Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

शीतलहरबाट जनजीवन कष्टकर 


ग्लोबल पाना
बिहीबार , पुस २६ २०८०
  • 392
    SHARES

  • images
    शीतलहरबाट जनजीवन कष्टकर 

    सुदूरपश्चिम । शीतलहरसँगै बढेको चिसोले कैलाली, कञ्चनपुरसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातारको हुस्सु, कुहिरो एवं जाडोले जनजीवन कष्टकर बनेको हो । विशेषगरी चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन् ।

    images
    images
    images

    प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चिसो बढेपछि सार्वजनिकस्थलमा आगो ताप्न चाहने सर्वसाधारणका लागि दाउराको व्यवस्थापन गर्न मातहतका वन कार्यालयलाई निर्देशन दिएको छ ।

    तरकारी बालीमा डढुवाको जोखिम

    शीतलहरका कारण डढुवा रोगले आलु, गोलभेँडा लगायत तरकारी बालीमा समस्या देखिएको छ । “तीन दशक अघिसम्म यस्तो समस्या थिएन, जलवायु परिवर्तनका कारण यस्तो समस्या देखिएको हुनसक्छ”, कैलालीका किसान नारायण चौधरीले भने, “आलु गोलभेँडाको व्यावसायिक खेतीमा लागेकालाई यो रोगले निरुत्साहित बनाएको छ ।” जिल्लामा तरकारी खेती व्यावसायिक खेतीको क्षेत्रफल विस्तार हुँदै गए पनि बर्सेनि पुस महिनामा देखिने डढुवा रोगको समस्याबाट बाली जोगाउन मुस्किल हुने गरेको उनको अनुभव छ ।

    किसान वीरबहादुर चौधरीले भने, “पैसा हुनेले विषादी किनेर आलु, गोलभेँडा बालीमा छर्किन थालेका छन्, पैसाको अभावमा औषधि छर्किन नपाउनेले बालीले दिने उत्पादनको आसा मारेका छन् ।” यो रोगबाट जोगाउन कतिपय किसानले ‘टनेल’ बनाएर गोलभेँडालगायतको तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्नेले विषादी छर्किनुपर्ने हुन्छ ।

    प्रत्येक सात/आठ दिनको फरकमा ढुसीनाशक विषादी छर्किन सकेमा मात्र बाली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकको छ । डढुवाको जोखिम बढेपछि धेरै किसान यति बेला विषादी छर्किन थालेका छन् । हप्ता दिनको फरकमा विषादी छर्किनुपर्दा आलु गोलभेँडालगायतको बालीको उत्पादन लागत खर्च बढ्ने गर्छ । एउटै बालीमा पटक पटक विषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएकालाई बाली जोगाउनै मुस्किल हुने गरेको साना र विपन्न किसानको भनाइ छ । पटक पटक विषादी छर्किदा लागत खर्च धेरै पर्ने गरेको गुनासो उनीहरुको छ ।

    रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने र चिसो मौसमको सुषुुप्त अवस्थामा रहने ढुसी सक्रिय हुने भई बोटमा डढुवा रोगको सङ्क्रमणको समस्या देखिने गरेको कृषि प्राविधिक बताउँछन् । यो रोग लागेमा आलु, गोलभेँडाको पात, डाँठ र लागेको फल सडेर जान्छ ।

    लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो मौसम भइरहँदा ओसिलो जग्गामा गरिएको आलु गोलभेँडालगायतको बालीमा डढुवा सङ्क्रमणको समस्या बढी देखिने गरेको कृषि प्राविधिक खगेन्द्रप्रसाद शर्मा बताउछन् । यसका लागि क्रिनोसिल गोल्ड, मेटाल्याक्जेल, एक्रोप्याट वा सेन्टिन नामको ढुसीनाशक विषादीको पाउडर प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किन सकेमा यो रोगबाट बाली बचाउन सकिने बताइएको छ ।

    रोग लाग्ने सम्भावना देखिएमा भने बोटमा तोकिएको मात्रामा ‘मेन्कोजे’ पाउडर पानीमा घोलर छर्किदा डढुवाको सङ्क्रमणबाट बाली जोगाउन सकिने बताइएको छ । डढुवा रोगको समस्या बढ्दै जाँदा कैलाली र कञ्चनपुर जिल्लाको ठूलो क्षेत्रफलमा गरिने तोरी बालीको क्षेत्रफल घट्दै गएको किसानको अनुभव छ । ढुसीको सङ्क्रमण तोरीबालीमा पनि असर पुर्‍याउने गरेको छ ।

    डढुवा रोगको समस्या बढ्दै जाँदा तोरी खेती गरिने क्षेत्रफल पहिलेको तुलनामा ह्वात्तै घटेको किसानको भनाइ छ । “विसं २०५४ सम्ममा आफ्नो दुई बिघाको पूरै खेतबारीमा तोरी लगाउँथ्यौँ”, किसान वीरबहादुरले भने, “त्यसपछिका वर्षमा भने डढुवा रोगको समस्या बढ्दै जाँदा यो बाली लगाउन छाड्नुपर्‍यो ।” पहिले गाउँमा हिउँदे याममा तोरी फुलेर हुने पहेँलपुर वातावरणले गाउँमा एकखालको रमाइलो हुने गरेको अनुभव उनको छ ।

    ढुसी रोगको समस्या बढ्दा तोरी बालीको विकल्पमा अधिकांश किसान धान र गहुँ खेती गरेर चित्त बुझाइरहेका छन् । छाडा छाडिएका पशु चौपायाले खेतबारीको बाली नष्ट गर्दा बाली जोगाउन किसानले अर्को समस्या बेहोर्नुपरेको छ । बर्र्सेनि मौसममा भइरहेको परिवर्तनका कारण चाहिएको समयमा वर्षा नहुने, वर्षा भएमा पनि बाढी र डुबानको ठूलो समस्या सिर्जना हुने, बेमौसमा चक्रवात र आँधीबेहरीको समस्या देखिने, बालीमा विभिन्न रोगको सङ्क्रमणको समस्याका साथै मित्रजीव भन्दा शत्रुजीवको समस्या बढ्न थालेको बताइन्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ