काठमाडौं । तारकेश्वर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. २ का वडाध्यक्ष राधाकृष्ण खड्गीले मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि परिवार, समुदाय, सामाजिक संस्था र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा शुक्रबार तारकेश्वर नगरपालिकाको सभाहलमा आयोजित ‘मानसिक स्वास्थ्यः बुझाइदेखि समाधानसम्म’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले घरपरिवारदेखि समुदायसम्म सहयोगात्मक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । नर्सिङ विशेषज्ञ एवं काठमाडौं मोडेल अस्पतालकी नर्सिङ निर्देशक राधिका घिमिरेले मानसिक स्वास्थ्यलाई व्यक्तिगत समस्या वा कुनै एक पक्षको जिम्मेवारीका रूपमा मात्र लिन नहुने बताउनुभयो । उहाँले मानसिक स्वास्थ्यलाई साझा जिम्मेवारीका रूपमा अघि बढाउँदै अनुभवी व्यक्ति तथा विषयविज्ञका आवाज सुन्ने, उनीहरूका अनुभवबाट सिक्ने र समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
मानसिक स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा पुर्याउन स्थानीय तहमा मनोसामाजिक परामर्श तथा पुनःस्थापना केन्द्र स्थापना गर्नुका साथै आवश्यक मनोचिकित्सकीय सेवाको विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो । ‘अनुभवीहरूको आवाज सुनौँ, वास्तविक आवाज, वास्तविक परिवर्तन’ भन्ने नारासहित राष्ट्रिय सिर्जनशील समाज, तारकेश्वर र कोमल प्राज्ञिक केन्द्र, बुढानीलकण्ठको संयुक्त आयोजना तथा काठमाडौं मोडेल अस्पताल, इन्स्टिच्युट अफ हेल्थ साइन्सेसको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा १०० भन्दा बढीको सहभागिता थियो। कार्यक्रममा वरिष्ठ मनोचिकित्सक डा. नम्रता प्रधान, मनोसामाजिक विमर्शकर्ता एवं मनोसमस्या व्यवस्थापनकर्ता विजया बिजुक्छे, समाजशास्त्री श्यामकुमार देवकोटा, नर्सिङ विशेषज्ञ सानु मल्ल, आचार्य गुरु रोहिणीराज तिमिल्सिना, ज्योतिषाचार्य डा. जनक भट्ट र योगाचार्य सिर्जना पौडेल रानाले मानसिक स्वास्थ्यका विविध पक्षमा आफ्ना अनुभव तथा धारणा प्रस्तुत गर्नुभएको थियो । छलफलमा मानसिक स्वास्थ्य, मानसिक समस्या उत्पन्न हुने कारण, प्रारम्भिक लक्षणको पहिचान, आवश्यक परामर्श तथा उपचार र प्रभावित व्यक्तिलाई गरिने व्यवहारबारे चर्चा गरिएको थियो ।
विज्ञहरूले मानसिक स्वास्थ्य प्रवर्द्धन, प्रारम्भिक पहिचान, चिकित्सकीय उपचार र पुनःस्थापनाका चरणमा परिवार, समुदाय, सामुदायिक नर्स, मनोसामाजिक कार्यकर्ता तथा स्वास्थ्य विशेषज्ञबीच समन्वय आवश्यक रहेको औँल्याएका थिए । योग, ध्यान र पारिवारिक संवादजस्ता अभ्यासलाई पनि आवश्यकताअनुसार मानसिक स्वास्थ्य प्रवर्द्धनमा सहयोगी बनाउन सकिने विषयमा छलफल भएको थियो । कार्यक्रमको सहजीकरण राष्ट्रिय सिर्जनशील समाजका सचिव, शैक्षिक अभियन्ता एवं तालिम सहजकर्ता प्रकाश ढकालले गर्नुभएको थियो । उहाँले कार्यक्रम उपयोगी र फलदायी रहेको उल्लेख गर्दै मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर स्वस्थ व्यक्ति, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणमा सबैले योगदान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरूले मानसिक स्वास्थ्यसम्बन्धी उपयोगी जानकारी प्राप्त गरेको भन्दै आयोजकप्रति आभार व्यक्त गरेका थिए । सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रम वडा तथा टोलस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । मानसिक स्वास्थ्यसम्बन्धी भ्रम, गलत बुझाइ र विभेदपूर्ण व्यवहार हटाउँदै खुलेर संवाद गर्ने, एकअर्काका कुरा सुन्ने र आवश्यक सहयोग तथा उपचारमा सहजीकरण गर्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


