काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (NAIMA) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय (KVTPO) बीच काठमाडौँ उपत्यकामा कार्यरत १,६५१ जना ट्राफिक प्रहरीलाई व्यवहारकुशल सीप (Soft Skills) तथा नयाँ सवारी प्रविधिबारे नियमित तालिम प्रदान गर्ने उद्देश्यसहित पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।
ट्राफिक सप्ताह २०८२ अन्तर्गत आयोजित “सडक दुर्घटना न्यूनीकरण विशेष अभियान” को उद्घाटन अवसरमा उक्त समझदारीपत्र प्रहरी महानिरीक्षक (IGP) दानबहादुर कार्की र NAIMA का बोर्ड सदस्य सौरभ ज्योतिबीच आदान–प्रदान गरिएको हो ।
समझदारीअनुसार NAIMA ले आफ्ना सदस्य कम्पनीहरूको विशेषज्ञता प्रयोग गर्दै नयाँ सवारी प्रविधि, सडक सुरक्षा, नवीन प्रविधिको प्रयोग तथा सवारी तथा यातायात प्रणालीसँग सम्बन्धित प्राविधिक विषयमा आवश्यक तालिम सामग्री, प्राविधिक स्रोत तथा विशेषज्ञ सहजीकरण उपलब्ध गराउनेछ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने तालिम कार्यक्रमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन, अनुगमन तथा गुणस्तर सुनिश्चितताको जिम्मेवारी लिनेछ ।
समझदारी कार्यान्वयनअन्तर्गत पहिलो चरणको तालिम २०८२ माघ ४ गतेदेखि सुरु हुनेछ । तालिम १७ कार्यदिन निरन्तर सञ्चालन हुनेछ, जसमा प्रत्येक सत्रमा १०० जना ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ । तालिममा तनाव व्यवस्थापन तथा ध्यान, सञ्चार र द्वन्द्व व्यवस्थापन, नयाँ सवारी साधन प्रविधिको सैद्धान्तिक तथा प्रत्यक्ष अवलोकन, ट्राफिक व्यवस्थापनका व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा आवश्यक ह्यान्ड–जेस्चर सीप लगायतका विषय समेटिएका छन् ।
तालिम सहजीकरणका लागि इन्स्टिच्युट अफ इन्जिनियरिङ (IOE) पुलचोक र थापाथली क्याम्पसका प्राध्यापकहरू, जीवन विज्ञानका प्रशिक्षकहरू, NAIMA का सदस्य कम्पनीका प्राविधिक विज्ञहरू, प्रेरणादायी वक्ता तथा जीवन प्रशिक्षक रमन भट्टराई, साथै अन्य विषय विज्ञहरूको सहभागिता रहनेछ । केही सत्रहरू ट्राफिक प्रहरीका प्रमुख तथा वरिष्ठ अधिकृतहरूले समेत सञ्चालन गर्नेछन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक (SSP) नवराज अधिकारीले ट्राफिक प्रहरीलाई नयाँ सवारी प्रविधि तथा जनसम्पर्क–केन्द्रित सेवामा निरन्तर अद्यावधिक गरिनु आवश्यक रहेको बताउनुभयो । उहाँले दीर्घकालीन सहकार्यमा NAIMA को प्रतिबद्धताको प्रशंसा गर्नुभयो ।
NAIMA अध्यक्ष ऋतु सिंह वैद्यले संस्थाको दृष्टिकोण “Empowering Growth through Mobility” अनुरूप सडक सुरक्षा प्रवर्द्धन, दक्ष मानवस्रोत विकास तथा नागरिकमैत्री सेवा प्रवाह सुधारमा यो सहकार्य महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी, NAIMA का बोर्ड सदस्य तथा रोड सेफ्टी एण्ड इन्फ्रास्ट्रक्चर इन्हान्समेन्ट कमिटीका संयोजक सौरभ ज्योतिले तालिम कार्यक्रम सडक सुरक्षा, जनचेतना र दीगो मोबिलिटी प्रवर्द्धनसँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो। NAIMA का कार्यकारी निर्देशक राजकुमार दुलालले आवश्यकता अनुसार यस्ता तालिम कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।
.gif)




 x 450 (H) Global Pana.jpeg)


