Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सुकुम्बासी समस्या समाधान गर्न माग


ग्लोबल पाना
सोमबार, कात्तिक २८ २०७९
  • 344
    SHARES

  • images
    सुकुम्बासी समस्या समाधान गर्न माग

    काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मोरङ क्षेत्र नं ४ ‘२’ का जनताले सडक र सुकुम्बासी समस्या समाधान गर्न उम्मेदवार समक्ष माग राखेका छन् । निर्वाचनमा होमिएका उम्मेदवार र दलका प्रतिनिधिलाई सो क्षेत्रका मतदाताले स्थानीय विकास निर्माणमा विशेष जोड दिन आग्रह समेत गरेका छन् । “जितेर गएपछि जनताका समस्याबाट विमुख हुने नेतालाई कसरी विश्वास गर्ने ?” स्थानीयवासी कमला राजवंशीले प्रश्न गरे । कटहरी गाउँपालिकाका बेचन ऋषिदेवले उम्मेदवार आएर कोणसभा, घरदैलो कार्यक्रम गर्छन्, मत माग्छन् तर गाउँका समस्या नसुन्ने गरेको गुनासो गरे ।

    images
    images
    images

    उनले भने, “गाउँमा पानीको समस्या छ, बिजुली छैन, बाटो अवस्था दयनीय छ, १० कक्षासम्म अध्ययन हुने विद्यालयको स्तर झरेर अहिले कक्षा ८ सम्मको मात्र पढाइ हुन्छ ।” “ दुई किमी पश्चिममा विराटनगर महानगरपालिका छ, यहाँ विकास भयो तर हाम्रो गाउँमा किन विकास भएन ”, प्रश्न गर्दै उनले भने, “हाम्रो समुदायका मानिस जनप्रतिनिधि हुन सक्दैन, बाहिरका हुन्छन् त्यसैले हाम्रो गाउँ आर्थिक, सामाजिक र राजनीतिक हिसाबले पछि परेको छ ।”सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका सञ्जयकुमार सिंह राजपुत, राष्ट्रिय प्रजातन्त्र पार्टीका माधवप्रसाद आचार्य, नेपाली कांग्रेसका भीम पराजुली, नेकपा (एमाले)का जीवन घिमिरे, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नासिन खातुन, जनमत पार्टीका अनिलकुमार झा, मङ्गोल नेशनल अर्गनाइसन पार्टीका शुभराज राई, पूर्वगृहराज्यमन्त्री भीमबहादुर राजवंशी एवं स्वतन्त्र दुई गरी नौ जना उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

    प्रदेश नं १ का पूर्वसामाजिक विकासमन्त्री घिमिरेले विगत कोभिड महामारीका मतदातालाई पुर्‍याएको सेवा , कोसी कोभिड अस्पताल निर्माण, एक विद्यालय एक नर्सिङ सेवा, सामुदायिक विद्यालयमा डिजिटल प्रविधिको पहुँच विवरण जनतासमक्ष पेश गरिरहेका छन् । यसैगरी विराटनगर महानगरपालिकाका निर्वतमान प्रमुख पराजुलीले विराटनगरको कालोपत्र सडक, ढल सुधार, विभिन्न स्थानमा निर्माणाधीन अवस्थामा रहेको पार्क, आरोहरण गुरुकुलको सुविधा सम्पन्न नाटक घर, महेन्द्र चोकमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको रमणीय सडक, विमानस्थल जाने सडकको सौदन्र्यकरण, कोभिड महामारीमा निःशुल्क एम्बुलेन्स, शववाहन र अक्सिजन सेवा, नगरका विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठनलगायतका कार्य रहेको जनतासमक्ष पुर्‍याइरहेका छन् । विराटनगर महानगरपालिकाको वडा नं १, २, ३, ८ र १० कटहरी गाउँपालिकाको वडा नं १, २ र ३ रहेको यस क्षेत्रमा सबै समुदायको मिश्रित बसोबास छ ।

    यस क्षेत्रमा महिला २५ हजार तीन सय २४, पुरुष २५ हजार तीन सय ७९ गरी ५२ हजार सात सय तीन मतदाता रहेका छन् भने ४० मतदानस्थलमा एक सय २२ मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए । विसं २०७४ को प्रदेशसभा निर्वाचनमा यस क्षेत्रबाट एमालेका घिमिरेले १३ हजार आठ सय पाँच मत ल्याई विजयी भएका थिए भने भने उनको प्रतिद्वन्द्वीमा कांग्रेसका विश्वनाथ रिजालले ११ हजार छ सय २५ र सङ्घीय समाजवादी फोरम नेपालका श्रीराम कामतले तीन हजार छ सय २१ मत प्राप्त गरेका थिए । गत स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिको वडा नं १, २, ३, ८ र १० को वडाध्यक्षमा एमाले विजयी भएको थियो । उनीहरुले आठ हजार पाँच सय २९ मत प्राप्त गर्नुभएको थियो भने कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाँच हजार आठ सय४४ मत प्राप्त गरेका थिए । यसैगरी कटहरी गाउँपालिकामा एमालेका विजयी दुई वडाध्यक्षसहित तीन जनाले दुई हजार पाँच सय ५४ मत प्राप्त गरेका थिए भने कांग्रेसले एक वडा अध्यक्ष विजयीसहित तीन जनाले दुई हजार छ सय २४ मत प्राप्त गर्न सफल भएका थिए ।

    मतदाताको चाहना कृषि उत्पादन वृद्धिका लागि सिँचाइको सुविधा, समयमा मलको व्यवस्था, युवालाई प्राविधिक शिक्षामा सहज पहुँच र उद्योग स्थापना गरी रोजगारीको सिर्जना गर्नुपर्ने माग रहेको छ । विराटनगर-४ का ७८ वर्षीय मतदाता केशव अधिकारी निर्वाचनमा विजयी भएपछि फर्केर नआउने, भेट हुन समस्या हुने गुनासो गरे । कटहरी गाउँपालिका- २ का गृहणी मतदाता विमला राजवंशीले अहिले सूचना प्रविधिको समयमा बालबालिकालाई रोजगारीमूलक एवं प्राविधिक शिक्षाको सस्तो एवं सर्वसुलभ उपलब्ध गराउने उम्मेदवारलाई मत दिने बताउनुभयो । पूर्वराज्यमन्त्री एवं स्वतन्त्र उम्मेदवार राजवंशी यस क्षेत्रका लागि सङ्घीयता स्थापनामा भूमिका, नागरिकको शान्ति सुरक्षा, विकास एवं भाषा, संस्कृति संरक्षणको गरेको योगदानको आधारमा विजयी हुनेमा ढुक्क रहेको विश्वास व्यक्त गरे । यस पटकको उम्मेदवार निर्वाचनको प्रचारप्रसारको क्रममा सचेत देखिएका छन् । निर्वाचन आचारसंहिता, कार्यकर्ता र मतदाता शिक्षालाई व्यवस्थितरुपमा लैजाने गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ