Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

बझाङको अर्गानिक आलुले बजार पाएन


ग्लोबल पाना
बुधबार, मंसिर १४ २०७९
  • 197
    SHARES

  • images
    बझाङको अर्गानिक आलुले बजार पाएन

    बझाङ । सुर्मा गाउँपालिकाका रङ्गे बोहरालाई आजभोलि रातदिन आलुकै चिन्ता छ । आलुको बजार अस्वाभाविक तवरले खुम्चिएपछि उनी चिन्तामा परेका हुन् । “साउनदेखि सडक अवरूद्ध भएपछि उनले उत्पादन गरेका आलु गाउँमै रोकियो ।” बोहराले भने, “आलु निकालेको एक महिनापछि मात्रै आलु बिक्रीका लागि पठायौँ । सुरूसुरूमा त तरकारी राम्रै बिक्री भयो । अहिले भने तराई पुर्‍याएको आलु पनि थन्किएको छ ।” सुर्मामा बोहराको जस्तै यहाँका अन्य किसानको पनि समस्या उस्तै छ । उनीहरूलाई पनि आफ्नो बारीमा उत्पादन भएको आलु बिक्री नहुँदा पीर परेको छ ।

    images
    images
    images

    साठी क्विन्टल आलु रोप्नुभएका सुर्माका किसानले करिब एक हजार दुई सय क्विन्टल आलु उत्पादन गरेको छन् । हालसम्म चार/पाँच सय क्विन्टल आलु मात्रै बिक्री भएको छ । बाँकी आलु अलपत्र छ । गुड्खोरीका किसान गोरख धामीको समूहले पनि कृषि ज्ञान केन्द्रको अनुदानमा ८० क्विन्टल आलु लगाएको थियो । साउनदेखि बारीबाट निकाल्न सुरू गरेको आलु दुई महिना बजार नपाउँदै गाउँमै रोकिएको छ । असोजदेखि बिक्री सुरू गरिएको आलु डेढ सय क्विन्टल मात्रै बिक्री भएको छ । “आलु बिक्रीका लागि सुरूमा त दौडधुप गर्नु परेन”, धामीले भने, “बजारको समस्या थिएन, सबै कृषि ज्ञान केन्द्रले नै बजार पठाइदिन्थ्यो । अहिले ज्ञान केन्द्रले पनि सकेन । आलु जस्ताको त्यस्तै थन्किएको छ ।” धामीका अनुसार हालसम्म गुड्खोरीको आलु एक सय ५० क्विन्टल बिक्री भएको छ । “दुई सय क्विन्टल तराईमा बजार खोज्दै डुलाइरहेका छौँ । पाँच सय क्विन्टलजति गाउँमै थन्किएको छ”, उनले भने ।

    तलकोट गाउँपालिका वडा नं ७ का अध्यक्ष लक्ष्मण विष्टका अनुसार जिल्ला सदरमुकाम तथा नजिकका बजारमा बिक्री नभएपछि उत्पादित आलु गाउँमै रोकिएको छ । राज्यको ‘उत्पादनमुखी’ नीतिलाई समर्थन गर्दै व्यावसायिक भएका कृषक बजार नपाउँदा निरास हुँदै आएका छन् । “उत्पादनलाई प्रत्येक वर्ष बढाउँदै आएका कृषकले बजार नपाएपछि हामीलाई पनि असह्य भएको छ”, कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले भने, “किसानलाई उत्पादन बढाउन जोड दियौँ तर, अहिले बजार सबै भारतीय तरकारीले ओगटेपछि हाम्रो उत्पादन रोकिएको हो ।” गत हप्तासम्म तराईका बजारमा छ्याप्छ्याप्ती बझाङी आलु अहिले गाडीमै थन्किएको छ । “भारतीय आलुले बजार पुरै ओगटेको छ”, ज्ञान केन्द्र प्रमुख विष्टले भने, “ताजा आलु भन्दै भारतीय आलुले कैलाली, कञ्चनपुर हुँदै डडेल्धुरासम्मै ओगटेको छ ।

    यताको हाम्रो अर्गानिक आलु तराई पठाएकोसमेत गाडीमै रोकिएको छ ।” उत्पादित तरकारी बजारीकरण गर्न नसक्दा किसानलाई जवाफ दिन नसकेको उनले बताउछन् । “कैलालीका पहाडी समुदायले पनि बाहिरबाट आउने तरकारीलाई प्रश्रय दिएका छन् र आफ्नै गाउँठाउँको उत्पादनलाई माया गर्नुभएन ।” उनका अनुसार अहिले कैलाली कञ्चनपुरमा भारतीय आलु ताजा भन्दै प्रतिकेजी रु ४० बिक्री भइरहेको छ । “बिचौलियाले बझाङको आलु पुरानो भन्दै प्रचार गरेको हुँदा रु ३० केजी पनि बिक्री भएको छैन”, उनले भने । किसानले दिनदिनै फोन गरेर बजार खोज्न आग्रह गरिरहेको केन्द्रका प्रमुख विष्टले बताए । “उनीहरूलाई व्यावसायिक बन्न हामीले नै आग्रह गरेका हौँ । सकेजति सहयोग पनि गरिरहेका छौँ । अहिले भने बजार ठप्प भइदियो । हामी पनि निराश छौँ”, उनले भने ।

    विष्टका अनुसार बझाङबाट यो पटक एक करोड रूपैयाँ बराबरको आलु निर्यात भइसकेको छ । बाँकी सोही मूल्य बराबरको आलुले बजार नपाएको उनले बताए । “यसपटक किसानको एक करोड रूपैयाँ बराबरको आलु निर्यात गर्‍यौँ । अब त्यही मूल्य बराबरको आलु खेर जाने हो कि भन्ने चिन्तामा छौँ ।” कैलाली कञ्चनपुरमा भारतबाट नयाँ आलु आएको हुँदा बझाङको अर्गानिक आलु थन्किएपछि व्यापारमा झट्का लागेको आलु जोन बझाङकी प्रमुख सविता जोशीले बताए । “पकेट क्षेत्रमा उत्पादित आलु पनि बिक्री भएको छैन । हाम्रै आलु पसलपसल खोज्दै भौतारिरहेको छ ।” बजारै नपाएपछि कोल्डस्टोरमा राख्नुको पनि अर्थ नभएको उनले बताए । “कोल्डस्टोरमा पनि बीउका लागि राखेका छौँ ।

    यति सबै आलु कोल्डस्टोरमा राखेर पनि साध्य हुँदैन, थोरैथोरै भए पनि बिक्री हुनुपर्छ”, उनले भने । यता सुदूरपश्चिम प्रदेशकी कृषिमन्त्री विनितादेवी चौधरीले बझाङको आलुले बजार पाउने गरी छलफल गर्ने बताए । रासससँग कुरा गर्दै उनले भने, “हामीले सबै जिल्लामा तरकारी ढुवानीका लागि खर्च दिएका छौँ । कृषकले आफ्नो मूल्य पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । तर यहाँ त तरकारीले पसलपसल चहार्दै बिक्री गर्नुपर्ने भयो ।” उनले अब सबै जिल्लाका कृषि प्रमुखसँग छलफल गरेर रोकिएको आलु कसरी बिक्री गर्ने, कति मूल्यमा बेच्ने भन्ने कुरा छलफल गर्ने बताए । “आफ्नै अर्गानिक उत्पादनलाई रोकेर बाहिरबाट ल्याउनु राम्रो होइन, बरू बाहिरकोलाई केही समय रोकेर पनि बझाङको आलु निर्यात गर्न सहयोग गर्नेछौँ”, उनले भने । कैलाली कञ्चनपुरमा पनि बढी भएको आलु लुम्बिनी प्रदेशमा समेत पठाउनुपर्ने मन्त्री चौधरीले बताए ।

    महोत्सवमा बझाङको आलु

    विसं २०६३ देखि नियमितरूपमा धनगढीमा लाग्दै आएको ‘सुदूरपश्चिम महोत्सव’मा आलु बेच्नकै लागि कृषि ज्ञान केन्द्रले दुई कक्ष राख्ने भएको छ । मङ्सिर २२ देखि पुस २ गतेसम्म चल्ने महोत्सवमा बझाङको आलु बिक्रीकै लागि कक्ष राख्न लागेका कृषि ज्ञान केन्द्र बझाङका प्रमुख विष्टले बताए । कक्षमा बझाङको उत्पादित राजमा, गान्टेमुला, भटमास, कालोसिमी, बन्दालगायत तरकारी पनि राखिन्छ । यसले बझाङको पहिचान र अर्थतन्त्रलाई झल्काउने विश्वास लिएको उनले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ