Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ हेमबहादुर मल्ल सम्मानबाट सम्मानित, अर्थतन्त्रको विकासमा साल्ट ट्रेडिङ क्रियाशिलः अध्यक्ष श्रेष्ठ


ग्लोबल पाना
बिहीबार , असार २६ २०८२
  • 288
    SHARES

  • images
    पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ हेमबहादुर मल्ल सम्मानबाट सम्मानित, अर्थतन्त्रको विकासमा साल्ट ट्रेडिङ क्रियाशिलः अध्यक्ष श्रेष्ठ

    काठमाडौं । पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान–२०८०’ बाट सम्मानित भएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा स्थापित यो सम्मान नेपाल जनप्रशासन संघले श्रेष्ठलाई प्रदान गरेको हो । काठमाडौंमा एक विशेष समारोह गरी बिहीबार अभिनन्दनपत्रसहित नगद दुई लाख रुपैंयाले श्रेष्ठलाई सम्मान गरिएको हो । सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतको उपस्थितिमा श्रेष्ठलाई सम्मान प्रदान गरिएको हो ।

    images
    images
    images

    प्रधानन्यायाधीश राउतले कल्याण श्रेष्ठले न्याय र कानुन क्षेत्रमा पुर्याएको योगदान न्यायिक जगतको सम्पति हो र त्यो सम्पदाको रुपमा रहेको छ भनेर सम्झिए । न्यायिक नेतृत्व र संस्थागत विकासमा पुर्याएको योगदानको कदरस्वरुप श्रेष्ठलाई सम्मान गरिएको हो । केदारभक्त माथेमादेखि डा. भेष बहादुर थापासम्म उत्कृष्ट २० व्यक्तित्वहरु यस सम्मानबाट यसअघि सम्मानित भइसकेका छन् । कानुन र राजनीतिशास्त्रमा औपचारिक शिक्षा प्राप्त गरी जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतको न्यायाधीश हुँदै कल्याण श्रेष्ठ मुलुकको २५औं प्रधान न्यायाधीश बनेका थिए ।

    दशवर्षे द्वन्दको अवसान र बृहत् शान्ति सम्झौता, संविधानसभाको निर्वाचनजस्ता घटनाहरुका बखत श्रेष्ठको न्यायिक सक्रियता विशिष्ट रहेको थियो । संक्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरण समन्यायका सवालमा उनका विचार, अडान र फैसलाहरुको ऐतिहासिक भूमिका लगायतको विशिष्ट योगदानको कदरस्वरुप श्रेष्ठलाई यो सम्मान प्रदान गरिएको हो । श्रेष्ठको चयन लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित एक सम्मान छनौट समितिले गरेको हो ।

    छनौट समितिमा नेपाल जन–प्रशासन संघका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले र पूर्व सहसचिव जीवराज कोईराला सदस्य तथा संघका निवर्तमान अध्यक्ष कृष्णहरि बास्कोटा आमन्त्रित सदस्य रहेका थिए । ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक स्व. हेम बहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको नेतृत्व तहमा रही सार्वजिक वितरण, सेवा र व्यवस्थापनमा दिएको प्रेरणादायी योगदानको कदर गर्दै उनको सम्मानमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सौजन्यमा हेमबहादुर मल्ल सम्मान वि.सं. २०५७ सालमा स्थापना भएको हो ।

    को हुन् स्वर्गीय हेमबहादुर मल्ल ?

    साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार स्वर्गीय हेमबहादुर मल्लको जन्म वि.सं. १९९५ सालमा निसिभुजी, बाग्लुङमा भएको थियो । मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनमा संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज, प्रमुख सल्लाहकार र प्रेसिडेन्ट जस्ता पदमा रहेर सेवा गरेका थिए । उनी नेशनल फाइनान्स कम्पनी लिमिटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र सुवर्ण फर्मास्युटिकल्स लिमिटेडको अध्यक्ष थिए ।

    साथै मल्ल गोरखकाली रबर उद्योग लिमिटेड, बुटवल धागो कारखाना लिमिटेड, मोरङ सुगर मिल्स लिमिटेड, नेपाल वनस्पति घ्यू उद्योग लिमिटेड, खाद्य उद्योग लिमिटेड र हितकारी गुठीको सञ्चालक थिए । यस अतिरिक्त मल्ल नेपाल चेम्बर अफ कमर्स र नेपाल व्यवस्थापन सङ्घ‌को कार्यकारी सदस्य पनि थिए । मल्लको स्वर्गारोहण वि.सं.२०५७ सालमा भएको हो। सार्वजनिक प्रशासन, व्यस्थापन र सार्वजनिक सेवामा उत्कृष्ट योगदान पुऱ्याउने व्यक्ति वा संस्थालाई हेमबहादुर मल्ल सम्मान वर्षेनि प्रदान गरिँदै आएको छ ।

    सो सम्मानबाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा. भगवान कोईराला, डा. बिमल कोईराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश प्रसाद मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्ष बहादुर न्हुच्छे प्रधान, भानु प्रसाद आचार्य र डा. भेष बहादुर थापा सम्मानित भइसकेका छन् ।

    कल्याण श्रेष्ठ यो सम्मान प्राप्त गर्ने एक्काईसौं व्यक्ति हुन् । सम्मान कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले नेपालको अर्थतन्त्र विकासमा साल्ट ट्रेडिङ कर्पोरेशन निरन्तर लागिरहेको बताएका छन् । दैनिक अत्यावश्यकीय वस्तुको आपूर्तिसहित कृषि, उद्योग, निर्माण लगायतका क्षेत्रमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताएका छन् । जनताप्रतिको उत्तरदायित्व पूरा गर्ने काममा कर्पोरेशनले सरकारको सहयोगीको भूमिका निर्वाह गरेको उनको दाबी छ । उनले नेपाल सरकारको ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ लाई प्रोत्साहन गर्ने उद्देश्यले स्वदेशी उद्योगबाट उत्पादित इन्डक्शन एवम् सोमा प्रयोग हुने उपकरणको बिक्री वितरण, कृषि क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यले अनुदानित रासायनिक मलको कारोबार, उत्पादन एवं बिक्री–वितरणको क्षेत्रमा नुन, चिनी, मैदा, पिठो, चामल, तेल, दाल लगायतका अतिरिक्त खाना पकाउने ग्यास आदि वस्तुहरुको बिक्री गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।

    श्रेष्ठले देशमा आइपर्ने प्राकृतिक प्रकोप एवम् विपत्तिको समयमा कर्पोरेशनले अत्यावश्यक वस्तुको नियमित आपूर्ति गरी कहीँ कतै समस्या उत्पन्न हुन नदिएको स्मरण गराए । सामाजिक सेवाको क्षेत्रमा पनि संस्थाले उल्लेखनीय भूमिका खेल्दै आएको सो अवसरमा जानकारी दिइयो । यता सम्मान ग्रहण गर्दै पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले स्वर्गीय हेमबहादुर मल्ले नेतृत्व गरेको साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले आधारभूत आवश्यकताका वस्तुहरुको सहज र नियमित आपूर्तिद्धारा देशबासीलाई दिएको सेवा स्मरणयोग्य र सम्झनयोग्य रहेको बताए । उनले साल्ट ट्रेडिङ लिमिटेडको संस्थागत विकास र देशधर स्तरीय सेवाका आपूर्तिको निश्चितताका निम्ति दिएको नेतृत्व सार्वजनिक वस्तु र सेवाका क्षेत्रमा कार्यरतहरुका लागि प्रेरणादयी हुनुहुन्थ्यो भनेर मल्ललाई स्मरण गरे ।

    साथै साल्ट ट्रेडिङ र जनप्रशासनलाई जनमैत्री बनाउन एवं सुशासनको माध्यम बनाउने प्रयासमा लागेका जन प्रशासन र तीनका पदाधिकारी श्रेष्ठले धन्यवाद दिए । सार्वजनिक प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापकबीचको पारस्परिक सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकारसँग सम्बन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्याकंनमा पृष्ठपोषण गर्ने उद्देश्यले वि.सं. २०४७ सालमा नेपाल जन–प्रशासन संघको स्थापना भएको हो ।

    गैर नाफामुखी पेशागत संघको रुपमा स्थापित यस संघले विगतमा जनप्रशासनका विभिन्न विधाहरुमा प्रकाशन, छलफल, अन्तरक्रिया, प्रशिक्षण जस्ता कार्यक्रमहरु आयोजना गरी त्यस्ता कार्यक्रमबाट प्राप्त भएका सुझावहरु नेपाल सरकार एवं सम्बन्धित निकायहरुमा पठाई सहयोग पुऱ्याउँदै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ