Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर


ग्लोबल पाना
शनिबार, वैशाख २७ २०८२
  • 324
    SHARES

  • images
    कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर

    गोरखा । शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालयको टाई। यहाँको पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विक अमरज्योति जनता मावि लुइँटेल परीक्षा केन्द्रमा पुग्दा सुरुमा कतिपय झुक्किए, शिक्षक हुन् कि परीक्षार्थी भनेर।

    images
    images
    images

    तर उनी हाल सञ्चालन भइरहेको कक्षा १२ को परीक्षार्थी हुन्। यहाँस्थित भवानी माविबाट शिक्षा सङ्कायमा अध्ययनरत उनी हाल अमरज्योति जनता मावि परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका छन्। कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट १० परीक्षार्थी भित्र परेका विकलाई कक्षा १२ पनि सजिलै उत्तीर्ण गर्छु भन्ने आत्मविश्वास छ।

    “अङ्ग्रेजी विषयमा चाहिँ एक दुई वटा वटा प्रश्नका उत्तर लेख्न सकिँन, तर फेलै चाहिँ भइन्न होला”, उनले भने, “अब बाँकी विषय त सजिलै छन्। आफ्नै शैलीमा लेख्न सक्छु।”

    उनी २०५५ सालमा नेपाल प्रहरीको सहायक निरीक्षकबाट सेवा निवृत्त भएका हुन्। कक्षा ७ पढ्दापढ्दै २०३५ सालमा प्रहरीमा भर्ती भएका उनले २०४२ सालमा तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माविबाट ‘प्राइभेट’तर्फ एसएलसी दिएका थिए। “त्यतिबेला प्राइभेट टेस्ट दिन पाइन्थ्यो। टेस्टमा पास गर्‍यो भने जति कक्षा पढेकाले पनि एसएलसी दिन पाउँथे। मैले पनि त्यसरी नै टेस्ट दिएर एसएलसी दिएको हो”, उनले भने। तर त्यतिबेला जागिर खाँदै पढ्ने कुरा सजिलो थिएन। एसएलसी दिने बेला पनि ‘सिनियर कमान्डर’हरूले नपढोस् भनेर धेरै काम लगाउने गरेको उनी सुनाउँछन्।

    “दलितको छोरो पढेर हामीभन्दा ठूलो हुने भयो भनेर सिनियरहरूले खुबै पेल्थे। तर जसोतसो एसएलसी दिएँ। तेस्रो श्रेणीमा उत्तीर्ण पनि भएँ”, उनले भने, ‘पहिला गाउँकै स्कुल पढ्न पनि पैसा लाग्थ्यो। हामी चार भाइ, एक बहिनी थियौँ। आर्थिक अभावका कारण पढाइ छोड्नु पर्‍यो। तर, मनबाट शिक्षाको भोक हराएन।”

    उनी पढाइलाई निरन्तरता दिन चाहन्थे। तर, घर व्यवहार र आर्थिक अभावका कारण निरन्तरता दिन सकेनन्। “छोराछोरी जन्मिसकेका थिए। आफ्नो रहरमात्र हेरेर भएन। घर व्यवहार पनि चलाउनु पर्‍यो”, विगत सम्झँदै विकले भने, “पेन्सन आएपछि पनि पढ्ने अनुकूलता मिलेन। अहिले छोराछोरीहरू सबै हुर्किए। बिहेबारी भइसक्यो। अब पढ्नलाई सहज छ। त्यसैले फेरि कक्षा ११ मा भर्ना गरेर पढ्न थालेको हुँ।” कक्षा १२ पछि स्नातकमा कानुन विषय लिएर पढ्ने इच्छा उनको भनाइ छ।

    यस वर्ष गोरखाबाट तीन हजार ७५० जना विद्यार्थीहरूले सहभागिता जनाएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका अनुसार यो वर्ष नियमिततर्फ दुई हजार चारसय ७६ र ग्रेड वृद्धितर्फ एक हजार २५० जना परीक्षार्थीहरू कक्षा १२ को परीक्षामा सहभागी छन्। रासस

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ