काठमाडौं । हरेक नेपालीले १६ वर्ष उमेर पूरा भएपछि प्रमाण र सनाखतका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो । नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भए पनि पाँचथरको हिलिहाङकी चनमति माझीलाई भने सोही प्रमाणपत्र प्राप्त गर्न ९३ वर्ष पुग्नुपर्यो । आवश्यक जानकारी र साथ दिने कोही नहुँदा माझी ९३ वर्षको उमेरसम्म बिना नागरिकता बसिन् ।
हिलिहाङ गाउँपालिका-२ पिनासीकी माझीलाई बिहीबार उनकै घर पुग्नुभएका प्रमुख जिल्ला अधिकारी गणेश गैरे, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, हिलिहाङ-२ का वडाध्यक्ष भीमप्रसाद हेम्ब्यासहितको टोलीले नागरिकता प्रमाणपत्र उपलब्ध गराएको हो । विभिन्न सञ्चारमाध्यममा ९३ वर्षको उमेरमा समेत माझीले नागरिकता प्राप्त गर्न नसकेको तथा नागरिकता प्रमाणपत्र अभावमा राज्यबाट पाउने सबै सेवा सुविधाबाट बञ्चित भएको समाचार प्रकाशन/प्रसारण भएपछि प्रशासन र गाउँपालिकाले चासो दिएको थियो ।
उनको अवस्था बुझ्न गत साता जिल्ला प्रशासन कार्यालयको टोली माझीको घर पुगेको थियो । नागरिकता प्राप्त गर्न योग्य व्यक्ति भए पनि माझीले सो प्रमाणपत्र नपाएको बुझेपछि प्रशासनले उहाँको घरमै पुगेर उपलब्ध गराएको प्रजिअ गैरेले जानकारी दिनुभयो । नागरिकताको प्रमाणपत्र के हो ? भन्नेसम्म नबुझेकी माझीका श्रीमान्को दुई वर्षअघि निधन भएको थियो । उहाँका सन्तान नभएको र अरुका घरमा गएर बस्न नरुचाउने भएका कारण गरिबी र छिमेकीको सहायतामै माझीले जीवन गुजार्दै आएका छन् ।
नागरिकताको प्रमाणपत्रकै अभावका कारण उहाँले सामाजिक सुरक्षा भत्तासहित अन्य सरकारी सेवासमेत लिन नपाएको माझीका छिमेकी बताउँछन् । बाख्रा र कुखुरा पालेर बस्नुभएकी उहाँलाई नागरिकताको प्रमाणपत्रबारे उत्ति चासो भने थिएन । तर अब सामाजिक सुरक्षा भत्ता आउने थाहा पाउँदा भने माझी खुसी छन् । विगतमा श्रीमान्को सामाजिक सुरक्षा भत्ताको सहायताबाट गुजारा चलाउन उनलाई सहज थियो । तर श्रीमान्को निधनपछि माझीको जीवन अभावमा गुज्रिरहेको छ । माझीको रेखदेखको जिम्मा लिने हिलिहाङ गाउँपालिकाले प्रतिबद्धता जनाएको छ ।
“उनको सहज जीवनयापनका लागि आवश्यक काम थाल्ने छौँ”, गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले भने, “घर निर्माण गर्ने र रेखदेखको व्यवस्था गर्छौँ ।” भत्केको सानो घरमा कष्टकर जीवन बिताउन बाध्य माझी अरुका घरमा गएर बस्न सहमत हुन्नन । गाउँपालिकाले घर निर्माण गरी रेखदेखको प्रबन्ध गर्ने योजना बनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


