Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

टोखा नगरपालिकाबाट सेवा निवृत्त कर्मचारी दीपक धिताललाई सम्मानपूर्वक बिदाइ, योगदानको उच्च कदर


बुधबार, जेठ ७ २०८२
  • 869
    SHARES

  • images
    टोखा नगरपालिकाबाट सेवा निवृत्त कर्मचारी दीपक धिताललाई सम्मानपूर्वक बिदाइ, योगदानको उच्च कदर

    टोखा, वैशाख ७ । जीवनका अमूल्य २९ वर्ष नगर सेवामा समर्पित गर्दै सेवा निवृत्त हुनु भएका दीपक कुमार धिताललाई टोखा नगरपालिकाले आज एक विशेष कार्यक्रमकाबीच सम्मानपूर्वक बिदाइ गरेको छ । नगर कार्यपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रम आत्मीय, भावुक र प्रेरणादायी वातावरणमा सम्पन्न भएकाे थियाे ।

    images
    images
    images

    नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख, जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति कार्यक्रमको गरिमा झल्काउने खालको थियो । दीर्घकालीन सेवा, इमानदारी, कर्तव्यनिष्ठा र अनुशासनको प्रतीक घिताललाई कदरपत्र प्रदान गर्दै नगरपालिकाले उहाँको योगदानको उच्च मूल्याङ्कन मात्र गरेन, भावी पुस्ताका लागि प्रेरणादायी उदाहरण पनि प्रस्तुत गर्‍यो ।

    नगर प्रमुख अधिकारीले भन्नुभयो, "२९ वर्षको सेवाकालमा उहाँविरुद्ध एउटा पनि गुनासो मेयरको टेबुलमा आएको छैन भन्ने तथ्य नै ऐतिहासिक र अनुकरणीय छ ।"

    प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बि.सी.ले धितालको कार्यसम्पादनको उच्च प्रशंसा गर्दै भन्नुभयो, "मैले उहाँलाई सधैं जिम्मेवारीप्रति समर्पित, मेहनती र समयपालक कर्मचारीका रूपमा चिनें । उहाँले जुनसुकै कार्य होस्, समयमै कुशलतापूर्वक सम्पन्न गर्नुभयो । उहाँको अभाव कार्यालयमा लामो समयसम्म महसुस हुनेछ ।"

    योजना शाखा प्रमुख अनिल प्रसाद जोशीले पनि धितालको सेवाभाव र व्यवहारिकताको उल्लेख गर्दै भन्नुभयाे, "उहाँ सधैं सेवाग्राहीलाई मुस्कानसहित सेवा दिनुहुन्थ्यो । सहकर्मीलाई सानातिना कुराहरूमा समेत मार्गदर्शन गर्नुहुन्थ्यो । प्राविधिक सहायकदेखि वडा सचिव हुँदै नगरपालिकासम्म उहाँले बहुआयामिक दक्षता प्रदर्शन गर्दै सेवा प्रभावकारी बनाउनु भयो ।"

    त्यस्तै, कार्यक्रम सञ्चालक मधुसुदन मिश्रले भावुक हुँदै स्मरण गर्नुभयाे, "२०५३ सालदेखि धितालसँगै काम गर्दै विभिन्न चुनौतीपूर्ण घडीहरू पार गरियो । जनप्रतिनिधिविहीन अवस्थादेखि हालको व्यवस्थित नगरपालिकासम्मको यात्रामा सबैभन्दा बढी समय उहाँसँग बिताएको छु । यस्तो सहकर्मीलाई बिदाइ गर्दा मन निकै भारी भएको छ ।"

    कार्यक्रमको समापनमा, सेवा निवृत्त धितालले पनि २९ वर्षको सेवायात्रा स्मरण गर्दै भावनात्मक मन्तव्य व्यक्त गर्नुभयो । "टोखा नगरपालिकामा बिताएका यी वर्षहरू मेरो जीवनका अमूल्य सम्पत्ति हुन् । यस यात्रामा साथ, समर्थन र प्रेरणा दिने सबै जनप्रतिनिधिहरु, सहकर्मीहरु तथा नगरबासीहरूप्रति म आभारी छु," उहाँले भन्नुभयो।

    साविक धापासी गाविसमा २०५३ सालमा प्राविधिक सहायकको रूपमा सेवा सुरु गर्नु भएका घिताल २०६४ सालमा स्थायी नियुक्तिसँगै निरन्तर २९ वर्ष सेवा दिएर निवृत्त हुनु भएकाे हाे ।

    नगरपालिकाले धितालको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्दै, यस्तो सम्मान कार्यक्रमले सेवामा रहेका कर्मचारीहरूमा समेत उत्साह र प्रेरणा थप्ने विश्वास व्यक्त गर्‍यो । साथै, उहाँको आगामी जीवन सफल, स्वस्थ र सुखद होस् भन्ने शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरेको थियो । 

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ