काठमाडौं । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको पहलमा दोर्दी गाउँपालिका-६, ढोडेनीको मा सबैका घरमा खानेपानीको धारा निर्माण गरिएका छन् । गोर्खा वेल्फेयर ट्रष्ट नेपाल, दोर्दी गाउँपालिका र खानेपानी तथा सरसफाई व्यवस्थापन समिति ढोडेनी बेसिले गाउँका घरघरमा धारा निर्माण गरेको हो । आज एक कार्यक्रमको आयोजना गर्दै दोर्दी गाउँपालिका अध्यक्ष अधिकारीले उक्त खानेपानीको उद्घाटन एवम् हस्तान्तरण गर्नु भएको छ।
ढोडेनी बेसिमा ६० घर, ह्युल आमा समूह,सामुदायिक चर्च,सिद्ध प्रा.वि.,हिमालयन पावरपार्टनर जलविद्युत आयोजना र दोर्दी-१ जलविद्युत आयोजना गरी कूल खानेपानीका ६५ वटा धारा निर्माण गरिएको छ । कूल ४३ लाख ९५ हजार ५ सय ६८ रुपैयाँ १८ पैसा लगानीमा निर्माण गरिएको खानेपानी आयोजनामा गोर्खा वेल्फेयरको मात्रै ३३ लाख २१ हजार ६८ रुपैयाँ १८ पैसा लगानी रहेको छ भने आयोजनामा दोर्दी गाउँपालिको ६ लाख ३९ लाख ८ सय ७ रुपैयाँ ७३ पैसा लगानी छ । गाउँलेले ४ लाख ३४ हजार ६ सय ९२ रुपैयाँ ३७ पैसा बराबरको श्रमदान गरेका छन् ।
२०८० असोज २४ सम्झौता गरी मंसिर ८ गते निर्माण सुरु गरिएको उक्त आयोजना गत २०८० माघ २३ गते निर्माण सकिएको हो ।
खानेपानी अयोजनाको बिहिवार एक कार्यक्रमको आयोजना गरी गोरखा वेल्फेयर ट्रष्टले दोर्दी गाउँपालिका र स्थानीय उपभोक्तालाई हस्तान्तरण गरेको छ । गोर्खा वेल्फेयर ट्रष्टका एरिया वेल्फेयर अफिसर कृष्ण बहादुर गुरुङले गाउँपालिका अध्यक्ष युवराज अधिकारी र खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बल बहादुर तामाङलाई आयोजना हस्तान्तरण गर्नुभएको हो ।
गाउँपालिका अध्यक्ष अधिकारीले खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाले हरेक नागरिककको घरमा आधारभूत खानेपानी पुर्याउने नीति अनुरुप घरघरमा खानेपानीको धाराको व्यवस्थापन गरेको बताउनुभयो । उहाँले गोरखा वेलफेयर ट्रष्टको सहयोगमा घरघरमा धाराको व्यवस्थापन कार्य अघि बढेको र घरघरमा खानेपानी नपुगेका अन्य गाउँमा पनि घरघरमा खानेपानी पुर्याउने योजना अघि बढाइने बताउदै धारा नहुँदा नागरिकलाई पानीको दुःख रहेकोमा सबैका घरमा धारा बनेपछि नागरिकलाई सहज भएको बताउनुभयो ।
ढोडेनी बेसि खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बल बहादुर तामाङले यसअघि सार्वजानिक धारा भए पनि पानीको समस्या रहेकोमा घरघरमै खोनपानीको धारा निर्माण भएपछि सहज भएको बताउनुभयो । समयको सदुपयोगसँगै सवैभन्दा सजिलो गृहिणी र विद्यार्थीलाई भएको उहाँले बताउनुभयो । सोही स्थानका ७० वर्षीय सुक बहादुर तामाङ्का अनुसार २० वर्ष अगाडि गाउँमा सार्वजनिक धारा ३ वटा निर्माण गरेको थियो। यो योजना जीर्ण हुनुका साथै यसले खानेपानी नपुगेपछि गाउँलेले खानेपानीको माग गर्दै आएका थिए ।
नयाँ योजना अन्तर्गत गाउँमा ६ हजार लिटर र ८ हजार लिटरको २ वटा खानेपानी ट्याङ्की निर्माण गरी पानी जम्मा गरिएको छ । गाउँ नजिकैको खुर्मुरे ओडार मुहानबाट ७ हजार ८ सय ८४ मिटर पाइपलाइनमार्फत पानी ल्याएर घरघरै वितरण गरिएको उपभोक्त समितिका अध्यक्ष तामाङले बताउनुभयो । खानेपानी धारा निर्माणबाट बारीगाँउको ३ सय ४ जना नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन ।
कार्यक्रममा वडा अध्यक्ष नन्दराज घले,वडा सदस्यहरु,गोर्खा वेल्फेयर ट्रष्टका प्रोजेक्ट म्यानेजर बेल बहादुर गुरुङ,प्रोजेक्ट सुपरभाइजर जित बहादुर थापा मगर स्थानीय बुद्धिजीवीहरु,आमा समूहको अध्यक्षहरु एवम् स्थानीयको उपस्थिति रहेको थियो।
हालसम्म गोर्खा वेल्फेयर ट्रष्ट नेपालले दोर्दी गाउँपालिका भित्र ८ सय ९७ घरहरुमा १ घर १ धारा निर्माणका लागि सहयोग गरिसकेको छ ।
.gif)




