काठमाडौँ । हरेक वर्षको अक्टोबर ६ तारिखलाई विश्वभर विश्व मस्तिष्क पक्षाघात दिवसको रूपमा मनाउने गरिन्छ । हरेक वर्ष जस्तै यस वर्ष पनि मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालले अक्टोबर ६ तारिखका दिन अर्थात् असोज २० गते विभिन्न कार्यक्रमको आयोजना गरी विश्व मस्तिष्क पक्षाघात दिवस मनाएको छ । यस दिवसका अवसरमा काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा सचेतना र्यालीको आयोजना गरेको थियो ।
समाजमा अपाङ्गता भएका व्यक्तिहरू त्यसमा पनि मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्तिहरू प्रति भएको नकारात्मक दृष्टिकोणको न्यूनीकरण गरी जनचेतना जगाउने, समावेशी नीतिको वकालत गर्न र स्वास्थ्य सेवा प्रणालीको सुधारको माग गर्ने उद्देश्यले उक्त जनचेतना मूलक र्यालीको आयोजना गरिएको आयोजक संस्थाका प्रतिनिधिहरूले बताउनु भयो । अक्टोबर ६ तारिखलाई विश्वभर विश्व मस्तिष्क पक्षाघात दिवसको रूपमा मनाउने क्रममा काठमाडौँमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं उक्त कार्यक्रममा अधिकारकर्मी, अभिभावक, जनप्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ (नेपाल-भुटान) का डिस्ट्रिक्ट गभर्नर Rtn. विष्णुबहादुर कार्की ज्यूले रिबन काटेर गर्नु भएको थियो । र्यालीको उद्घाटन पश्चात् वसन्तपुर स्थित कुमारी घर, गद्दी बैठक हुँदै श्री महादेव पार्वती मन्दिर अगाडि पुगेर सभामा परिणत भएको थियो । यस दिवसका अवसरमा काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवं रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर Rtn. विष्णुबहादुर कार्की ज्यूले सेरेब्रल पाल्सी अपाङ्गता भएका वयस्क व्यक्तिहरूको सफलताको शुभकामना व्यक्त गर्दै यस अपाङ्गताको विषयमा समाजमा जनचेतना जगाउने कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने, उनीहरूको क्षमता तथा प्रतिभाको कदर गर्दै उनीहरूलाई सम्मान गर्नु पर्ने बताउनु भयो ।
साथै उहाँले यसदिवसका अवसरमा शुभकामना दिँदै यस्ता बालबालिकाहरूको हक हितका लागि कार्य गर्ने क्रममा आफ्नो तर्फबाट पनि सहकार्य गर्ने कुरामा जोड दिनु भयो । यसै क्रममा मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालका प्रमुख कार्यकारी अधिकृत (CEO) सुशीलमान सिंह प्रधान ज्यूले इन्टरनेसनल सेरेब्रल पाल्सी सोसाइटी (UK), सेरेब्रल पाल्सी एलाइन्स (अस्ट्रेलिया), CP360, र सेरेब्रल पाल्सी फाउन्डेसन (USA) को पछिल्लो अध्ययनलाई उद्धृत गर्दै उहाँले विश्वभर CP बाट प्रभावित व्यक्तिको सङ्ख्या १ करोड ७० लाखबाट बढेर ५ करोडभन्दा बढी पुगेको र ३५ करोडभन्दा बढी परिवार तथा स्याहारकर्ताहरू (Carers) यससँग जोडिएको जानकारी दिनुभयो।
साथै उहाँले विकसित र विकासोन्मुख देशहरूको तुलना गर्दै प्रधानले उच्च आय भएका देशहरूमा गुणस्तरीय सुत्केरी सेवाका कारण CP को दर प्रति १,००० जीवित जन्ममा १.६ सम्म घटेको तर नेपाल जस्ता देशहरूमा अझै पनि प्रति १,००० मा ३ देखि ४ जना (र दुर्गम क्षेत्रमा १० सम्म) रहेको उल्लेख गर्नुभयो। उहाँले अस्ट्रेलियाको ब्रेन कुलिङ प्रविधि, स्क्यान्डिनेभियन देशहरूको जन्डिस स्क्रिनिङ, स्कटल्यान्डको म्याग्नेसियम सल्फेट नीति, र बङ्गलादेश तथा भारतका समुदायमा आधारित स्क्रिनिङ मोडल जस्ता उदाहरण दिँदै नेपालका स्थानीय सरकारहरूले पनि सुरक्षित प्रसूति सेवा, जन्मिँदा अक्सिजनको कमी हुन नदिने व्यवस्था, र वडा तहमा जन्डिस स्क्रिनिङ अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रोटरी क्लब अफ काठमाडौँ मीड-टाउनकी अध्यक्ष Rtn. कल्पना पराजुली, रोटरी क्लब अफ पाटन दरबार स्क्वायरका अध्यक्ष डा. इन्द्र के. श्रेष्ठ, अटिजम केयर नेपाल सोसाइटीका निर्देशक सुरेन्द्र बज्राचार्य, Advisor, Hampshire Police Constabulary FSIAG UK शिवाजी श्रेष्ठ , कोषाध्यक्ष मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालका कोषाध्यक्ष कपिल रेग्मी, कार्यकारी सचिव महिम राजभण्डारी,राजु जोशी तथा अभिभावक/स्याहारकर्ता (Carers) हरुले मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्तिहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा, सहयोगी लगायतका सवालमा सबै मिलेर काम गर्न जरुरी रहेको बताउनु भयो ।
अक्टोबर ६ तारिखका दिन अर्थात् असोज २० गते विश्व मस्तिष्क पक्षाघात दिवसका अवसरमा मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालद्वारा उत्पादित र SEE पास गर्न सफल ५ जना मस्तिष्क पक्षाघात अपाङ्गता भएका विद्यार्थीहरूलाई सम्मान पत्र सहित सम्मान पनि गरिएको थियो । सम्मानित हुनेहरूमा ललितपुर महानगरपालिकामा महिला बालबालिका, ज्येष्ठ नागरिक शाखामा कम्यूटर अपरेटरको रूपमा कार्यरत प्रकृति भट्टराई, दर्शन के.सी., शुभेच्छा खतिवडा, साधना घिमिरे र उमेश चौधरी रहेका छन् ।
यसै कार्यक्रममा मन्दिरमा दर्शन गर्न आउनु भएको दशर्नारथी सानेपा निवासी शर्मिला श्रेष्ठले मस्तिष्क पक्षाघात अपाङ्गता भएका बालबालिकाहरूको हितको लागि काम गर्नु भनी नगर सहयोग गर्नु भयो भने यसै संस्थाका सल्लाहकार डा.चन्द्रलेखा तुलाधर मार्फत मिना वैद्यले रु २० हजार सहयोग गर्ने जानकारी गराइएको थियो । सन् १९८६ (वि.सं. २०४३) मा स्थापना भएको Self-Help Group for Cerebral Palsy (SGCP) नेपालले विशेष विद्यालय, पुनर्स्थापना केन्द्र, आवासीय कार्यक्रम, डे-केयर, र देशका १९ भन्दा बढी जिल्लाहरूमा सञ्चालित 'सामुदायिक पहुँच कार्यक्रम' मार्फत हालसम्म २,५०० भन्दा बढी बालबालिका तथा उनीहरूका परिवारलाई निरन्तर सेवा प्रदान गर्दै आएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


