ललितपुर । काठमाडौं, जेठ ९ , दक्षिण एसियाकै पहिलो स्वतन्त्र तथा सामुदायिक रेडियो, रेडियो सगरमाथा १०२.४ मेगाहर्ज २९ वर्षे यात्रामा प्रवेश गरेको छ । सही सूचना, अभिव्यक्ति स्वतन्त्रता, र सामाजिक उत्तरदायित्वमा केन्द्रित यस सामुदायिक रेडियो, रेडियो सगरमाथाले २९ औं वार्षिकोत्सव विशेष कार्यक्रमको आयोजना गर्दै समाज रूपान्तरणमा खेलेको भूमिकाको गौरवपूर्वक स्मरण गरियो।
सो अवसरमा शुभकामना सन्देशमार्फत राष्ट्रपति रामचन्द्र पौडेलले २९ वर्षदेखि निरन्तर रूपमा सामाजिक न्याय, लैंगिक समानता, विधिको शासन र लोकतन्त्रको प्रवर्द्धनमा रेडियो सगरमाथाले खेलेको भूमिकाको प्रशंसा गर्दै यसलाई ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमले नवीनतम सोच र प्रविधिबाट सुसूचित समाज निर्माणमा भूमिका खेल्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार पार्न रेडियो सगरमाथाजस्ता सञ्चार माध्यमहरू क्रियाशील हुनुपर्ने विश्वास व्यक्त गर्नुभयो।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सन्देशमार्फत देशको सन्तुलित तथा दिगो आर्थिक विकासमा रेडियो सगरमाथाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले दक्षिण एसिया र नेपालको सामुदायिक सञ्चारमा रेडियो सगरमाथाले नेतृत्वदायी भूमिका खेलेको स्मरण गर्दै सामुदायिक रेडियो प्रवर्द्धनमा सरकार सधैं सहयोगी रहने विश्वास दिलाउनुभयो। चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओली लगायतका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देशमार्फत २९ वर्षे यात्रामा रेडियो सगरमाथाले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
२९ औं वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सामुदायिक रेडियोहरूले डिजिटल प्रतिस्पर्धालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउनुभयो। शैक्षिक जागरणमा रेडियोको भूमिका उल्लेखनीय रहेको भन्दै मन्त्री पन्तले रेडियो सगरमाथाले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। सो अवसरमा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले लोकतन्त्र र गणतन्त्रको सुदृढीकरणमा रेडियो सगरमाथाको भूमिका उल्लेखनीय रहेको बताउनुभयो।
सगरमाथाको यात्रा र उद्देश्यबारे बोल्दै रेडियो सञ्चालक समितिका अध्यक्ष डा. घमराज लुइँटेलले रेडियो सगरमाथाले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक न्याय प्रवर्द्धनमा स्पष्ट दृष्टिकोणका साथ निरन्तर काम गर्दै आएको बताउनुभयो। अध्यक्ष लुइँटेलले विशेषतः संकटका बेला रेडियोले खेलेको भूमिकालाई स्मरण गर्दै डिजिटल रूपान्तरणको आवश्यकतासमेत औँल्याउनुभयो।नेपाल वातावरण पत्रकार समूहका उपाध्यक्ष टिका वन्धन ले रेडियो सगरमाथालाई अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नुपर्ने र त्यसको पहल नेवापस ले गर्ने बताउनु भयो । स्टेशन म्यानेजर उर्वसी बस्न्यातले आजको डिजिटल युगमा गलत सूचना, भ्रम र फेक न्यूजको प्रवाहबीच रेडियो सगरमाथाले सत्य, सन्तुलित र प्रमाणमा आधारित सामग्री प्रस्तुत गर्दै आएको बताउनुभयो । स्टेशन म्यानेजर बस्न्यातले रेडियो सगरमाथालाई स्वतन्त्र र सामुदायिक सञ्चारको सम्पदाका रूपमा संरक्षण र विकास गर्दै जानुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा वक्ताहरूले यसले स्थापित गरेका मापदण्डहरू अनुकरणीय रहेको, र डिजिटल युगको चुनौतीसँग जुध्न नवप्रवर्तनशील बन्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा त्रिभुवन विश्वविद्यालय आम सञ्चार तथा पत्रकारिता विभाग प्रमुख डा. कुन्दन अर्याल, अमार्क एसिया प्यासिफिक क्षेत्रीय निर्देशक सुमन बस्नेत, सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष अर्जुन गिरी, नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला, र लगायतका व्यक्तित्वहरूको उपस्थिति थियो।
२९ वर्षको यात्रामा सत्य सूचना, सामाजिक समावेशिता, र नागरिक सशक्तिकरणको अडानमा अडिग रहँदै आएको रेडियो सगरमाथा आज सामाजिक रूपान्तरणको सशक्त माध्यमका रूपमा पहिचान स्थापित गर्न सफल भएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


