दाङ । वैदेशिक रोजगारीबाट फर्किएका दाङका युवा पछिल्लो समय पशुपालन व्यवसायमा सक्रिय हुँदै गएका छन्। विशेषगरी बाख्रापालन, भैंसी, कुखुरापालन जस्ता पेसामा उनीहरूको आकर्षण बढ्दो छ। वैदेशिक रोजगारीमा सोचेजस्तो तलब र अवसर नपाएपछि धेरैले आफ्नै गाउँघरमा पशुपालन व्यवसाय सुरु गरेका छन्।
घोराही उपमहानगरपालिका–१२ रमनाका जनक बुढा र उनका मामा मनबहादुर बुढा विगत तीन वर्षदेखि ‘बुद्ध बाख्रा फार्म’ सञ्चालन गर्दै आएका छन्। जनक पाँच वर्ष र मनबहादुर २५ वर्ष साउदी अरबमा काम गरेर फर्किएका हुन्। जनकका अनुसार बाख्राको बिक्रीबाट वार्षिक झन्डै १० लाख रुपैयाँ आम्दानी हुने गरेको छ, यद्यपि दानापानी र औषधोपचारमा खर्चसमेत उत्तिकै हुने हुँदा बचत भने कम हुने गरेको छ। फार्ममा हाल बोयर, खरी र लोकल जातका ७५ वटा बाख्रा पालिएका छन्। दुई बिघा जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिएको छ।
मनबहादुरका अनुसार अघिल्लो वर्ष रोगका कारण ५४ वटा बाख्रा मरेपछि झन्डै २ लाख ५० हजार रुपैयाँ घाटा व्यहोर्नुपरेको थियो। तर, आत्मनिर्भर बन्दै गएका यी किसान व्यवसायप्रति आशावादी छन्। “विदेशमा बसेर सोचेजस्तो कमाइ हुन सकेन, अहिले भने आफ्नै देशमा पसिना बगाएर केही गर्न सकिने देखियो,” जनकले भने। व्यवसाय बढ्दै जाँदा उनीहरू एक खसीलाई ५४ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्।
पछिल्लो समय दाङमा व्यावसायिक बाख्रापालन गर्ने युवाको संख्या बढ्दो छ। बाख्राको राम्रो बजार मूल्य, बजारको सहज पहुँच र खर्चमा सन्तुलन आएपछि किसानहरू आकर्षित भएका हुन्। धेरैजसो किसानले घरमै थोरै बाख्रा पालेर छोराछोरीको पढाइ खर्चदेखि दैनिक खर्च व्यवस्थापन गर्न थालेका छन्।
किसानहरूको भनाइ अनुसार बाख्रापालन व्यवसायले सानातिना आर्थिक समस्या समाधान गर्न मद्दत पुर्याएको छ, र यसको बजार माग स्थिर भएकाले भविष्यमा यो पेसाबाट अझ राम्रो आम्दानी गर्न सकिने देखिएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


