हुम्ला । पछिल्लो एक सातादेखि फैलिएको अज्ञात रोगले हुम्लाको चङ्खेली गाउँपालिकामा पशुपालनमा निर्भर कृषकहरूलाई ठूलो मार परेको छ । रामालेख खडिन्याखाडा खर्कमा राखिएका पशुवस्तु मृत्युवरण गर्दै जाँदा स्थानीय कृषकको जिविकोपार्जन संकटमा परेको छ । साउन ८ देखि सुरु भएको संक्रमणले अहिलेसम्म एक भैँसी, एक कुकुर, ६ दुहुना गाई, अन्य ९ गाई र १४ गोरु मरेका छन् । खर्क क्षेत्रमा अझै धेरै पशु बिरामी अवस्थामा छन् ।
स्थानीय हरिबहादुर शाहीका अनुसार, बिरामी पशुहरूमा पेट र छाती सुन्निने, र्याल काढ्ने, दिसा गर्न नसक्ने र घाँस नखाने लक्षण देखिन्छ । धेरैजसो पशु जंगलतिर खर्कमा छुटाइएकोले यकिन संख्या थाहा पाउन कठिन भइरहेको छ । बिरामी अवस्थामा रहेका केही भैँसी र गाईहरू पालभित्र राखिएको छन् भने जंगलभर मरेका जनावरहरू सड्न थालेपछि वातावरण प्रदूषित हुँदै गइरहेको छ ।
समस्या एउटै खर्कमा मात्र सीमित छैन । चङ्खेली गाउँपालिकाको अन्य खर्कमा पनि यस्तै लक्षण देखिएका १०० भन्दा बढी पशुवस्तु बिरामी रहेको स्थानीयहरूले बताएका छन् । तर समस्या समाधान गर्न खोज्दा थप चुनौती देखिएको छ । शाहीको गुनासो छ, “पशुशाखामा औषधि माग्न गयौँ, तर त्यहाँ पशु स्वास्थ्यकर्मी नै छैनन् । उपचार कसरी होस्?”
यहाँको परम्परागत पशुपालन प्रणाली अनुसार, हिउँदका लागि घाँस संकलन गर्न र बर्खेबाली जोगाउन, किसानहरूले गर्मीको समयमा पशु खर्कमा लैजाने गर्छन् । तर अज्ञात रोगको महामारीले अहिले यो चलन नै संकटमा परेको देखिन्छ ।
यस संकटपूर्ण अवस्थामा प्रभावित किसानहरू औषधि, जनशक्ति र राहतको पर्खाइमा छन् । खर्कमा फैलिएको अज्ञात रोगको पहिचान र नियन्त्रण गर्न स्थानीय सरकार र संघीय निकायको समन्वय आवश्यक छ — नत्र गुम्दै गएको पशुधनले हुम्लाका किसानको भविष्य थप संकटतर्फ लैजान सक्छ। bell
.gif)




 x 450 (H) Global Pana.jpeg)


