काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ नजिकिँदै गर्दा काठमाडौंको भृकुटीमण्डपमा स्टल निर्माणको काम तीव्र गतिमा भइरहेको छ । भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, अटो पाट्र्स तथा कम्पोनेन्ट, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल निर्माण भइरहेका छन् ।
यस वर्ष नाडाको ५०औँ स्थापना वर्ष अर्थात् स्वर्ण जयन्ती अवसरमा आयोजना हुने अटो शोमा २०० भन्दा बढी स्टल रहनेछन् । करिब तीन लाख वर्गफिट क्षेत्रफलमा सञ्चालन हुने प्रदर्शनीमा यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुनेछन्। त्यस्तै, करिब ७० वटा स्टलमा अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरणलगायतका सामग्री प्रदर्शन गरिनेछ । बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीको समेत सहभागिता रहने आयोजकले जनाएको छ । प्रदर्शनी सुरु हुन केही दिन मात्र बाँकी रहेकाले भृकुटीमण्डपमा प्राविधिक तथा कामदारहरू स्टल निर्माणमा व्यस्त देखिन्छन् ।
विभिन्न ब्रान्डका स्टललाई आकर्षक र प्रविधिमैत्री बनाउनेसँगै विद्युत्, प्रकाश, डिजिटल डिस्प्ले, ब्रान्डिङलगायतका प्राविधिक काम पनि तीव्र रूपमा भइरहेको छ । अटो शोमा नयाँ सवारीसाधन, विद्युतीय सवारी, अत्याधुनिक प्रविधि तथा अटोमोबाइल उत्पादन र सेवाको प्रदर्शन हुनेछ । साथै ‘मेड इन नेपाल र मेड फर नेपाल’ पभेलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन, ईभी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्टको प्रवद्र्धन गर्ने तयारी गरिएको छ ।
नाडाका अनुसार प्रदर्शनीले उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तरक्रियाको अवसर प्रदान गर्नेछ। नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म (अगस्ट २५–३०) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा सञ्चालन हुनेछ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


