काठमाडौं, जेठ २६ । “सद्भाव, भाइचारा र एकता परिवार बन्धुत्वको आवश्यकता!” भन्ने मूल नारालाई आत्मसात् गर्दै परियार सेवा समाजले आफ्नो ३० औं स्थापना दिवस भव्य कार्यक्रमसहित काठमाडौंको बबरमहलस्थित नेपाल निजामती कर्मचारी संगठनको सभाहलमा उत्सवमय वातावरणमा सम्पन्न गरेको छ ।
कार्यक्रमको अध्यक्षता परियार समाजका केन्द्रीय अध्यक्ष नारायण परिश्रमी परियारले गर्नुभएको यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा स्वस्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदिप पौडेल, विशेष अतिथि संस्थापक अध्यक्ष तथा पूर्व माननीय ऋषिबाबु परियार रहनु भएकाे थियाे ।
कार्यक्रममा विशिष्ट व्यक्तित्वहरू, समाजसेवी, बुद्धिजीवी तथा देशका विभिन्न स्थानबाट आएका समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । स्वागत मन्तव्य परियार समाजका उपाध्यक्ष फत्तेमान परियारले दिनुभएको थियो । कार्यक्रमको सञ्चालन उपाध्यक्ष ओजकुमार शिवाले गर्नुभएको थियो ।
कार्यक्रममा सगरमाथा आरोही कविता नेपालीलाई सम्मान गरिएको थियो, जसले परियार समुदायको पहिचान र आत्मबललाई उच्च स्थानमा पुर्याएको भन्दै उपस्थित दर्शकदीर्घाबाट उत्साहजनक स्वागत पाउनु भएकाे थियाे ।
विशिष्ट वक्ताहरूमा डा. मित्र परियार, रणबहादुर रम्तेल, भुवानी दाहाल (अध्यक्ष, नेपाल निजामती कर्मचारी संगठन), कविता नेपाली, डम्बर पहाडी, सभासद मा. दुर्गा परियार र ऋषिबाबु परियारले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । समारोहमा वक्ताहरूले परियार सेवा समाजको ३० वर्षे योगदानको प्रशंसा गर्दै समुदायको हकअधिकार, समानता र सशक्तिकरणका लागि अझ एकताबद्ध र सक्रिय बन्नुपर्नेमा जोड दिए। सबैले समाजको आगामी यात्रामा युवा, महिला र नेतृत्व विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याउनु भयाे ।
त्यस्तै सभासद दुर्गा परियारले शुभकामना मन्तव्य राख्दै परियार समुदायको सशक्तिकरणमा परियार सेवा समाजले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्नुभयो । उहाँले जातीय समानता, सामाजिक न्याय र अवसरको पहुँचमा परियार समुदायले अझ प्रभावकारी ढंगले सहभागिता जनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयाे, “ परियार समाजले तीन दशकसम्म पुर्याएको योगदान प्रशंसनीय छ । तर हाम्रो लक्ष्य अझै टाढा छ — समावेशी संविधानको भावना अनुसार, हामी राजनीतिक, सामाजिक, आर्थिक अधिकारको सुनिश्चितताका लागि एकजुट हुनुपर्छ ।” साथै, शिक्षा, स्वास्थ्य, सीप र नेतृत्व विकासमा केन्द्रित भई नयाँ पुस्तालाई सक्षम बनाउने आवश्यकतामा पनि उहाँले जोड दिनुभयो ।
समापन मन्तव्यमा अध्यक्ष परियारले परियार सेवा समाजको ३० वर्षे यात्रालाई संघर्ष, समर्पण र सामाजिक न्यायका निम्ति सतत क्रियाशीलताको प्रतीकका रूपमा स्मरण गर्नुभयाे । उहाँले आगामी दिनमा पनि परियार समुदायको हकअधिकार, सामाजिक न्याय, समता र आत्मसम्मानका लागि समाज अझ सशक्त ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । उहाँले भन्नुभयाे, “हामीले ३० वर्षको यात्रामा जुन बीउ रोप्यौं, त्यसको फल आजको सामाजिक चेतना र एकतामा देखिएको छ । अब यो चेतनालाई परिवर्तनको आन्दोलनमा रूपान्तरण गर्न हामी अझ एकजुट, सचेत र सक्षम बन्नुपर्छ ।” उपस्थित सम्पूर्ण सदस्य, अतिथि, शुभेच्छुक तथा आयोजकहरूलाई धन्यवाद दिँदै, उहाँले परियार सेवा समाजलाई अझ सक्षम, समावेशी र परिवर्तनशील बनाउने अपिल पनि गर्नुभयाे ।
३० औं स्थापना दिवसको कार्यक्रम केवल उत्सव मात्र होइन, समाजको इतिहास, पहिचान र भविष्यको दिशालाई उजागर गर्ने प्रेरणादायी क्षण बनेको छ । ३० वर्षको यात्राले परियार सेवा समाजलाई समुदाय सशक्तिकरणको यात्रामा अग्रणी बनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


