Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

गढीमाईको १३औँ नगरसभा सम्पन्न, ५९ करोड २२ लाखको बजेटमार्फत पूर्वाधार र सुशासनमा विशेष जोड


ग्लोबल पाना
मंगलबार, असार ९ २०८३
  • 367
    SHARES

  • images
    गढीमाईको १३औँ नगरसभा सम्पन्न, ५९ करोड २२ लाखको बजेटमार्फत पूर्वाधार र सुशासनमा विशेष जोड

    रौतहट । रौतहट स्थित गढीमाई नगरपालिका ले आर्थिक वर्ष २०८३/०८४ का लागि ५९ करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । “मेरो नगर म बनाउँछु” भन्ने नारासहित सोमबार सम्पन्न १३औँ नगरसभामा नगर प्रमुख श्याम प्रसाद यादव ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् । नगरसभाका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादव ले स्थानीय तहको विकास, सुशासन र जनउत्तरदायी सेवा प्रवाहमा जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै विकास निर्माणका कार्यहरूलाई प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरे ।

    images
    images
    images

    नगरसभामा नगर उपप्रमुख स्मिता कुमारी यादव, वडा नं. १ देखि ९ सम्मका वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रस्तुत बजेटअनुसार चालुतर्फ ४० करोड ९० लाख ४० हजार रुपैयाँ तथा पूँजीगततर्फ १८ करोड ३२ लाख ८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

    नगरपालिकाले आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि आन्तरिक आय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँडलाई प्रमुख स्रोतका रूपमा निर्धारण गरेको छ । बजेटका स्रोतहरूमध्ये आन्तरिक आय २ करोड ८० लाख रुपैयाँ, संघीय सरकारको समानिकरण अनुदान ११ करोड ३७ लाख रुपैयाँ, सशर्त अनुदान २८ करोड १८ लाख रुपैयाँ, राजस्व बाँडफाँड ११ करोड १८ लाख रुपैयाँ रहेको छ ।

    त्यसैगरी मधेश प्रदेश सरकारबाट समानिकरण, विशेष, समपुरक, सशर्त अनुदान तथा राजस्व बाँडफाँडमार्फत विभिन्न शीर्षकमा बजेट प्राप्त हुने जनाइएको छ । साथै सडक बोर्ड नेपाल बाट ४० लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ । नगर प्रमुख यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगर गौरवका योजनाहरूलाई निरन्तरता दिने, विगत आर्थिक वर्षमा स्रोत अभावका कारण भुक्तानी हुन बाँकी रहेका योजनाहरूलाई प्राथमिकताका आधारमा भुक्तानी गर्ने तथा ठूला पूर्वाधार आयोजनाहरू संघ, प्रदेश र विकास साझेदार संस्थाहरूको सहकार्यमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    आगामी आर्थिक वर्षका लागि सडक पूर्वाधार, शहरी आवास, खानेपानी तथा सरसफाइ, नदी नियन्त्रण, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, पर्यटन, युवा तथा खेलकुद, सामाजिक सुरक्षा, वन तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। नगरभित्रका सडकलाई क्रमशः ढलान तथा कालोपत्रे गर्ने, डिजिटल माध्यमबाट सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा स्वच्छ, सफा र हरियाली नगर निर्माण अभियानलाई तीव्रता दिने नीति लिइएको छ ।

    यस्तै, दलित, भूमिहीन, अव्यवस्थित बसोबासी तथा सुकुम्बासीहरूको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखिएको छ भने आन्तरिक राजस्व वृद्धि, संस्थागत सुशासन, मुस्कानसहितको सेवा प्रवाह, सांस्कृतिक सम्पदा संरक्षण तथा यातायात र सञ्चार क्षेत्रको विकासलाई समेत नीति तथा कार्यक्रमको महत्वपूर्ण आधार बनाइएको छ । नगरपालिकाले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रमले पूर्वाधार विकास, आर्थिक समृद्धि, सामाजिक समावेशिता र सुशासनलाई केन्द्रमा राख्दै गढीमाई नगरपालिकालाई आधुनिक, व्यवस्थित र नागरिकमैत्री नगरका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ