काठमाडौं । पशु कल्याण ऐनको निर्माण र कार्यान्वयनका लागि लामो समयदेखि संघर्षरत संस्था ‘स्नेहाज केयर’ले ऐन चाँडोभन्दा चाँडो जारी होस् भन्ने उद्देश्यले विभिन्न सरकारी निकायहरूसँग सक्रिय संवाद जारी राखेको छ ।
केही दिनअघि स्नेहाज केयरले पशु कल्याण ऐनका विषयमा कृषि तथा पशुपंक्षी विकास मन्त्री माननीय रामनाथ अधिकारीज्यूको विशेष उपस्थितिमा एक महत्वपूर्ण छलफल कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा पशु अधिकारको सुनिश्चितता र ऐनको अविलम्ब कार्यान्वयनका लागि गहन छलफल गरिएको थियो। हाल पशु कल्याण विधेयकको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा विचाराधीन अवस्थामा रहेको छ ।
यस विषयमा संस्थाले माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री अजय कुमार चौरसियासँग भेट गरी विधेयकलाई यथाशिघ्र अन्तिम रूप दिन अनुरोध गरेको छ । मन्त्री चौरसियाले कानुन निर्माणप्रति आफ्नो गम्भीर प्रतिबद्धता जनाउँदै मन्त्रालयले शीघ्र विधेयक टुंगोमा पुर्याउने आश्वासन दिनुभएको छ ।
स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले भन्नुभयो “यो ऐन हाम्रो देशको पशु अधिकार संरक्षणतर्फको एउटा कोसेढुंगा हुनेछ। वर्षौंदेखि हामीले देख्दै आएका दुर्व्यवहार र पीडाबाट पशुलाई जोगाउन कानुनी संरचना अत्यावश्यक भइसकेको छ । हामीले सरकारका सबै सम्बन्धित निकायहरूसँग निरन्तर संवाद गरिरहेका छौँ, र सबै पक्षबाट पाइरहेको सकारात्मक सहयोगप्रति हामी आभारी छौं”।
यसैक्रममा पशु कल्याणका सवालमा निरन्तर साथ र सहयोग पुर्याउँदै आउनुभएका ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनप्रति संस्था स्नेहाज केयरले विशेष आभार व्यक्त गरेको छ । ललितपुर महानगरपालिकाको सकारात्मक तथा रचनात्मक सहकार्य पशु अधिकार प्रवर्धनको मार्गमा उदाहरणीय बन्दै आएको संस्थाकी अध्यक्ष श्रेष्ठ बताउँनुहुन्छ ।
स्नेहाज केयरले पशुप्रतिको सहानुभूति, उत्तरदायित्व र कानुनी संरचनाको विकासमार्फत नेपालमा पशु कल्याणको सुनिश्चितता गर्ने अभियानमा आफू निरन्तर सक्रिय रहने श्रेष्ठकाे भनाई छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


