काठमाडौं । सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौँको लैनचौरस्थित सहिद पार्कमा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा स्मृति सभा गरिएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सम्पन्न सभामा नेपाली सेनाको टुकडीले सहिद सलामी अर्पण गरेको थियो । त्यस क्रममा प्रधानमन्त्री शुशिला कार्कीले सहिद स्तम्भमा पुष्पाहार अर्पण गर्नुभएको थियो ।
यस्तै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, गृहमन्त्री ओमप्रकाश अर्याल, मन्त्रीहरु, नेपाल सरकारका सचिवहरु, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, कर्मचारीसहित सर्वसाधारणले स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । स्मृति सभा सुरु हुनु अघि शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरी जमल, कान्तिपथ, केशरमहलहुँदै लैनचौर पुगेको थियो ।
सभामा स्मृति मन्तव्य राख्दै मूल समारोह समितिका संयोजक एवं महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले, सप्ताहव्यापी कार्यक्रममा सम्पन्न कार्यक्रमका बारेमा जानकारी दिँदै सहिदहरुको समर्पण र सपनालाई साकार बनाउन एकीकृत योजना आवश्यक रहेको उल्लेख गर्नुभयो । ‘उहाँहरुको बलिदानीबाट प्राप्त नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण र समावेशी लोकतन्त्र जोगाउन सबैको सहभागिता र साझा मत आवश्यक परेको छ ।
राष्ट्रियता र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गरेका सहिदहरु विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक भएको वास्तविकता पुस्तान्तरण गर्नुपर्ने बेला आएको छ ।’ ‘सहिदहरुको योगदान स्मरण गर्दै महानगरपालिकाले संरचना निर्माण गर्ने तथा सहिदकै नाममा सेवा सञ्चालन गर्ने काम गरिरहेको छ । धर्मभक्त पार्क, सहिद गंगालाल हृदय रोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना र सञ्चालन सहिदका नाममा महानगरपालिकाले गरेका काम हुन् ।’ उहाँको भनाइ थियो ।
हुुकुमी शासनको अन्त्य, जनताको स्वतन्त्रता र स्वाधीनताका लागि सहिदहरुले व्यक्तिगत सुख, सुविधा त्यागेर प्राण आहुती गरेपछि प्राप्त भएको अवस्था अहिले हामीले भोग गरिरहेका छौँ । त्यसका लागि संघर्षरत योद्धाहरुले माफी मागेर शाशक सामु झुक्नुभन्दा प्रजातन्त्र, सुशासन र लोकतन्त्रका लागि विभिन्न काल खण्डमा प्राणाहुति गर्नुभएको छ । सन्ततिको स्वतन्त्रता र शासनमा नागरिक सर्वोच्चताको आकांक्षा राखेर प्राण दिने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा हरेक बर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई सहिद सप्ताहका रुपमा मनाइदै आएको छ ।
वि. सं. २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ । यस बर्ष माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गर्नुभएको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थान सिफल उकालोमा र १५ गते विष्णुमती नदी किनारा शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गर्नुभएको स्थान रहेका सहिदहरुका सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो । ४ सहिदका सालिकमध्ये महानगरपालिकाले २०७५ सालमा शास्त्रीको र २०७६ सालमा माथेमा, श्रेष्ठ र चन्दको पूर्ण कदको सालिक स्थापना गरेको छ ।
प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शास्त्री, माथेमा, श्रेष्ठ र चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरुको सपना स्मरण गर्दै सहिद दिवस मनाउने गरिन्छ । राणा शाशनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा वि. सं. १९९७ साल माघ १० गतेदेखि १५ गतेविच ४ जना सहिदलाई प्राण दण्ड दिइएको थियो । त्यो बर्षको माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो ।
पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । जेल सजाय भोगिरहेकै बेला उहाँहरुलाई प्राणदण्ड दिइएको थियो । नागरिकका मौलिक र मानव अधिकार प्राप्तिका लागि त्यसपछि समय समयमा आन्दोलन भएका छन् । ती आन्दोलनमा धेरै व्यक्तिहरु सहिद भएका छन् । २०८२ भदौ २३ गते भएको आन्दोलन सबैभन्दा पछिल्लो आन्दोलन हो । यस्ता आन्दोलनमा राष्ट्रको स्वाधीनताका लागि ज्यान अर्पण गरेका सहिदहरुको सम्मान १ दिनको कार्यक्रमले पूरा हुँदैन । नागरिक अधिकार सम्पन्न व्यवस्थाका लागि दैनिक आचरण परिवर्तनको खाँचो छ । सहिद दिवसका दिनमा यही संकल्प गर्ने गरिएको छ ।
माथेमाको जन्म स्थलमा श्रद्धाञ्जली आज नै काठमाडौँ महानगरपालिकाका वडा नं. २३ ओमवहाल (यंगाल) मा रहेको धर्मभक्त पार्कमा पनि स्मृति सभा सम्पन्न भएको छ । धर्मभक्त माथेमा स्मृति गुथिले आयोजना गरेको कार्यक्रममा माथेमाको प्रतिमामा माल्यार्पण गरिएको थियो , कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोल, विधायन समितिका संयोजक मचाराजा महर्जन, जनप्रतिनिधिहरु, गुथिका अधिकारीहरु र स्थानीयहरुको सहभागिता थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


