Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

मुख्यमन्त्री सिँहद्वारा सुरक्षा अधिकारीलाई पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न निर्देशन


ग्लोबल पाना
बिहीबार , फागुन २२ २०८१
  • 396
    SHARES

  • images
    मुख्यमन्त्री सिँहद्वारा सुरक्षा अधिकारीलाई पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न निर्देशन

    जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले खुला सीमानाकाहरूबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थहरूमा रोक लगाउन प्रदेशका उच्चपदस्थ सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन् । उनले विभिन्न नाकाबाट अवैध ढङ्गले भित्रिने अन्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न मधेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य र सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीलाई बुधबार निर्देशन दिएका हुन् ।

    images
    images
    images

    सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको अन्डा तथा मासु उपलब्ध गराइरहेको नेपालको पोल्ट्री व्यावसाय भारतबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थका कारण सङ्कटग्रस्त हुन थालेको र भारतका विभिन्न प्रान्तमा देखापरेका बर्ड फ्लु भित्रिने जोखिम उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने भन्दै नेपाल लेयर्स कुखुरापालक संघले बुधबार मुख्यमन्त्री सिँहको ध्यानाकर्षण गराएको थियो ।

    जनकपुरधामको मधेश भवनस्थित मुख्यमन्त्री निवासमा भेट गर्दै कुखुरापालक व्यावसायीहरूले देशको कुल ग्राहस्थ उत्पादनमा तीन प्रतिशत हिस्सा ओगटेको र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पाँच लाख व्यक्तिलाई रोजगार दिएको पोल्ट्री क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका लागि पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोकिनुपर्ने माग मुख्यमन्त्री सिँहसँग गरेका थिए ।

    मुख्यमन्त्री सिँहले पोल्ट्रीजन्य पदार्थको खुला बिक्रीवितरणमा साना पूँजी भएका व्यक्तिहरूको संलग्नता रहेकाले चेतनामूलक कार्यक्रमका साथ नियन्त्रण प्रयास हुनुपर्ने बताए । उनले भने, “अवैध आयात नियन्त्रण गर्न त्यसरी आयातीत वस्तुको बिक्रीवितरण निषेधमा जोड दिनुपर्छ । यसका लागि साना व्यापारीमा अवैध तरिकाले भित्रिएका पोल्ट्रीजन्य पदार्थबाट जनस्वास्थ्यमा पर्नसक्ने नकारात्मक असरका बारेमा चेतना जागृत गर्नुपर्छ ।”

    उनले योजनाबद्ध तरिकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिँदै त्यस्ता पदार्थको अवैध आयात हुने नाका र क्षेत्र पहिचान गरी प्रहरी परिचालन गर्नुपर्ने बताए । उनले पोल्ट्रीजन्य पदार्थको अवैध आयातलाई रोक्न अभियान नै थाल्नुपर्ने र त्यसमा नेपालका पोल्ट्री व्यावसायीसँगै सरोकारवालाहरूले अग्रसरता लिनुपर्ने औंल्याए ।

    मधेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी महानिरीक्षक लालमणि आचार्यले पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न पहिलो चरणमा चेतनामूलक प्रचारप्रसार गरिने र दोस्रो चरणमा कानुनअनुसार त्यस्ता वस्तु नियन्त्रणमा लिएर नष्ट गरिने जानकारी दिए ।

    सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक धौवजीले विभिन्न नाकाबाट अवैध ढंगले भित्रिने पोल्ट्रीजन्य पदार्थको नियन्त्रणमा सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले निरन्तर काम गरिरहेको भन्दै अबउपरान्त त्यस काममा थप तीव्रता ल्याउने बताए ।

    नेपालको पोल्ट्री व्यावसायमा एक खर्ब ६० अर्ब लगानी रहेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ । संघका अध्यक्ष विनोद पोखरेलले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन मुख्यमन्त्री सिँहको अवैध अस्पतालविरुद्धको अभियानबाट हौसिएर आफूहरूले पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न मुख्यमन्त्री सिँहलाई आग्रह गर्न प्रादेशिक राजधानी जनकपुरधाम आएको बताए । 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ