✍️ निरा अधिकारी "शयली"
म डग्दीन, दबिन्न अनि मिचिन्न, मसँच सपनाको अग्लो पहाड छ ।
म आतिन्न, कदापी दिचल्लित हुन्न मसँग विश्वासको अटल हिमाल छ ।।
यी आखामा आँसु होइन, हिम्मत र साहसको अग्नी बलेको छ ।
मुटुमा डर र भय होइन आशा र धैर्यताको रगत अविरल बगेको छ ।।
म त आत्मनिर्णय गर्ने क्षमता बोकेकी स्वाभिमानी आधुनिक नारी ।
म त समाज सुधारका लागि मदर टेरिशा जस्तै सपना बुनेकी आजकी नारी ।।
त्यसैले सीतालाई जस्तै मलाई ब्यर्थ ती लक्ष्मण रेखाको के आवश्यकता ।
सिकाउनु पर्दैन तिमीले नै ठहर गरेका खोक्रा आडम्बर अनि मिथ्या सभ्यता ।।
तिमीले सीता बनाएर हुन्छ ? म त आफ्नै आदर्शले समाज परिवर्तनमा जुटेकी छु ।
तिमीले द्रोपदी बनाएर हुन्छ ? मैले आफ्नो अस्तित्व र अस्मीता राम्ररी बुझेकी छु ।।
तिम्रा लात र बात सहेर म आफ्नो सपना तुहाउँन सक्दिन ।
तिम्रो स्याहारसुसारमा रमाएर आफ्नो पहीचान गुमाउन सक्दिन ।।
म यति लामो बाटो तिम्रो निर्देशनमा त हिंडेँ अब तिमी पनि मेरो बाटो हिंड्दा हुन्छ ।
कति गरुँ म मात्र यो चुलोचौको र ढिकी जाँतो तिमी पनि यही काममा भीड्दा हुन्छ ।।
शायद चिन्यौ होला, त्यो आधा आकाशको हिस्सेदार हुँ म अनि आधा स्रिष्टिको भागीदार पनि।
शायद बुझ्यौ होला, म आधा सम्पत्तिको अंशियारी हुँ अनि तिम्रो सपनाको मालिक पनि ।।
तिमीले पिउने र मैले पिउने पानी त उही हो, रङ्ग बेग्लै छ र ?
तिमीले खाने र मैले खाने खानाको परिकार एकै हो, स्वाद पृथक छ र ?
त्यसैले अब स्विकार म आजकी नारी जो जुठो खाएर चित्त बुझाउदिन ।
मनन् गर म आजकी नारी जो कसैको पर्खाइमा आधा रात अनीदो बिताउँदिन ।।
मातृ ह्ऋदय बोकेर पनि म रुद्रायणी रुप धारण गर्न सक्छु ।
हातमा ज्ञानको दीयो जलाए पनि भष्म गर्ने आगो बन्न सक्छु ।।
मेरो कोक्रो मात्र हल्लाउन अबेस्त हातहरु आज संसार हल्लाउन सवल छन् ।
क्लारा, रोसा सम्झ या थ्याचर, भुटो या गान्धी सम्झ मसँग मुक्तिका स्वर लहरीहरु छन् ।।
सारी चोलोमा बाधिएर तिम्ले दिएका सिन्दूर पोतेमा सजिएर म आफूलाई सौभाग्यशाली सम्झन सक्दिन ।
शिक्षा तालिम र सीपले जीवन नसजाएसम्म म आफूलाई सक्षम नारी बनाउन सक्दिन ।।
त्यसैले म आजकी नारी श्रिजनाको मूहान र विकासको सम्वाहक बनेर अघि बढ्न चाहन्छु ।
तिम्रो जीवनको सहयात्री मात्र होइन सृष्टिको संचालक अनि शान्तिको अधिनायक बन्न चाहन्छु ।।
(लेखिका निरा अधिकारी "शयली" महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सिंहदरबार, काठमाडौँ)
.gif)




 x 450 (H) Global Pana.jpeg)


