Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौँका ज्येष्ठ नागरिकको मलिनो स्वर, ‘सहरमा मान्छेको संख्या मात्र धेरै हो, हरेक मान्छे एक्लो जीवन विताइरहेका छन्’


ग्लोबल पाना
आइतबार, जेठ १७ २०८३
  • 246
    SHARES

  • images
    काठमाडौँका ज्येष्ठ नागरिकको मलिनो स्वर, ‘सहरमा मान्छेको संख्या मात्र धेरै हो, हरेक मान्छे एक्लो जीवन विताइरहेका छन्’

    काठमाडौं । बाहिरबाट हेर्दा काठमाडौँ सहरको बसाई लोभलाग्दो देखिन्छ । बाहिरबाट हेर्दा जति लोभलाग्दो छ । सहरभित्रको सामाजिक अन्तरघुलन त्यत्तिकै उकुसमुकुस छ । जेठ १५ गते काभ्रेको पलाञ्चोक विजेश्वरी भवानीको दर्शन गर्न पुगेका वडा नं. ११ क्षेत्रका ज्येष्ठ नागरिकहरुको अभिव्यक्ति र खुला ठाउँमा पुग्दाको खुशीले यस्तै बताइरहेको थियो । सहर र घरमा एक्लिँदै गएका ७० वर्ष उमेर पुगेका १२५ जना ज्येष्ठ नागरिकलाई वडा नं. ११ कार्यालयले तीर्थाटन गराउन पलाञ्चोक लगेको थियो ।

    images
    images
    images

    गाडीमा आफूजस्तै पाका उमेरका व्यक्तिहरु देख्दा, समूहमा देवीको दर्शन गर्न पाउँदा, आफ्नै उमेरका सँग सामुहिक खाना र खाजा खाँदा उहाँहरुको अनुहारमा उझ्यालो देखिँदै गएको थियो । तीर्थाटनमा सहोदर दाजुभाइ ८७ वर्षिय हीरामान डंगोल र ८५ वर्षिय मचाम डंगोल एकैसाथ हुनुहुन्थ्यो । उहाँहरुले एकै ठाउँमा उभिएर अनुभव सुनाउँदै भन्नुभयो, ‘सहरमा म मात्र एक्लो होइन । मजस्तै अरु पनि एक्लै हुनुहुँदो रहेछ । भन्ने देख्न पाइयो । एक्लाएक्लाहरुका बिचमा भेटघाट गर्न पाउँदा त उमेर नै बढेको जस्तो भयो ।

    मजस्तै विरामी भएका अरु पनि हुनुहुँदो रहेछ । यो पनि थाहा भयो । उहाँहरुलाई देखेर मलाई त बाँच्न आत्मबल बढ्यो ।’ उहाँसँगै यात्रामा रहनुभएका ७७ वर्षिय कन्हैयाराज श्रेष्ठले विगत सम्झिँदै भन्नुभयो, ‘म बन कार्यालयको उपमहानिर्देशक पदबाट रिटायर्ड भएको हूँ । त्यो बेला सम्झँदा अहिले लाग्छ, ‘पदमा हुँदा मान्छे धरातलमा होइन । हावामा उडेको हुन्छ । आफूलाई अरुभन्दा माथि भएको लाग्छ । कसैलाई गन्दैन । कसैले भनेको मान्दैन ।’ मलाई पहिलेका कुरा सम्झँदा अहिले लाग्छ, ‘त्यसबेला सबै निरर्थक काम गरिएछ ।’ वडाले ज्येष्ठ नागरिकका लागि कार्यक्रम आयोजना गरेर म जस्ता व्यक्तिलाई सामाजिकीकरण गरायो । यसले जीवनप्रति उर्जा थपिएको छ । सामाजिक दुरी घटाएको छ ।’

    ८० वर्षिया रत्नेश्वरी श्रेष्ठ गोर्खालीले धेरैपछि यसरी घुम्न पाएकोमा आनन्द अनुभूति भएको प्रतिक्रिया दिनुभयो । ७० इन्द्रलक्ष्मी महर्जनले वडाबाट यस्तै कार्यक्रम भइरहेमा मनका घाउ विर्सिन सजिलो हुने कुरा सुनाउनुभयो । ७१ वर्षिया मीरा डंगोल महर्जनले र ७५ वर्षिया हिरामाया महर्जनले अनुभव सुनाउँदै भन्नुभयो, ‘मान्छेलाई सन्तोषसँग बाँच्न धनले मात्र नहुँदो रहेछ । समाज र आफू जस्तै व्यक्तिसँग भेटघाट चाहिने रहेछ ।’ ७४ वर्षिय गोपाल श्रेष्ठले तीर्थाटन अनुभव सुनाउँदै भन्नुभयो, ‘मोनोटनस जीवन विताउँदै थियौँ ।

    आज खुव रमाइलो भयो । पुराना मित्र भेट्न पाइयो । मनै हलुका भए जस्तै भयो । पीडा कम भयो ।’ तपाईँहरुलाई घरमा बस्दा बस्दा दिक्क भएको रहेछ, अव महानगरपालिकाले तपाईँहरुका लागि कस्ता कार्यक्रम ल्याइदिए हुन्थ्यो जस्तो लाग्छ भन्ने प्रश्नको जवाफमा उहाँहरुले भन्नुभयो, ‘यसरी घुमाउन लैजाने कार्यक्रम सधैँ चलाइरहनु पर्छ । औषधि किन्न जाने मान्छे, रोग जाँच्न लगिदिने मान्छे छैनन् । त्यो व्यवस्था मिलाइ दिनु पर्छ ।’ यसरी ज्येष्ठ नागरिकहरुसँग अन्तर संवाद गरिरहेका महानगरपालिकाका भवन व्यवस्था समितिका संयोजक एवं वडा ११ का अध्यक्ष हीरालाल तण्डुकारले भन्नुभयो, ‘घरमा ज्येष्ठ नागरिक एक्लो जीवन बाँचिरहेको छ । उसका चाहना सोध्ने कोही छैन । रुचि र अरुचिका कुरा कसैले सोध्दैन ।

    कतै घुम्न मन लाग्यो भने एक्लै जान सकिँदैन । लैजानलाई कसैसँग फुर्सद छैन ।’ कुरा गर्दागर्दै आफैँ भक्कानिनु भएका तण्डुकारका आँखामा टलपल आँशु देखिए । भावुकता सम्हाल्दै उहाँले थप्नुभयो, ‘म पनि यस्तै अवस्थामा छु । कोही परिवार भएर पनि एक्ला छन् । कोही श्रीमति, छोराछोरी कोही नभएर म जस्तै एक्ला छन् ।’ उहाँ अहिले ७६ वर्षको हुनुहुन्छ । पहिलो पटक वि. सं. २०४९ सालमा वडाध्यक्ष निर्वाचित हुनुभएका तण्डुकार २०७४ साल र २०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभयो ।

    वडाध्यक्ष पदमा उहाँले २०५४ सालको निर्वाचनमा पराजय भोग्नु परेको थियो । वडामा तण्डुकार जस्तै धेरै ज्येष्ठ नागरिक हुनुहुन्छ । उहाँहरुमध्ये करिब ८५० जनाले सामाजिक सुरक्षा भत्ता र पोषण भत्ता प्राप्त गरिरहनुभएको छ । यस वर्ष १५१ जनालाई पोषण भत्ता वापत हरेकलाई १२ हजार रुपियाँ प्रदान गरिएको छ । यो संख्या गएको वर्ष १८१ जना थियो । वडामा पोषण भत्ता प्राप्त गर्ने ९ जना पूर्ण अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । अति अशक्त १५ जना प्यारालाइसिस भएका कारण सामान्य जीवन जिउन कठिन भएका ७ जना व्यक्ति हुनुहुन्छ ।

    अन्य सेवाबाट सुविधा लिने भएकाले वडाको सम्पर्कमा नहुनु भएका धेरै ज्येष्ठ नागरिक हुनुहुन्छ । उहाँहरु कसरी जीवन विताइ रहनुभएको छ । अभिलेखन हुन सकेको छैन । वडाले यस्ता ज्येष्ठ नागरिकलाई खोजेर सामाजिक क्रियाकलापमा आवद्ध गराएर मानसिक पीडा कम गराउने कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ