काठमाडौं । आयोडिन मन्थको अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चले माघ १८ गते अनामनगरस्थित सिलौटो कटेजमा स्वास्थ्य विज्ञ तथा सरोकारवाला निकायका अधिकारीहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीले प्याकेट गरिएको नूनमा ५० पीपीएम आयोडिन राख्ने कानुनी व्यवस्था अनुसार साल्ट ट्रेडिङले नूनमा उचित मात्रामा आयोडिन मिसाएको जानकारी दिनुभयो ।
उहाँले, भान्छासम्म पुग्दा आयोडिनको मात्रा करिब ३० पीपीएम रहने र गरिबीको रेखामुनि रहेका नागरिकको आयोडिन सेवन चुनौतीपूर्ण हुनसक्ने पनि बताउनुभयो । डा. सुवेदीले विदेशी अभ्यास नेपालमा सिधै लागू नहुने भन्दै, नेपाली परम्परागत खाना पकाउने शैलीमा करिब १२ प्रतिशत आयोडिन नष्ट हुने भएकाले हालको मात्रा उपयुक्त रहेको स्पष्ट पार्नुभयो । उहाँले उपभोक्तालाई अफवाहमा नपर्न र दुई बालबालिकाको लोगो अंकित नून सेवन गर्न आग्रह गर्नुभयो ।
साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले श्रीलङ्काको उदाहरण दिँदै आयोडिन कम गर्दा स्वास्थ्यमा नकारात्मक असर देखिएको जानकारी दिँदै नेपालमा उचित मात्रामा आयोडिन मिसाएर वितरण भइरहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अवैध रूपमा आयोडिनरहित नून उच्च मूल्यमा बिक्री हुने क्रमप्रति चिन्ता व्यक्त गर्दै कडा कार्वाहीको माग गर्नुभयो ।
जनस्वास्थ्यविद् अरुणा उप्रेतीले आयोडिनयुक्त नून मानव शरीरका लागि अनिवार्य पोषण तत्व भएको र यसको उचित मात्रामा दैनिक सेवन आवश्यक रहेको स्मरण गराउनुभयो। अन्तक्रियामा सहभागी विज्ञ तथा सरोकारवालाले आयोडिनयुक्त नूनमा अत्यधिक आयोडिन भएको भ्रम फैलाउने प्रयासप्रति आपत्ति जनाउँदै सचेतना अभिवृद्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


