काठमाडौं, चैत १ : विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा स्वच्छ र प्रतिस्पर्धी बजार उपभोक्ताको सार्वभौम अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय उपभोक्ता मञ्च र कर्पोरेट खबरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उपभोक्ता अधिकारको सुनिश्चितता, बजार अनुगमन, भ्रष्टाचार नियन्त्रण तथा नीति कार्यान्वयनका विषयमा गहन छलफल भयो ।
संघीय प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले भ्रष्टाचार, घुसखोरी र अनियमितताका कारण उपभोक्ता मारमा परेको भन्दै देशमा सुधारका लागि कडा कदम आवश्यक रहेको बताउनु भयाे । उहाँले नेताहरू र कर्मचारीहरूको घरमा लुकेको कालोधन सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै भन्नुभयाे, ’नोटबन्दी नगरेसम्म देशमा सुधार आउँदैन ।’ सांसद खानले उपभोक्ता अदालतको इजलास प्रत्येक जिल्ला अदालतमा राखिनुपर्ने र कालोधन नियन्त्रणका लागि प्रमुख नाकामा गुणस्तरीय प्रयोगशाला ल्याबको व्यवस्था गरिनुपर्ने धारणा राख्नुुभयाे । साथै, उहाँले नीति निर्माणका निर्णयहरू व्यवहारमा कार्यान्वयन हुन नसकेकोप्रति रोष व्यक्त गर्दै भन्नुभयाे, ’निर्देशन दिँदा पनि कार्यान्वयन हुँदैन, ताकेता गर्दा पनि जवाफ आउँदैन, के गर्ने ?’
बाणिज्य तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले नेपाली बजार उत्पादनभन्दा बढी आयातमा निर्भर रहेको बताउँदै भन्सार नीतिहरू उपभोक्ता अनुकूल बनाउनुपर्नेमा जोड दिनुभयाे । उहाँले भन्नुभयाे, ’भन्सार प्रक्रियामा अनियमितता रहेको र बिजकहरू प्रेडिक्टेबल नहुँदा उपभोक्ताहरू मारमा परेका छन् ।’
काठमाडौं उद्योग वाणिज्य संघका दिनेश श्रेष्ठले सरकारी निकायहरूबीच समन्वयको अभाव रहेको बताउँदै राजनीतिक हस्तक्षेपका कारण व्यवसायीहरू समस्यामा परेको उल्लेख गर्नुभयाे । उहाँले बजार नियमनमा राज्यले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने र साना व्यवसायीहरूको सुरक्षाका लागि आवश्यक नीति ल्याउनुपर्ने सुझाव दिनुभयाे ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता अधिकारलाई मानव अधिकारका रूपमा लिनुपर्ने बताउँदै सरकार र व्यवसायी दुवैले जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयाे । उहाँले भ्रष्टाचारकै कारण उपभोक्ता मारमा परेको बताउँदै नेपालमा गुणस्तरीय वस्तु उचित मूल्यमा उपभोक्तासमक्ष पुर्याउन आवश्यक रहेको उल्लेख गर्नुभयाे ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


