसैगरी ३४ प्रतिशतले अश्लील फोटो र १३.६० प्रतिशतले अश्लील लिङ्क वा भिडियो आएको खुलाएका छन् । ६.८० प्रतिशत बालिका अनलाइनबाटै अन्य विभिन्न दुर्व्यवहार र शोषणमा परेका छन् । बालकहरुको अवस्था पनि उस्तै देखिएको छ । सहभागी बालकमध्ये ३२.३० प्रतिशतले यौनजन्य सन्देश, २९.२० प्रतिशतले अश्लील फोटो र १५.४० प्रतिशतले अश्लील लिङ्क वा भिडियो प्राप्त गरेको बताएका छन् । ६.२० प्रतिशत बालक अनलाइनबाट अन्य दुर्व्यवहारमा परेका छन् ।

    यसैगरी अध्ययनमा सहभागी अभिभावकमध्ये ९९ प्रतिशत अभिभावकसँग इन्टरनेटको सुविधा भए पनि उनीहरुलाई अनलाइन बाल यौन दुर्व्यवहार, कानुनी प्रावधान, उजुरी प्रक्रिया र डिजिटल साक्षरता जस्ता विषयमा जानकारी नै नभएको पाइएको छ । नेपाल प्रहरी साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै ७७२ जना बालबालिका साइबर अपराधको शिकार भएको भन्दै उजुरी दर्ता भएको छ । उजुरी दिनेमा ३५१ जना बालक र ४२१ जना बालिका रहेका छन् ।

    अनलाइनमा हुने यस्ता ८१ प्रतिशतभन्दा बढी घटनाहरु फेसबुकमार्फत हुने गरेको देखिएको छ । अग्रज पत्रकार गंगाधर पराजुलीले बाल अधिकार प्रवर्द्दनमा सञ्चारकर्मीको भुमिका बिषयक कार्यपत्र प्रस्तुत गर्दै सञ्चार माध्यमले बालवालिकाका बिषयमा सचेत हुंदै समाचार प्रकाशन तथा प्रसारण गर्नुपर्ने र आचार संहिता पुर्णरुपमा लागु गर्न सके बाल अधिकार सुरक्षित गर्न सकिन्छ भन्नु भयो । नेपाल प्रेस काउन्सिलका पूर्व सदस्य केशवशरण लामिछानेले अनलाइन बाल यौन दुर्व्यवहार रोकथामका लागि सामाजिक सञ्जालको प्रभावकारी नियमन आवश्यक रहेको बताउनुभयो ।

    त्यसैगरी, राष्ट्रिय समाचार समितिका बासुदेव पौडेलले अनलाइन बाल सुरक्षाको सवालमा सबै सञ्चारकर्मी स्वयं सचेत र जिम्मेवार हुनुपर्ने कुरामा जोड दिनुभयो। एभरेष्ट एफएमका सन्देश श्रेष्ठले बालबालिकासम्बन्धी विषयवस्तुलाई सञ्चारमाध्यमले प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै यसलाई अझ प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो भने सेतोपाटीका युवराज श्रेष्ठले पत्रकारहरूले जुनसुकै अवस्थामा पनि बालबालिका समस्या पर्ने हुनाले तथा सरोकारका विषयहरूलाई प्राथमिकताका साथ उजागर गरी समाजमा सचेतना फैलाउनुपर्ने बताउनुभयो ।

    नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना शर्माले कार्यक्रमको समापन गर्दै सूचना प्रविधिले हाम्रो जीवनलाई जति सहज बनाएको छ, त्यति नै चुनौतीहरू पनि थपेको उल्लेख गर्नुभयो । उहाँले नयाँ सञ्चार माध्यमहरूको बढ्दो प्रयोगसँगै बालअधिकारप्रति संवेदनशील पत्रकारिताको आवश्यकता झन् बढेको बताउँदै बालबालिकासम्बन्धी विषयवस्तु सम्प्रेषण गर्दा सञ्चारकर्मीहरूले विशेष सावधानी, जिम्मेवारी र संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न सञ्चारमाध्यम अग्रज पत्रकारसहित २९ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले अनलाइन बाल दुर्व्यवहार रोकथामका लागि बालबालिका, युवा, महिला, शिक्षक, सञ्चारकर्मी तथा कानुनी निकाय सबैको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका थिए ।

    त्यसैगरी, भ्वाइस अफ चिल्ड्रेनले विगत २६ वर्षदेखि सडकमा रहेका तथा जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण र पुनर्मिलनका क्षेत्रमा काम गर्दै आएको जानकारी दिइएको थियो । सुरक्षित समाज निर्माणका लागि सञ्चारकर्मी र सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको सहभागीहरूको निष्कर्ष थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ