Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड : क्यान महासंघका वरिष्ठ उपाध्यक्ष अधिकारी


ग्लोबल पाना
शनिबार, पुस ५ २०८२
  • 523
    SHARES

  • images
    डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड : क्यान महासंघका वरिष्ठ उपाध्यक्ष अधिकारी

    ललितपुर । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डेटा सेन्टर र क्लाउड सेवा नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्ड भएको बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित ‘क्यान बिटुबी (B2B) समिट २०२५’ लाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष अधिकारीले बलियो डिजिटल पूर्वाधार बिना नेपालको डिजिटल सपना साकार हुन नसक्ने जिकिर गर्नुभयो ।

    images
    images
    images

    प्रविधि अब केवल सुविधा मात्र नभएर अर्थतन्त्रको प्राणवायु बनिसकेको उल्लेख गर्दै उहाँले सुरक्षित डेटा भण्डारणको सुनिश्चितता नभए डिजिटल रूपान्तरणका प्रयासहरू दिगो नहुने धारणा राख्नुभयो ।

    डिजिटल पूर्वाधारमा लगानीको आवश्यकता

    अधिकारीले स्टार्टअपदेखि ठूला उद्योगसम्मका लागि क्लाउड सेवा अपरिहार्य रहेको बताउनुभयो । "क्लाउड पूर्वाधारले उद्यमीहरूलाई सर्भर र सुरक्षामा हुने ठूलो पुँजीगत खर्चबाट मुक्त गर्छ," उहाँले भन्नुभयो, "इ-कमर्स, फिनटेक र आइटी सेवा निर्यातमा नेपाली युवाहरूको आकर्षणलाई मूर्त रूप दिन भरपर्दो क्लाउड पूर्वाधार अनिवार्य छ ।"

    विश्वव्यापी तथ्याङ्क प्रस्तुत गर्दै उहाँले सन् २०३० सम्ममा डेटा सेन्टर बजार ६०२ बिलियन डलरभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको जानकारी दिनुभयो । इस्टोनिया, सिंगापुर र भारत जस्ता देशहरूले डिजिटल पूर्वाधारमा लगानी गरेकै कारण विश्वव्यापी प्रतिस्पर्धामा अगाडि रहेको भन्दै नेपालले पनि सोही अनुरुपको रणनीति बनाउन ढिला गर्न नहुनेमा उहाँको जोड थियो । तीन बुँदे सुधारको खाका नेपालको डिजिटल आकाश साइबर सुरक्षाका दृष्टिले संवेदनशील रहेको र दक्ष जनशक्तिको अभाव रहेको स्वीकार गर्दै अधिकारीले तीनवटा मुख्य सुधारका बुँदाहरू अघि सार्नुभयो:

    १. नीतिगत सुधार: डेटा संरक्षण, साइबर सुरक्षा र डेटा स्थानीयकरण (Data Localization) का लागि स्पष्ट र लगानीमैत्री कानुनको निर्माण ।

    २. दक्ष जनशक्ति: विश्वविद्यालय र उद्योगबीच सहकार्य गरी बजारको माग अनुसारका जनशक्ति उत्पादन ।

    ३. डिजिटल समावेशिता: डिजिटल रूपान्तरणलाई काठमाडौँ बाहिर ग्रामीण भेगसम्म पुर्‍याउन दूरसञ्चार विकास कोषको प्रभावकारी प्रयोग ।

    नेपाललाई 'टेक हब' बनाउने लक्ष्य नेपालको रणनीतिक अवस्थितिको फाइदा उठाउँदै दक्षिण एसियाकै 'टेक हब' को रूपमा विकास गर्न सकिने सम्भावना उहाँले औंल्याउनुभयो ।सार्वजनिक-निजी साझेदारी (PPP) मार्फत विदेशी लगानी आकर्षित गर्ने यो उपयुक्त समय भएको उहाँको भनाइ थियो ।

    समिटको समापनमा अधिकारीले कार्यक्रम सफल पार्न सहयोग गर्ने प्रायोजक, प्रदर्शक, र क्यान महासंघका केन्द्र, प्रदेश तथा जिल्ला तहका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । "हामी सबैको सहकार्यले मात्र नेपाली प्रविधि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सकिन्छ," उहाँले भन्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ