काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूले खेलिने विभिन्न खेलकुदहरू मध्ये फुटबल खेल पनि एक हो । यो फुटबल खेल अन्य अपाङ्गता भएका व्यक्तिहरूका साथै दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले पनि खेल्ने गर्दछन् । हाम्रो देशमा भने दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको फुटबल खेललाई सक्षम नेपालको टिमले सन् २०२१ मा प्रशिक्षण दिएर सुरुवात गरेको थियो । विभिन्न कारणले यस खेललाई निरन्तरता दिन नसके पछि गत वर्ष २०८२ देखि सक्षम नेपालको नेतृत्व र काठमाडौँ महानगरपालिको सहयोगमा पुनः सुरुवात गरिएको थियो ।
यस वर्ष पनि सक्षम नेपालको आयोजना तथा काठमाडौँ महानगरपालिका वडा नं ३० को सहयोगमा जेठ २० गते देखि २५ गते सम्म दृष्टिविहीन फुटबल प्रशिक्षण सञ्चालन गरिएको हो । यस प्रशिक्षणको समापनका क्रममा आयोजक संस्था सक्षम नेपालका अध्यक्ष विरुकमल श्रेष्ठले खेलकुद सबैका लागि र स्वास्थ्यका लागि पनि अति नै आवश्यक रहेको र विभिन्न आवश्यक श्रोत साधनको उपलब्धता र पर्याप्त मात्रमा प्रशिक्षण भएमा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको फुटबल खेलको विकास गर्न सकिने भएकोले यो तालिमको आयोजना गरिएको बताउनु भयो ।
त्यसै गरी उहाँले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासम्धीको धारा ३० मा मनोरञ्जन र खेलकुदको अधिकार सुनिश्चित गरिएकोले आगामी दिनमा यस खेललाई अगाडी बढाउनका लागि राज्य स्तरबाट पनि कार्यक्रमको आयोजना गर्नु पर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी समापन कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष दल बहादुर कार्कीले प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र तथा मेडलहरू प्रदान गर्दै सक्षम नेपालसँग सहकार्य गरेर दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको लागि फुटबल प्रशिक्षणको आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै अन्य अपाङ्गता भएका व्यक्तिहरूका साथै दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले पनि फुटबल प्रशिक्षण प्राप्त गरेर आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिताहरूमा पनि सहभागी हुन सकिने बताउनु भयो ।
साथै उहाँले यस फुटबल खेलको विकासका लागि शुभकामना पनि व्यक्त गर्नु भएको थियो । त्यसै गरी सोही वडाका वडा सचिव देवराज जोशीले काठमाडौँ महानगरपालिका वडा नं ३० ले विगतका दिनहरूमा अपाङ्गता भएका व्यक्तिहरूको आय-आर्जन, सीप मूलक कार्यक्रमहरू, अपाङ्गता भएका महिलाहरूका लागि ह्विलचियर बास्केटबल प्रतियोगिताहरू सञ्चालनका लागि सहयोग गरी सकेको र यस वर्ष देखि दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूका लागि फुटबल प्रशिक्षण पनि सञ्चालनमा सहयोग गर्न पाउँदा खुसी लागेको भन्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्नु बताउनु भयो ।
समापन कार्यक्रममा पूर्ण दृष्टिविहीन खेलाडी किरण दाहालले फुटबल प्रशिक्षण लिन पाउँदा ज्यादै खुसी लागेको र आगामी दिनमा यो तालिम राम्रोसँग लिन सकेमा फुटबल खेललाई अगाडी बढाउन सकिने भन्दै यस्ता तालिम र खेलको निरन्तरताका लागि स्थानीय निकाय तथा राज्यको साथ र सहयोगको आवश्यक रहेको बताउनु भयो ।
सत्यमान लामा र सन्देशकृष्ण श्रेष्ठ मुख्य प्रशिक्षक रहेको सो प्रशिक्षणमा १२ जना पुरुष दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो भने उत्कृष्ट खेलाडी शङ्कर थिङ् र अनुशासित खेलाडी सन्देश स्याङ्बोलाई प्रोत्साहन स्वरूप रु १/ १ हजार रुपैयाँ पनि प्रदान गरिएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


