काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागको आयोजनामा २६औँ ‘मातृभाषा साहित्य श्रृङ्खला (सिर्जना, संवाद र विमर्श)’ तथा सिरुवा–जातिरि सार्वजनिक समारोह सम्पन्न भएको छ । कार्यक्रममा सदस्य–सचिव डा. धन प्रसाद सुवेदीले स्वागत मन्तव्य दिँदै मातृभाषा साहित्य श्रृङ्खलाको निरन्तरता र महत्वमाथि प्रकाश पारेका थिए ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभागृहमा सम्पन्न कार्यक्रममा मातृभाषामा कविता वाचन, सिर्जनात्मक प्रस्तुति र संवाद गरिएको थियो । कार्यक्रममा मातृभाषा साहित्यका विविध आयामबारे विद्वानहरूले विचार प्रस्तुत गरेका थिए ।
समारोहको उद्घाटन कुलपति भुपाल राईले व्यानर पाठ गरी गरेका थिए । सो अवसरमा उनले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित साझा पत्रिका ‘सिरुवा–जातिरि’ (झापा, मोरङ र सुनसरीका १० आदिवासी समुदायका भाषाहरू समेटिएको) सार्वजनिक गरेका थिए ।
समारोहमा एलिना राईले बाम्बुले राई भाषा, कर्ण दयाल सौराडीले बैतडेली भाषा, डेण्डी शेर्पाले शेर्पा भाषामा कविता वाचन गरेका थिए । साथै, कार्यपत्र प्रस्तुतकर्ता तेजेन्द्र ताजपुरियाले ताजपुरिया भाषा र डा. विष्णु कुमार सिङ्जालीले मगर ढुट भाषामा प्रस्तुति दिएका थिए । उनीहरूले मातृभाषा साहित्यको संरक्षण, प्रवर्द्धन र भविष्यका सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अध्यक्षता साहित्य (मातृभाषा) विभागका प्रमुख राजन मुकारुङले गरेका थिए । यस अवसरमा मातृभाषा साहित्यको महत्व, प्रवर्द्धन, संरक्षण र विकासका विषयमा व्यापक छलफल गरिएको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले मातृभाषा साहित्यलाई प्रोत्साहन गर्ने उद्देश्यसहित निरन्तर यस्ता श्रृङ्खला आयोजना गर्दै आएको जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


