Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीलाई स्वागत गर्न तत्पर छौं : मन्त्री साउद


ग्लोबल पाना
मंगलबार, माघ १६ २०८०
  • 242
    SHARES

  • images
    शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीलाई स्वागत गर्न तत्पर छौं : मन्त्री साउद

    काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा आगामी वैशाखमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूको ठूलो सङ्ख्यालाई स्वागत गर्न आफूहरु तत्पर रहेको बताएका छन्।

    images
    images
    images

    नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धको ५०औं वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित समारोहमा उनले कोरियाली कम्पनीहरूले आफ्नो लगानी नेपालमा विस्तार गरेको आफूहरुले हेर्न चाहेको बताए।

    मन्त्री साउदले सामसुङ, हुन्डाई मोटर्सलगायत कोरियाली कम्पनीहरूले नेपालमा लगानीका सम्भावनाहरू खोज्न गहिरो चासो लिएकामा नेपाल सरकारले यो अवसरको सदुपयोग गर्ने उल्लेख गरे।

    “हाम्रा दुई देशबीच आर्थिक सहयोग विस्तार गर्ने प्रचुर सम्भावना छ। ती सम्भावनाहरू अन्वेषण गरौं। द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गरौं। कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा साझेदारीलाई सुदृढ बनाऔं”, उनले भने, “ कोरियामा हजारौं नेपाली कामदार छन्। ठूलो सङ्ख्यामा नेपालीले थप अध्ययनका लागि कोरिया छनौट गरेका छन्। हजारौं कोरियाली नागरिक पर्यटकका रूपमा नेपाल आउने गरेका छन्। आगामी दिनहरूमा, हामी यी आदानप्रदानहरूलाई अझ विस्तार गर्नेछौं।”

    नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। मन्त्री साउदले दुई देशबीच सम्बन्ध प्रगाढ बन्दै गएको उल्लेख गर्दै यो सम्बन्ध मित्रता, सौहाद्र्रता, सहयोग, आपसी सम्बन्धमा आधारित रहेको बताए। गणतन्त्र कोरियाले छोटो समयमा हासिल गरेको प्रगति, र समृद्धिका सफलताका कथाहरूबाट नेपालले धेरै कुरा सिक्ने बताउँदै उनले पारस्परिक रूपमा लाभदायक क्षेत्रमा हाम्रो साझेदारी बढाउन चाहन्छ भने।

    कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले कोरिया सरकारले नेपालीलाई रोजगारका क्षेत्रमा दिएको प्राथमिकताको प्रशंसा गर्दै नेपालीले कोरियामा सिकेको सीप, अनुभव र ज्ञान स्वदेशमा उपयोगी हुने विश्वास व्यक्त गरे। साथै उनले कोरिया सरकारले नेपालको विकास निर्माणका क्षेत्रमा गरेको योगदानले दुई देशबीच आत्मीय र भाइचाराको सम्बन्ध विस्तार भएको बताए।

    कार्यक्रममा कोरियाका राजदूत पार्क तियोङले विगत ५० वर्षको यात्रा साझा मूल्यमान्यता, आपसी सम्मान र हाम्रा जनताको राम्रो भविष्य निर्माण गर्ने प्रतिबद्धताको कथा भएको बताए। यस अवधिमा द्विपक्षीय सम्बन्ध फस्टाउँदै गएको र बलियो बन्धनका रुपमा रहेको उल्लेख गर्दै उनले कोरिया र नेपालबीचको सहकार्य व्यक्तिगत र आर्थिक विकासका लागि शक्तिशाली उत्प्रेरक भएको बताए।

    राजदूत पार्कले भने, “यो ऐतिहासिक कोसेढुंगामा पुग्नुभएकामा म दुवै देशका नेता तथा जनतालाई बधाई ज्ञापन गर्दछु। यो अनगिन्ती व्यक्तिको समर्पण र प्रतिबद्धताको प्रमाण हो, जसले सम्बन्ध निर्माण र विस्तार गर्न, समझदारी बढाउन र हाम्रा राष्ट्रहरूबीचको सहयोगलाई बढावा दिन अथक प्रयास गरेका छन्।”

    सो अवसरमा मन्त्री र राजदूतले संयुक्तरुपमा ५०औं वार्षिकोत्सवको स्मरणार्थ लोगो अनावरण तथा कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) कार्यक्रमबाट फर्किएका नेपालीको सफलताको कथामा आधारित पुस्तक ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’को विमोचन गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ