काठमाडौं । नेपालको बीमा क्षेत्रको अग्रणी संस्था नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा लगानी विविधिकरणको नयाँ युगको शुरुवात गर्दै ५ अर्ब रुपैयाँको लगानीमा सहायक कम्पनी ’नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ स्थापना गरेको छ।
कम्पनीको केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन नेपाल लाइफका अध्यक्ष गोविन्द लाल संघई र बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रूपमा गरेका हुन्। कार्यक्रममा अध्यक्ष संघईले बीमा सेवामार्फत जनतालाई आर्थिक सुरक्षा दिँदै आएको कम्पनी अब दीर्घकालीन उच्च प्रतिफल र जोखिम न्यूनीकरणका उद्देश्यले विविध क्षेत्रमा लगानी गर्न अग्रसर भएको बताए।
“यो नयाँ प्रयास लगानी विविधिकरणमार्फत वित्तीय स्थायित्व र संस्थागत सुशासनको दृष्टिले ऐतिहासिक कोसेढुङ्गा सावित हुनेछ,” उनले भने। बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुवेदीले बीमा कोषको सुरक्षा र उपयोगका विषयमा कम्पनीहरू जिम्मेवार हुनुपर्नेमा जोड दिंदै लगानी विविधिकरणलाई दीर्घकालीन स्थायित्वको कडीका रूपमा व्याख्या गरे।
नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवालले कम्पनीसँग हाल १७ लाख बीमित र १ लाख ८६ हजार लगानीकर्ता रहेको जानकारी दिँदै आगामी पाँच वर्षमा जीवन बीमा कोष ५ खर्ब पुर्याउने लक्ष्य राखिएको बताए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो संरचनात्मक परिवर्तन नेपाल लाइफको दीर्घकालीन रणनीतिलाई मूर्तरूप दिने खालको भएको उल्लेख गर्दै कम्पनीले अब रियल इस्टेट, कृषि, पर्यटन, ऊर्जा, केवलकारजस्ता विविध क्षेत्रहरूमा लगानी विस्तार गर्ने बताए।
नयाँ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास थापा र अध्यक्ष अमित कुमार कयालले लगानीको पारदर्शी व्यवस्थापन, व्यावसायिक मूल्याङ्कन र ग्राहक हितलाई केन्द्रमा राख्दै कम्पनीलाई विश्वासिलो र उच्च प्रतिफल दिने संस्थाका रूपमा अघि बढाइने प्रतिबद्धता जनाए। नेपाल लाइफको यो कदमले नेपाली बीमा क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गर्दै संस्थागत लगानी संस्कृति विकास गर्ने अपेक्षा गरिएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


