नुवाकोट । भदौ १० गते भोटेकोशी–रसुवा–नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूका लागि लाइफ फर इर्थ नेपाल प्रा.लि.को संयोजकत्वमा आज नुवाकोटमा करिब ४० लाख रुपैयाँ बराबरको खाद्यान्न, ओछ्याउने–ओढ्ने सामग्री, लत्ताकपडा लगायतका राहत सामग्री ३२० परिवारलाई वितरण गरिएको छ । वितरण गरिएको सामग्रीमध्ये १६० परिवारलाई प्रत्यक्ष रूपमा वितरण गरिएको छ भने बाँकी १६० परिवारका लागि बिदुर–४ का वडाध्यक्षमार्फत बाढीबाट प्रभावित गरिब तथा असहाय परिवारहरूलाई वितरण गर्ने गरी हस्तान्तरण गरिएको लाइफ फर इर्थ नेपालका प्रमुख सुनील रिजालले जानकारी दिनुभयो ।
शनिबारका दिन बिदुर–१, मा राहत वितरण कार्यक्रम सम्पन्न भएको उहाँले बताउनुभयो। यस राहत सामग्री वितरणका लागि भारतको त्याग ग्रुप, तपोवन फ्यामिली, नेपाल ट्रस्ट तथा नेपालकै लाइफ फर इर्थ नेपाल, सम्झौता नेपाल जस्ता गैरसरकारी संस्था र नेपाल नेशनल हस्पिटलले सहयोग गरेका थिए । यसको सम्पूर्ण व्यवस्थापन कार्य भने लाइफ फर इर्थ नेपालले गरेको थियो । यस सहायता वितरणका लागि भारतको तपोवन फ्यामिलीमा अध्ययनरत विद्यार्थी तथा त्यहाँबाट उत्तीर्ण भई हाल एलुम्नाईमा रहेका पूर्वविद्यार्थीहरूले आ-आफ्नो सामर्थ्य अनुसार रु.५००, रु.१००० र रु.२००० जति सकिन्छ त्यति रकम संकलन गरी सहयोग गरेका थिए ।
राहत वितरण कार्यक्रममा भारतबाट केही विद्यार्थीहरू प्रत्यक्ष रूपमा नेपाल आई सहभागी भएका थिए । "यो विपत्तिको घडीमा सबैले आ-आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्छ। तर राहत भने वास्तवमै प्रत्यक्ष पीडित भएकाहरूले मात्र लिनुपर्छ," लाइफ फर इर्थ नेपालका प्रमुख सुनील रिजालले भन्नुभयो । रिजालले २०७२ सालको भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र हाल गृहमन्त्री सुदन गुरुङ लगायतका सम्बन्धित निकायहरूसँग समेत समन्वय गर्दै विपद् व्यवस्थापनको क्षेत्रमा निरन्तर काम गर्दै आउनुभएको छ ।
विपद्को कठिन घडीमा उहाँ सधैं पीडित तथा दुःखी परिवारहरूको साथमा देखिने गर्नुभएको छ । लाइफ फर इर्थ नेपालले हाल भोटेकोशी–रसुवा–नुवाकोट क्षेत्रमा भत्किएका घरहरूको पुनर्निर्माण, स्वास्थ्य चौकी पुनर्स्थापना, र विद्यार्थीहरूका लागि अध्ययन सामग्री उपलब्ध गराउने उद्देश्यले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग समेत सहकार्यको लागि सम्पर्क गरिरहेको संस्थाले जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


