Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एघारौँ राष्ट्रिय योग दिवस माघ १ गते देशभर विविध कार्यक्रमसहित मनाइने


ग्लोबल पाना
बुधबार, पुस ३० २०८२
  • 490
    SHARES

  • images
    एघारौँ राष्ट्रिय योग दिवस माघ १ गते देशभर विविध कार्यक्रमसहित मनाइने

    काठमाडौं । स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने मूल नाराका साथ आगामी २०८२ साल माघ १ गते देशभर एघारौँ राष्ट्रिय योग दिवस विविध कार्यक्रमसहित मनाइने भएको छ । नेपाल सरकारले प्रत्येक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने निर्णयअनुसार यस वर्ष पनि संघीय, प्रदेश तथा स्थानीय तहमा व्यापक चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने भएका छन् ।

    images
    images
    images

    योग दिवसको अवसरमा माघ १ गते बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय, विभिन्न योग संस्थाहरू तथा नागरिक समाजको सहभागितामा विशेष प्रभातफेरी तथा मूल समारोह आयोजना गरिनेछ । साथै, देशभरका सार्वजनिक उद्यान, विद्यालय तथा सरकारी कार्यालयहरूमा निःशुल्क योग तथा ध्यान शिविर, अन्तरक्रिया तथा प्रवचन कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

    कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकु, काठमाडौंका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवले योगको महत्वबारे धारणा राख्दै भन्नुभयो, “योग केवल शारीरिक अभ्यास मात्र नभई मानसिक सन्तुलन र आत्मअनुशासनको वैज्ञानिक पद्धति हो । बढ्दो नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याको दीर्घकालीन समाधानका लागि योगलाई नागरिकको दैनिक जीवनशैलीमा समावेश गर्नु अपरिहार्य छ ।”

    यस्तै, कार्यक्रममा आयुर्वेद तथा योग विशेषज्ञ डा. पुनेश्वर केशरीले योगको व्यवहारिक र उपचारात्मक पक्षमाथि प्रकाश पार्दै भन्नुभयो, “आजको भागदौडयुक्त जीवनशैलीमा मानिसहरू तनाव, चिन्ता र जीवनशैलीजन्य रोगको चपेटामा परिरहेका छन् । योगले शरीर, मन र आत्मालाई सन्तुलनमा राख्दै रोगको मूल कारणमै काम गर्छ । नियमित योग अभ्यासले औषधिमाथिको निर्भरता घटाई नागरिकलाई आत्मनिर्भर स्वास्थ्यतर्फ उन्मुख गराउँछ ।”

    डा. केशरीका अनुसार योगले उच्च रक्तचाप, मधुमेह, मोटोपना, जोर्नी दुखाइ तथा मानसिक अवसादजस्ता समस्यामा सकारात्मक परिणाम दिएको छ। विशेषगरी ध्यान र प्राणायामले मानसिक शान्ति, स्मरणशक्ति र कार्यक्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका खेलेको उहाँको भनाइ छ ।

    संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेअनुरूप आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमार्फत योग सेवालाई पनि आधारभूत स्वास्थ्य सेवाको अभिन्न अङ्गका रूपमा विस्तार गरिएको छ । हाल देशभरका आयुर्वेद स्वास्थ्य संस्थाहरूबाट प्रवर्द्धनात्मक तथा उपचारात्मक (थेराप्युटिक) योग सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ।

    आर्थिक वर्ष २०८१/८२ मा मात्रै देशभरका आयुर्वेद स्वास्थ्य संस्थाबाट २१ लाख ९० हजारभन्दा बढी नागरिकले योग सेवा लिएको तथ्याङ्कले योगप्रतिको बढ्दो जनविश्वास पुष्टि गरेको छ । योगलाई नागरिकको जीवनपद्धति बनाउने उद्देश्यले विद्यालय आयुर्वेद तथा योग कार्यक्रम र ७५३ वटै स्थानीय तहमा सञ्चालनमा रहेका नागरिक आरोग्य सेवा केन्द्रहरूमार्फत नियमित योग सेवा प्रवाह भइरहेको छ ।

    यसले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म योगको पहुँच विस्तार गर्दै स्वस्थ समाज निर्माणमा टेवा पुर्‍याएको आयोजकहरूको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ