काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि बुढानीलकण्ठ नगरपालिका–९ का वडा अध्यक्षले विपद्को यो कठिन घडीमा राजनीतिक प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र सामाजिक सञ्जालमा जस लिने होडभन्दा माथि उठेर मानवीय उद्धार तथा राहतमा केन्द्रित हुन सबैलाई आग्रह गरेकी छिन् । वडा अध्यक्षले आफूलाई ‘जिम्मेवारी र कामको हिसाबले चौबिसै घण्टा अलर्ट रहने मजदुर’ का रूपमा उल्लेख गर्दै जनप्रतिनिधिको जिम्मेवारी र विपद्का बेला भोग्नुपर्ने पीडालाई भावुक रूपमा प्रस्तुत गरेकी छिन् ।
उनले अहिले सिंगो नेपाल शोकमा रहेको र विश्व नै नेपालीको पीडामा स्तब्ध बनेको उल्लेख गर्दै यस्तो दुःखद परिस्थितिमा समेत सामाजिक सञ्जालमा एक–अर्काबीच दोहोरी चलेको देख्दा आफू निशब्द बनेको बताएकी छिन् । उनका अनुसार पीडितको रोदन, आफन्तको खोजी गरिदिन गरिएको अनुनय–विनय र विपद्पछिको भयावह अवस्थाले मन विचलित बनाइरहेको छ । नदी किनारमा थुप्रिएका शव तथा दुर्गन्धका कारण महामारीको जोखिमसमेत बढ्न सक्ने चिन्ता उनले व्यक्त गरेकी छिन् ।
वडा अध्यक्षले केही वर्षअघि कोभिड–१९ महामारीका समयमा आफूले भोगेको कहालीलाग्दो अनुभव पनि स्मरण गरेकि छिन् । बिरामीका लागि अस्पतालको शय्या व्यवस्थापनदेखि मृतकको शव व्यवस्थापन, घरभित्र थुनिएर बसेका परिवारका लागि खानपानको व्यवस्था र मध्यरातमा अक्सिजन सिलिन्डर बोकेर संक्रमितको घरसम्म पुग्नुपरेका दिनहरू उनले सम्झिएकी छिन् । ‘मध्यरातमा अक्सिजनको सिलिन्डर बोकेर कोभिड लागेका बिरामीको नजिक गएर घर फर्कंदा म नै मेरो परिवारको यमराज बन्दैछु कि जस्तो लाग्थ्यो,’ उनले भावुक हुँदै स्मरण गरेकी छिन् ।
महामारीका बेला छोराछोरीले समेत आफ्नो सुरक्षाबारे चिन्ता व्यक्त गर्ने गरेको बताउँदै उनले आफन्त र साथीभाइ गुमाएको पीडा पनि व्यक्त गरेकी छिन् । ‘सबैले आफू बाचे संसार देखिन्छ भनेर झ्याल थुन्दा, आफू भने ढोका–ढोका पुगिन्थ्यो,’ उनले भनेकी छिन् । कोभिडका ती कठिन क्षणहरू सम्झँदै उनले अहिले भोटेकोशी आसपासको विपद्मा पीडितको उद्धार र राहतका लागि खटिरहेका स्थानीय जनप्रतिनिधिहरूको अवस्थाप्रति पनि सहानुभूति व्यक्त गरेकी छिन् । ‘आफूलाई कसरी समाल्दै अरूको पीडामा मलमपट्टि लगाउनु सजिलो छैन,’ भन्दै उनले तत्कालीन राहतसँगै प्रभावित परिवारको गास, बास र कपासको दीर्घकालीन समाधान खोज्नु अर्को ठूलो चुनौती रहेको बताएकी छिन् ।
उनले विपद् प्रभावित नागरिक र स्थानीय जनप्रतिनिधिको हौसला बढाउन तथा पुनःस्थापना र पुनर्निर्माणका लागि दीर्घकालीन योजनासहित अघि बढ्नुपर्नेमा जोड दिएकी छिन् । ‘अहिले आपसमा केको राजनीति गर्नु, केको घमण्ड गर्नु ? पहिले जीवन जोगाउन लागौँ, अनि समय आएपछि सबैथोक गरौँला,’ वडा अध्यक्षको अपिल छ । उनले भाइरल र लोकप्रिय हुने होड छोडेर आपसी सहकार्य गर्न तथा देखावटीभन्दा वास्तविक रूपमा पीडितसम्म राहत पुग्ने काममा लाग्न सबैलाई आग्रह गरेकी छिन् । ‘हामी नेपाली, हाम्रो प्यारो सुन्दर नेपाल—योभन्दा राम्रो चिनारी अरू केही छैन र हुँदैन पनि,’ उनले भावुक हुँदै भनेकी छिन् ।
भोटेकोशी विपद्मा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, पशुपतिनाथले सबैलाई धैर्य र सहनशक्ति प्रदान गरून् भन्ने कामनासमेत गरेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


