स्याङ्जा । मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि आजसम्म स्याङ्जा क्षेत्र नं २ को मतगणना हुन सकिरहेको छैन । वालिङस्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसे पनि दलहरुबीच सहमति जुट्नाको साटो आ-आफ्नै अडानमा रहेकाले मतगणना सुरु हुन नसकेको हो ।
निर्वाचन अधिकृतको कार्यालयमा सबै मतदान केन्द्रबाट मतपेटिकाहरु ल्याई सुरक्षित राखिएको स्याङ्जा क्षेत्र नं २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए । लोकतान्त्रिक वाम गठबन्धनले तत्काल मतगणना सुरु गर्न दबाब दिइरहेको छ भने नेकपा (एमाले)लगायत दलहरुले पुनः मतदानको माग गर्दै दबाब दिइरहेका छन् ।
“सर्वदलीय बैठकमा सहमति नजुटेपछि यहाँको परिस्थितिबारे निर्वाचन आयोगमा लेखेर पठाएका छौँ”, उनले भने, “हामीले सहमतिका लागि प्रयास गर्यौँ तर निष्कर्षमा पुग्न सकेनौँ अब आयोगको निणर्यको पर्खाइमा छौँ, त्यहाँबाट जे जस्तो निणर्य आउँछ सोही प्रक्रियाअनुसार अगाडि बढ्छौँ ।” नेपाली कांग्रेसले स्याङ्जाको चापाकोट नगरपालिका-३, ४ र ५ का चारवटा मतदान केन्द्रमा बुथ कब्जा गरी धाँधली गरेको आरोप एमालेले लगाउँदै ती ठाउँमा पुनः मतदान गर्नुपर्ने माग गरेको छ ।
कांग्रेस भने विधिसङ्गत प्रक्रिया पूरा भएर निर्वाचन कार्यालयमा सुरक्षित आएको जनताको अभिमतलाई सम्मान गर्दै तत्काल मतगणना गरेर निकास निकाल्नुपर्ने अडानमा छ । एमालेलगायत दलहरुले पुनः मतदानको माग गर्दै सडकमा विरोध प्रदर्शन जारी राखेका छन् । कांग्रेसले पनि मतगणना गर्नुपर्ने माग राख्दै निर्वाचन अधिकृतको कार्यालय अगाडि वालिङमा धर्नामा बसेको छ । कांग्रेसका कार्यकर्ताहरु रातभरि नै सडकमै बसेका थिए । दुवै पक्षले निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएपछि सम्भावित घटनालाई दृष्टिगत गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


