काठमाडौं, नयाँबजार । काठमाडौं महानगरपालिका–१६ स्थित धारागल्लीको एउटा सानो किराना पसलभित्र ७२ वर्षीया पद्मा कुमारी सिलवालको जीवनको गहिरो र प्रेरणादायी कथा लुकेको छ । झण्डै चार दशकदेखि यही पसलमार्फत आफ्नो जीवनलाई अघि बढाउँदै आएकी पद्मा आमाको संघर्ष र समर्पण आजका पुस्ताका लागि अनुपम प्रेरणा बनेको छ ।
नुवाकोटबाट काठमाडौं आउँदा उहाँसँग थिए केवल हिम्मत र आत्मविश्वास । पद्मा सिलवाल आमाले सुरुमा भाडामा कोठा लिएर सानो किराना पसल सुरु गर्नुभयो । चिया, दुध, दुनाेट, आलुचप, गरामरी, स्वारी, तरकारी चना, सेल, जेरीजस्ता घरमै बनाइएका सामग्री बेच्दै उहाँले ग्राहकसँग आत्मीय सम्बन्ध गाँस्नुभयो ।
व्यवसायमा समर्पण र इमान्दारीका कारण, भाडाको कोठाबाट सुरु भएको यो यात्रा आज आफ्नै घरमा पसल राख्ने सम्म आइपुगेको छ। उमेरले ७२ नाघिसक्दा पनि पद्मा आमा अझै बिहानै उठेर पसल खोल्ने, ग्राहकको सेवा गर्ने काममा उस्तै जोशका साथ लाग्नुहुन्छ । श्रीमान लक्ष्मीराज सिलवालको साथ र सन्तानहरूको माया उहाँको यात्रामा थप ऊर्जा बनिरहेको छ ।
पद्मा आमाका दुई छोरामध्ये एक छोराको परिवार अष्ट्रेलियामा बसोबास गर्नुहुन्छ भने एक छाेरा नेपालमा । आमाले तीनपटक अष्ट्रेलिया भ्रमण गर्नुभएको छ । त्यहाँ सन्तान र नातिनातिनीहरूसँग समय बिताउँदा आनन्दित त हुनुहुन्छ तर उहाँको मन भने सधैं आफ्नो देश, पसल र समाजमै बाँधिएको हुन्छ ।
"देशको माटोमा काम गरेर बाँच्न पाइयो भने, त्योभन्दा ठूलो खुसी के हुन सक्छ र?" उहाँको यो भनाइ आजको समयमा अझ सान्दर्भिक र प्रेरणादायी लाग्छ । पद्मा आमाको जीवन एक उदाहरण हो, जहाँ आत्मनिर्भरता, परिश्रम र स्वदेशप्रेमले जीवनलाई सार्थक बनाउँछ। उहाँजस्ता आमाहरूको योगदानले हाम्रो समाजलाई आत्मनिर्भर र संवेदनशील बनाउने दिशामा डोर्याउँछ ।
पसलबाट मात्र होइन, घरमै बनाइएका जेरि, स्वारी, तरकारी चना बेचेर आमाले वार्षिक करिब ६०,००० रुपैयाँ खुद नाफा कमाए भन्दै खुसि व्यक्त गर्नुभयाे । अझ काठमाडौंजस्तो महँगो शहरमा १० रुपैयाँमै चिया बेच्ने उहाँको निष्ठा साँच्चिकै अद्वितीय छ । १० रुपैयाँमा चिया ? काठमाडौंमा आजकाल कहाँ पाइन्छ र यस्तो सेवा, यस्तो निष्ठा ? यो केवल व्यवसाय होइन—उहाँको स्वावलम्बन, समाजप्रेम र संस्कारप्रतिको समर्पणको प्रतीक होला ।
पद्मा कुमारी सिलवाल आमाको जीवनले देखाउँछ—आत्मनिर्भरता, परिश्रम र स्वदेशप्रेमले जीवनलाई कति सार्थक र प्रेरणादायी बनाउन सक्छ । उहाँजस्ता आमाहरूको न्यानो योगदानले हाम्रो समाज आत्मनिर्भर, संवेदनशील र मानवीयताले भरिपूर्ण बन्ने दिशामा अघि बढ्दछ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


