सर्लाही । आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट नारायणकाजी श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् । उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले यो निर्वाचन ‘जेन–जी आन्दोलन’ पछिको विशेष राजनीतिक परिस्थितिमा हुन लागेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षा, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर आफू चुनावी मैदानमा उत्रिएको बताए ।
देश अहिले अग्रगमन र प्रतिगमन तथा राष्ट्रिय स्वाधीनता र आत्मसमर्पणवादबीचको संघर्षको चरणमा रहेको उल्लेख गर्दै उनले यस निर्वाचनले वैदेशिक हस्तक्षेप र प्रतिगमनलाई परास्त गर्ने ऐतिहासिक जिम्मेवारी बोकेको बताए । रोजगारी, स्वास्थ्य, शिक्षा र सुशासन आजका प्रमुख राष्ट्रिय कार्यभार भएको उनको भनाइ छ । सर्लाहीका जनताको अनुरोध स्वीकार गर्दै उम्मेदवारी दिएको बताउँदै श्रेष्ठले २०७० सालमा पनि यही क्षेत्रबाट उम्मेदवारी दिन आग्रह भए पनि यसपटक मात्रै सम्भव भएको स्पष्ट पारे ।
लामो समयदेखि सर्लाहीमा पार्टी काम र उत्पीडित वर्गको पक्षमा संघर्षमा संलग्न रहँदै आएको उनको दाबी छ । तराई–मधेशको विविध सामाजिक संरचनालाई राष्ट्रिय एकताको आधारका रूपमा उल्लेख गर्दै आर्यखस, जनजाति, मधेशी, मुस्लिम, दलितलगायत सबै समुदायबीचको एकताबाट मात्रै देश बलियो बन्ने उनले बताए । सर्लाही तथा समग्र मधेशको विकासमार्फत देशलाई समृद्धिको दिशामा अघि बढाउने प्रतिबद्धता पनि उनले जनाए ।
आफ्नो राजनीतिक जीवन पारदर्शी रहेको दाबी गर्दै श्रेष्ठले भ्रष्टाचार, अनियमितता र जनहितविरुद्ध कहिल्यै सम्झौता नगर्ने स्पष्ट पारे। मजदूर, किसान, श्रमिक, दलित, महिला, जनजाति, मधेशी, मुस्लिम, थारु लगायत सबै उत्पीडित वर्ग र समुदायको पक्षमा सधैं संघर्षरत रहने उनको प्रतिबद्धता छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


