Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सुरक्षित आप्रवासन तथा मानव बेचबिखन नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम बैंगलोरमा सम्पन्न


ग्लोबल पाना
आइतबार, माघ ११ २०८२
  • 942
    SHARES

  • images
    सुरक्षित आप्रवासन तथा मानव बेचबिखन नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम बैंगलोरमा सम्पन्न

    काठमाडौं । सुरक्षित आप्रवासन र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम माघ १०, २०८२ (जनवरी २४, २०२६) मा भारतीय विद्या भवन, बैंगलोरमा सम्पन्न भएको छ । कार्यक्रम नेपाल सरकार तथा नेपाली राजदूतावास, नयाँ दिल्लीको आयोजनामा तथा आफन्त नेपाल र आफन्त इन्डिया फाउन्डेसनको सह–आयोजनामा सम्पन्न भएको हो ।

    images
    images
    images

    कार्यक्रमको अध्यक्षता आफन्त इन्डिया फाउन्डेसनका निर्देशक बिनोद खातीले गर्नुभएको थियो । प्रमुख अतिथिका रूपमा नेपाली राजदूतावास, नयाँ दिल्लीका मिनिस्टर/डेपुटी चिफ अफ मिसन डा. सुरेन्द्र थापा सहभागी हुनुहुन्थ्यो । विशेष अतिथिमा मिनिस्टर काउन्सिलर अम्बिका जोशी, नेपाल प्रहरीका एसएसपी प्रकाश मल्ल, काउन्सिलर भेषप्रसाद भुर्तेल तथा सूचना अधिकारी दीपक घिमिरेको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा कर्नाटक राज्यबाट प्रोफेसर सपना ऐअर, ग्लोबल आइएमई बैंकका चिफ रिप्रेजेन्टेटिभ अफिसर प्रज्वल नकर्मी, प्रोफेसर शिवशंकर शाह तथा कृपानिधि कलेजका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो। साथै बैंगलोरस्थित विभिन्न नेपाली संघ–संस्थाहरू—अखिल भारत नेपाली एकता समाज, नेपाली एकता समाज भारत, नेपाली जनसम्पर्क समिति, प्रगतिशील नेपाली जनसमिति समाज, पशुपतिनाथ नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली संघ, जनशक्ति फाउन्डेसन, सुरमा समाज भारत, डा. अम्बेडकर समाज, नेपाल–इन्डिया फाउन्डेसन, सचेत भारतीय गोरखा समाज, ग्लोबल गोरखा टाइम्स, प्रवास मानव सेवा समाज, सुदूरपश्चिम जनकल्याण समिति, भारत–नेपाल ट्रस्ट, प्रवासी नेपाली एकता मञ्च, सुदूरपश्चिम जनउत्थान नेपाल–भारत ट्रस्ट, प्रवासी नेपाली कल्याणकारी च्यारिटेबल ट्रस्ट, भारतीय गोरखा कल्याणकारी संस्था, शिखर खबरलगायतका संस्थाका प्रमुख/प्रतिनिधि, विद्यार्थी र पत्रकार गरी १०० भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो ।

    ग्लोबल आइएमई बैंकका चिफ रिप्रेजेन्टेटिभ अफिसर प्रज्वल नकर्मीले नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको महत्व, बैंकिङ कारोबारका फाइदा, खाता सञ्चालन तथा सुरक्षित रूपमा रेमिट्यान्स नेपाल पठाउने प्रक्रिया र समस्या परेमा बैंकसँग सम्पर्क गर्न सकिने विषयमा जानकारी दिनुभयो । आफन्त नेपालका कार्यकारी निर्देशक एलिसन पाण्डेले मानव बेचबिखनको स्वरूप र बदलिँदो अवस्था, आप्रवासनमा देखिने जोखिम, भारतमुखी श्रम आप्रवासनका सवाल, नेपालीले गर्ने काम र भोग्नुपरेको विभेद, पैरवी, श्रम आप्रवासनको आवरणमा हुने बेचबिखन नियन्त्रणमा संघ–संस्थाको भूमिका, समन्वय तथा सहकार्य र प्रभावितहरूको दिगो पुनर्स्थापना विषयमा प्रस्तुति दिनुभयो ।

    आफन्त इन्डिया फाउन्डेसनका निर्देशक बिनोद खातीले भारतमा भएका मानव बेचबिखन तथा ओसारपसारका घटनाहरू, पीडितहरूको उद्धार, परामर्श र कानुनी सेवा, स्वदेश फिर्ती तथा पुनर्स्थापना प्रक्रिया र आर्थिक सशक्तिकरणका पहलहरूबारे जानकारी गराउनुभयो । मिनिस्टर काउन्सिलर अम्बिका जोशीले भारतमा नेपाली महिलाको ओसारपसार र बेचबिखनको पृष्ठभूमि तथा वर्तमान अवस्था, देखिएका समस्याहरू र समाधानका लागि कूटनीतिक तहबाट भइरहेका प्रयासहरू, भारतीय कानुन र संस्कृतिको सम्मानसहित नेपाली नागरिकका कर्तव्य र जिम्मेवारीबारे प्रकाश पार्नुभयो ।

    नेपाल प्रहरीका एसएसपी प्रकाश मल्लले भारतमा नेपालीहरूको ऐतिहासिक सहकार्य, बसोबासको अवस्था, भारतीय कानुनको सम्मान, अपराधजन्य क्रियाकलापबाट टाढा रहनुपर्ने आवश्यकता, पहिचानपत्र नहुँदा आउने समस्या, दूतावासको पहल, डिजिटल तथा भौतिक माध्यमबाट समस्या समाधानका प्रयास, मानव अंग प्रत्यारोपणका लागि आवश्यक कागजात तथा प्रक्रियाबारे जानकारी दिनुभयो ।

    साथै लोभ–प्रलोभनमा नपर्न र समस्या परेमा नेपाली राजदूतावाससँग सम्पर्क गर्न आग्रह गर्नुभयो। प्रमुख अतिथि डा. सुरेन्द्र थापाले सहभागीका जिज्ञासाको समाधान गर्दै भारतीय विमानस्थलबाट आप्रवासन प्रक्रिया, आवश्यक कागजात, मानव अंग प्रत्यारोपणका मापदण्ड, भारतमा मृत्यु भएमा नेपाल लैजाने प्रक्रिया, भारतमा जन्मिएका नेपाली बालबालिकाको परिचयपत्रसम्बन्धी व्यवस्था तथा भविष्यमा सरकारले अवलम्बन गर्नुपर्ने रणनीतिबारे धारणा राख्नुभयो। कार्यक्रमको सञ्चालन सह–आयोजक आफन्त नेपालका तर्फबाट रविन्द्र सापकोटाले गर्नुभएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ