काठमाडौं । चार महिनादेखि करिब ७ अर्ब रकम नपाउँदा देशभरका दूध उत्पादक किसान बिचल्लीमा परेका छन् । डेरी उद्योग संघ र डेरी एसोसिएसनको करिब ६ अर्ब तथा डीडीसीको ९० करोड गरी झन्डै ७ अर्ब रुपैयाँ किसानले दूधको भुक्तानी पाउन सकेका छैनन् ।
राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार दुग्ध क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा करिब ३० लाख परिवार संलग्न छन् । तिनले ७४ लाख गाई र ५२ लाख भैंसी पालेका छन् । तर धेरैजसो किसान परिवारले ३/४ महिनायता दूध बेचेको पैसा पाएका छैनन् ।
सामान्यतया १५/१५ दिनमा तिनले किसानको भुक्तानी गर्नुपर्ने हो । तर डेरीहरूले ३/४ महिनाको रकम रोकेर राखेका छन् । यहाँ दूध अभाव हुँदा भारतबाट आयात गर्न ‘लबिइङ’ गर्ने यी निकायले स्वदेशमा पर्याप्त हुँदा खरिद गर्नसमेत आलटाल गर्छन् ।
कृषक समूह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारीले भने, ‘सरकार र निजी डेरीहरूको नीति बुझिनसक्नु छ । सरकारले एकातिर दूध उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य राख्छ । अर्कातिर किसानलाई भुक्तानी गर्दैन ।’
नेपाल किसान महासंघ तथा राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले डेरी र सरकारको गैरजिम्मेवारीका कारण किसानलाई समस्या परेको बताए । बाँकी बक्यौता तत्काल भुक्तानी नभए संघर्षका कार्यक्रम गरिने उनको भनाइ छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


