Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान सिफल उकालोमा स्मृति सभा सम्पन्न


ग्लोबल पाना
मंगलबार, माघ १३ २०८२
  • 203
    SHARES

  • images
    माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान सिफल उकालोमा स्मृति सभा सम्पन्न

    काठमाडौं । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानमा स्मृति सभा गरिएको हो । आज सभा गरिएको स्थानभन्दा करिब ५ मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिक स्थापना गरिएको थियो ।

    images
    images
    images

    सडक विस्तारका क्रममा शालिक भत्काउनु पर्ने भएपछि सालिकलाई साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो । यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो । यस स्थानलाई सुधार गर्दै महानगरले २०७६ सालमा पूर्ण कदको सालिकसहित पूर्वाधार विकास गरेको छ ।

    यही स्थानमा स्मृति सभा गरिएको हो । सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सहिद सप्ताह मूल समारोह समितिका संयोजक एवं काठमाडौँ महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलले, विगतको शासनमा नागरिकले भोग्नु परेका क्रुरता, असमानता तथा कुष्ठित अवस्था नवपुस्ताले अनुभूति गर्नु नपरोस् भन्नका लागि सहिदको संघर्ष र बलिदानी म्सरण गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

    माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेल्नु भएको भूमिका र सामाजिक रुपान्तरणमा पु¥याउनु भएको योगदानको चर्चा गर्दै डंगोलले भन्नुभयो, ‘माथेमामा राजनीतिक चेतना थियो । उहाँ शारीरिक सुगठन (व्यायाम) का प्रवर्धक हुनुहुन्थ्यो । राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुस शासनविरुद्ध संघर्ष गर्ने उहाँको आँट युवाहरुले सिक्नु पर्ने पाठ हो । स्मरण गर्नु पर्ने इतिहास हो ।

    शासकसँगको सम्बन्धका कारण व्यक्तिगत रुपमा उहाँलाई सुख सुविधा सबै प्राप्त हुन सक्थ्यो । त्यो सुख सयल त्यागेर नागरिक स्वतन्त्रताका लागि ज्यान दिन तयार हुनुभयो । उहाँको बलिदानीका कारण आज हामी मनमा लागेका कुरा यहाँ उभिएर बोलिरहेका छौँ ।’ सभामा वडा नं. ७ का अध्यक्ष बिमल होडाले, असल शासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदहरुको सपना पूरा हुने बताउनुभयो । अधिकार प्राप्तिको इतिहास जोगाइ राख्न माथेमाले सहादत प्राप्त गर्नु भएको स्थानको संरक्षणका लागि गुरुयोजना बनाएर काम थालिएको उहाँको भनाइ थियो ।

    नवपुस्तालाई सहिदहरुको आदर्श बुझाउन पाठ्यपुस्तकमा विषय राखेर अध्ययन गराउनुपर्छ । सभामा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. केदारभक्त माथेमाले भन्नुभयो, ‘आदर्श बुझाउन सकिएन भने मानव अधिकार र नागरिक स्वतन्त्रता पटक पटक संकटमा पर्छ ।’ ‘माथेमा काजी परिवारको हुनुहुन्थ्यो, उहाँलाई नपुग्दो केही थिएन । उहाँ दरवारभित्रैको पहुँचवाला हुनुहुन्थ्यो । उहाँले आफ्नो सम्पन्नताभन्दा नागरिकको स्वतन्त्रता र समृद्धिलाई महत्व दिनुभयो । यतिसम्म कि प्राण नै दिनुभयो ।’

    माथेमा गुठीका अध्यक्ष नरेशभक्त माथेमाले भन्नुभयो, ‘राजनीतिमा स्वार्थ हुँदैन भन्ने योभन्दा गतिलो अरु प्रमाण के चाहिन्छ? यसलाई अहिलेको राजनीतिक कार्यकर्ताले महसुस गर्नुपर्छ ।’ शारिरीक सुगठन प्रतियोगितमा बंगाल च्याम्पियन हुनु भएका माथेमा राज त्रिभुवनका व्यायाम शिक्षक हुनुहुन्थ्यो । राजासँगको यो सम्बन्धका कारण वि. सं. १९९४ मा उहाँले राजालाई समेत प्रजा परिषदको सदस्य बनाउनुभएको थियो ।

    वि. सं. १९९३ जेठ २० गते माथेमाकी फुपूको घर जोरगणेश ओमबहाल टोलमा धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य, रामहरि शर्मा, दशरथ चन्द, र जीवराज शर्माले प्रजातन्त्र प्राप्तिको संयुक्त प्रतिवद्धताका साथ प्रजा परिषद गठन गर्नुभएको थियो । वि. सं. १९९७ साल माघ १३ गते, काठमाडौँको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर उहाँलाई प्राणदण्ड दिइएको थियो । उहाँ बलियो भएकोले झुण्ड्याउने क्रममा रुखको हाँगो भाँचिएको थियो ।

    ३ पटकसम्म प्रयास गरेपछि मात्र उहाँलाई सहादत प्राप्त भएको थियो । त्यस बेला उहाँ ३१ बर्षको मात्र हुनुहुन्थ्यो । वि. सं. १९६६ साल आश्विन ९ गते काठमाडौंको ओमबहाल, नवहिलमा जन्मनु भएका माथेमालाई तत्कालीन शाशकहरुको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कार्तिक २ गते पक्राउ गरिएको थियो ।

    तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो । माथेमाकी बहिनी मेनका देवीको विवाह शुक्रराज शास्त्रीसँग भएको थियो । प्रजा परिषदका गतिविधि सञ्चालन गर्ने क्रममा शास्त्रीसँग माथेमाको भेट भएको थियो ।

    धर्मभक्तले प्रतिवन्धित समयमा राणाहरुको स्वीकृति नलिइ घरको छिँडीमा विद्यालय खोलेका थिए । फुपूको घरमा युवाहरुलाई व्यायाम सिकाउने ठाउँ बनाएका थिए । यो तुच्छ नश्वर सरीरको आहुति मातृभूमिको बलिवेदीमा चढाउन पाएकोमा मेरो जन्म सार्थक भएको ठान्छु । प्राणदण्ड पाउनु अहोभाग्य । — धर्मभक्त

    माथेमा देश र जनताको भलाईको निमित्त आफ्नो ज्यान अर्पण गर्दैछु । प्रजातन्त्र ल्याउने कार्यको निम्ति तपाईँहरु सदैव कटिवद्ध हुनुहुनेछ । — धर्मभक्त माथेमा

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ