काठमाडौं । मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध प्रभावकारी काम गर्दै आएको सामाजिक संस्था आफन्त नेपाल (KIN Nepal) ले विगत १९ वर्षदेखि नेपाल–भारत सीमा क्षेत्रमा निगरानी केन्द्र स्थापना गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ । संस्थाले सीमा क्षेत्रमा हुने मानव बेचबिखनका जोखिम न्यूनीकरणका लागि निगरानी, सूचना सम्प्रेषण, उद्धार तथा परामर्श सेवा प्रदान गर्दै आएको छ ।
साथै उद्धार गरिएका महिला तथा किशोरीहरूका लागि सुरक्षित आवास, मनोसामाजिक विमर्श, कानुनी सहायता, व्यवसायिक सीप विकास तालिम लगायतका सेवाहरू उपलब्ध गराउँदै उनीहरूको पारिवारिक पुनर्मिलन र सामाजिक पुनर्स्थापना सुनिश्चित गर्दै आइरहेको छ । आफन्त नेपालले केवल सीमा क्षेत्रमै सीमित नरही आन्तरिक, सीमापार तथा तेस्रो मुलुकबाट मानव बेचबिखन तथा ओसारपसारमा परेका वा जोखिममा रहेका महिला तथा किशोरीहरूलाई उद्धार गरी स्वदेश फिर्तीमा सहयोग गर्दै आएको जनाएको छ ।
यसै अभियानको निरन्तरतामा नेपाली राजदूतावास, नयाँ दिल्लीद्वारा आयोजित ‘श्रमिक सचेतना तथा मानव बेचबिखन विरुद्ध अभिमुखीकरण कार्यक्रम’ मा आफन्त नेपालले सह–आयोजकको रूपमा सहभागिता जनाएको थियो । भारतको बैंगलोरमा सम्पन्न उक्त कार्यक्रममा आफन्त इन्डिया फाउन्डेसन र आफन्त नेपाल (KIN) को सहकार्य रहेको थियो ।
संस्थाले मानव बेचबिखन अन्त्यका लागि सरकारी निकाय, कूटनीतिक मिशन, नागरिक समाज र अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गर्दै सुरक्षित, सम्मानजनक र अधिकारमुखी समाज निर्माणमा आफ्नो प्रतिबद्धता निरन्तर कायम राख्ने जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


