Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

देउडाबाट भजनसम्म : गायिका शान्तिकुमारी शाहीको संगीतयात्रा


ग्लोबल पाना
बुधबार, साउन ७ २०८२
  • 714
    SHARES

  • images
    देउडाबाट भजनसम्म : गायिका शान्तिकुमारी शाहीको संगीतयात्रा

    काठमाडौं । सुदूरपश्चिमको मौलिक देउडा गीतमा स्वर मिलाउँदै गायन यात्रा सुरु गरेकी शान्तिकुमारी शाही आज लोकसंगीतको स्थापित नाम बनेकी छन् । कालीकोटमा जन्मिएकी शाही हाल बैतडीलाई कर्मभूमि बनाउँदै गायनमार्फत मौलिकता, संस्कृति र समाजसेवामा सक्रिय छिन् ।

    images
    images
    images

    २०७४ सालमा औपचारिक रूपमा संगीत यात्रामा प्रवेश गरेकी शाहीले सुरुवाती दिनमा लोकप्रिय गीतहरू नक्कल गर्दै अभ्यास गरिन् । केही समयमै उनले आफ्नै मौलिक शैलीमा गाउन थालिन् र सुदूरपश्चिम तथा कर्णालीको सांस्कृतिक रङ बोकेको देउडा, झ्याउरे, सालैजो जस्ता भाकामा स्वर दिन थालिन् । ‘लाली पाउडर घसेर’, ‘गयो जोवन माइतै बसेर’, ‘कर्णालीका छालैछाल’, ‘भोटे बाइगो मुगु’, ‘कोही हुम्लाकी कोही जुम्लाकी’ लगायतका गीतमा आवाज दिएकी शाहीले ग्रामीण जीवनशैली, भूगोल र जनसंस्कृतिलाई गीतमार्फत उतार्ने प्रयास गरेकी छन् ।

    उनको गायनशैलीले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि बोकेको पाइन्छ । स्रोतामाझ चिरपरिचित बन्दै गएकी शाहीले पछिल्लो समय ‘हरिभजन’ नामक भजन सार्वजनिक गर्दै भक्तिभावका क्षेत्रमा पनि उपस्थिति जनाएकी छन् । ‘हामीकहाँ मौलिक भाका हराउँदै गएका छन्,’ शाही भन्छिन्, ‘मैले संगीतमार्फत ती भाकालाई बचाउने प्रयास गरिरहेकी छु ।

    हरेक गीतमा आफ्नो भूगोल र संस्कृति झल्काउने उद्देश्य राखेकी छु ।’ गायनसँगै समाजसेवामा पनि सक्रिय शाहीले हालै काठमाडौँमा सम्पन्न श्री पशुपति मनोकामना पूर्ति तथा संकटमोचन विराट ज्ञानमहायज्ञ कार्यक्रममा आफ्ना गीत प्रस्तुत गरेकी थिइन् । सोही अवसरमा उनले मानव सेवा फाउन्डेसनको आजीवन सदस्यता पनि ग्रहण गरिन् । लोकसंगीत संरक्षण, मौलिकता प्रवद्र्धन र सांगीतिक समाजसेवामा योगदान पुर्‍याएको भन्दै शाहीले विभिन्न राष्ट्रिय सम्मान र उत्कृष्ट गायिका अवार्ड प्राप्त गरिसकेकी छन् ।

    अहिले उनी देउडासँगै हिमाली क्षेत्रका कथाहरू समेटेर गीत बनाउने तयारीमा जुटेकी छन् । उनले आफ्नो जन्मथलो कालीकोट र कर्मथलो बैतडी दुवै क्षेत्रका भाषाहरू समेट्नेगरी नयाँ गीतहरू सार्वजनिक गर्ने योजना बनाएकी छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ