Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

काभ्रेमा वर्सेनि सुन्तला उत्पादनमा गिरावट


ग्लोबल पाना
सोमबार, पुस १८ २०७९
  • 207
    SHARES

  • images
    काभ्रेमा वर्सेनि सुन्तला उत्पादनमा गिरावट

    काभ्रे । जिल्लामा वर्सेनि सुन्तला उत्पादनमा गिरावट हुँँदै आएको छ । पछिल्ला केही वर्षदेखि काभ्रेपलाञ्चोकमा दुई प्रतिशतका दरले सुन्तला उत्पादनमा गिरावट हुँदै आएको कृषि ज्ञान केन्द्र धुलिखेलले जनाएको छ । यसवर्ष पनि दुई प्रतिशतले गिरावट हुने प्रक्षेपण गरिएको केन्द्रका बाली संरक्षण अधिकृत सरिता सापकोटाले बताए । उनका अनुसार रोग एवं कीराका कारण सात वर्षयता लगातार सुन्तला उत्पादनमा दुई प्रतिशतका हाराहारीमा गिरावट हुँदै आएको छ ।

    images
    images
    images

    त्यसअघि काभ्रेपलाञ्चोकमा वर्सेनि सात सय मेट्रिकटन सुन्तला उत्पादन हुँदै आएको थियो । जिल्लाको ८० हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक रुपमा खेती हुँदै आएको आएको छ । गतवर्ष छ सय ३० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । “यसवर्ष पनि सुन्तला उत्पादनमा दुई प्रतिशतसम्म कमी आउने प्रारम्भिक अनुमान गरेका छौँ”, सापकोटाले भने । विसं २०७२ को गोर्खा भूकम्पपछि निरन्तर सुन्तला उत्पादनमा ह्रास हुँदै आएकोे केन्द्रको तथ्याङ्कले देखाएको छ । सुन्तलामा लाग्ने विविधरोग निराकरणमा किसान र कार्यालयबीच समन्वय नहुँदा समस्या उत्पन्न हुँदै आएको जनाइएको छ ।

    सापकोटाले भने, “बिरुवा रोपेपछि किसानले खासै ध्यान दिएको पाइँदैन, यसकारण विविध रोगले अक्रमण गरेपछि निराकरणमा समस्या उत्पन्न हुन्छ, जसका कारण उत्पादनमा कमी हुँदै जाने हो ।” यसैबीच विविध रोगका कारण सुन्तला उत्पादनमा आएको गिरावटका कारण जिल्लाका किसान चिन्तित देखिन्छन् । काभ्रेपलाञ्चोकको मुख्य उत्पादनको पकेट क्षेत्र पनौती नगरपालिका-१० पस्थलीका किसान प्रेमबहादुर तामाङले उत्पादन कमी हुँदै गए पनि सुन्तला बगैँचा फाँड्नुको विकल्प नभएको बताए ।

    उनले भने, “अब सुन्तलाको बगैँचा काटेर तरकारी लाउनुकोे विकल्प छैन, हामीले यही बगैँचाबाट वार्षिक रु चार लाखसम्मको सुन्तला बेचेका थियौँ, तर अहिले रु एक लाख पनि पाउन मुस्किल हुने भयो ।” विगत केही वर्षदेखि रोगकै कारण सुन्तला उत्पादनमा कमी आएको उनको अनुभव छ । धुलिखल नगरपालिका-१० शङ्खुका किसान शिवप्रसाद आचार्यले सुन्तलाको उत्पादनमा कमी आएपछि आयस्रोतको अरु विकल्प खोज्नुपर्ने बाध्यता हुँदै गएको बताए ।

    उनका अनुसार सुन्तलाको बोट कुहिने, नकुहीने, सुक्ने तथा फलेको सुन्तला पनि रसिलो नहुनेजस्ता समस्या देखिएपछि उत्पादनमा कमी हुँदै गएको हो । रोगकै कारण सुन्तला उत्पादनमा कमी हुने भएपछि केन्द्रले प्राविधिक सल्लाह तथा आवश्यक औषधि र चुन वितरण गर्ने गरिएको अधिकृत सापकोटाले बताए । उहाँका अनुसार जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा कीराको प्रकोप देखिएको छ । यसका कारण बोटमा रहेका सुन्तलामध्ये दश प्रतिशत कुहिएर झर्ने गर्दछ । जिल्लाभर समस्याकै रुपमा सुन्तला खेतीमा फैलिएको औँसाको नियन्त्रण गर्न एक/दुई किसानले मात्रै गरेर सम्भव नहुने भएकाले फल कुहिएर झर्ने समस्या समाधान गर्नै अभियानकै रुपमा लाग्नुपर्ने आवश्यकता देखिएको बताइन्छ ।

    सुन्तलाजन्य जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायत फलफूलमा यो रोगको सङ्क्रमण फैलिएको हो । रोग सङ्क्रमित भएर बोटबाट झरेका फलमा हुने औँसाका लार्भा माटोभित्र जाने खतरा हुने र यसले गर्दा प्रकोप नियन्त्रण बाहिर जानसक्ने खतरा रहेकाले झरेका फललाई व्यवस्थित रूपले व्यवस्थापन गर्न आवश्यक रहेको सापकोटाको भनाइ छ । “सुन्तला उत्पादनमा गिरावट हुनुरोग नै प्रमुख कारण हो”, सापकोटाले भने ।

    काभ्रेपलाञ्चोकको नमोवुद्ध, पनौती, शङ्खु, बल्थली, सारदाबतासे, कुशादेवी, रर्‍याले, पस्थली र खरिबोटलगायतका स्थान सुन्तला उत्पादनका पकेट क्षेत्र हुन् । जिल्लामा वार्षिक रु ४० करोडभन्दा बढी सुन्तला बिक्रीबाट भित्रने गर्दथ्यो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ