कैलाली । कैलालीको टीकापुर नगरपालिकाको नेपाल-भारत सीमा क्षेत्रमा खेतीपाती र भूमि जोगाउन स्थानीयवासीले काडेतार लगाउन थालेका छन् । छाडा पशुले बाली नष्ट गर्न थालेपछि टीकापुर -७ कालाकुण्डास्थित सीमा क्षेत्रमा स्थानीय काडेतार लगाउन थालेका हुन् ।
नागरिक छाडा पशु चौपायाका कारण बाली जोगाउन नसक्दा दिक्क छन् । छाडा पशु चौपायाले किसानको बालीनाली नष्ट गरिदिने भएकाले किसानलाई खेती स्याहार्न कठिन हुन थालेको छ । यो समस्या नेपाल-भारत सीमा क्षेत्रका किसानलाई अझ बढी छ ।
सीमा क्षेत्रमा नेपाल र भारत गरी दुवै क्षेत्रका पशुले बाली नोक्सान गर्न थालेपछि टीकापुर-७ का किसानले तारबार लगाउन थालेको बताएका छन् । छाडा पशुले बाली नोक्सान गरेर समस्या भएपछि स्थानीय मिलेर बाली जोगाउन सामूहिकरूपमा काडेतार लगाउन थालेका छन् । स्थानीय भिउराज साउदले बताए ।
“हामीले खेती नगरे छाक टार्न गाह्रो, खेती गरेमा नेपालका र भारतबाट आएका वस्तुभाउले खेती नष्ट गरिदिन थाले”, उनले भने, “तारबार नगरेर खेती जोगाउन नसकिने भयो, अर्कोतर्फ तारबार गर्दा जमिन समेत संरक्षण हुने भयो ।” लगाएको बाली भारतीय जङ्गलबाट आउने छाडा गाइगोरु तथा जङ्गली जनावरले खाएर नोक्सान गर्न थालेपछि काडेतार लगाउनुपरेको स्थानीयवासी बताउँछन् ।
“हामीले आफैँले रकम उठाइ श्रमदानबाट सीमा क्षेत्रमा करिब पाँच सय मिटर जमिनमा काडेतार लगाउन थालेका छौँ”, साउद भन्छन्, “प्रत्येक किसानबाट रु पाँच सयका दरले रु एक लाख ५० हजार सङ्कलन गरी काडेतार लगाउन थालेका छौँ ।” स्थानीयवासीले काडेतार लगाउनुअघि स्थानीय सरकारसँग छलफल गरेका थिए ।
सरकारले सहयोग गर्ने आश्वासन पाएपछि तारबार गर्न सुरु गरेको बताएका छन् । स्थानीयवासीसँग उठाएको रकमले काम अधुरो हुने भएकाले नगरपालिकासँग सहयोग मागेको हिरासिंह साउदको भनाइ छ ।
“हामीले सकेको रकम उठायौँ, बाँकी रकम टीकापुर नगरपालिकाले व्यहोर्ने आश्वासन पाएका छौँ”, उनी भन्छन्, “हामीले जमिन संरक्षण सुरु गर्यौँ, अब पालिकालाई पनि दबाब होस् र बाली र भूमि संरक्षणमा सहयोग पुग्ने अपेक्षा छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


