काठमाडौं । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा आफ्नो अलग पहिचान बनाएको करेन्ट नुडल्सको उत्पादक संस्था यसोदा फुड्स प्रा.लि. ले राजधानी काठमाडौँको बानेश्वरस्थित कात्यायनी चोकमा आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को दोस्रो शाखा सञ्चालनमा ल्याएको छ । माघ १८ गते आइतबारदेखि सञ्चालनमा आएको उक्त करेन्ट मार्टको उद्घाटन अवसरमा बोल्दै यसोदा फुड्सका नेसनल सेल्स म्यानेजर युगराजले उपभोक्ताको विश्वास र मायाकै कारण कम्पनीले राजधानीमा सेवा विस्तार गर्न सफल भएको बताउनुभयो । “भैरहवामा सञ्चालनमा रहेको करेन्ट मार्टप्रति उपभोक्ताले देखाउनुभएको भरोसा र उत्साहले हामीलाई काठमाडौँसम्म विस्तार गर्न प्रेरित गरेको हो,” उहाँले भन्नुभयो, “अब कात्यायनी चोकबाटै उपभोक्ताले हाम्रा ताजा, गुणस्तरीय र स्वादिष्ट उत्पादनहरू सहज रूपमा प्राप्त गर्न सक्नुहुनेछ ।”
भैरहवामा सञ्चालनमा रहेको पहिलो आउटलेटको उल्लेखनीय सफलतापछि उपभोक्ताको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले काठमाडौँमा दोस्रो शाखा विस्तार गरेको हो। नयाँ बानेश्वरस्थित कात्यायनी चोकमा रहेको करेन्ट मार्टको औपचारिक उद्घाटन यसोदा फुड्सका डाइरेक्टर मधुसुदन घिमिरे र नेसनल सेल्स म्यानेजर युगराज पाण्डे ले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको थियो । उद्घाटन समारोहमा कम्पनीका एरिया सेल्स म्यानेजरहरू सोनी पुडासैनी, विमला खाति र सपना भुसाल लगायतको उपस्थिति रहेको थियो भने ग्राहक तथा शुभेच्छुकहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।
यस करेन्ट मार्टमा उपभोक्ताले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू एकै छानामुनि प्राप्त गर्न सक्नेछन् । करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकरसँगै करेन्ट गोल्ड मसाला चिया, सिटिसी चिया तथा जिरा, धनियाँ र रातो खुर्सानी पाउडर जस्ता मसला सामग्रीहरू पनि उपलब्ध छन् । यसअघि कम्पनीले अनामनगर र शंखमुलमा ‘करेन्ट पोइन्ट’ मार्फत नुडल्स पारखीहरूलाई नयाँ स्वाद पस्किँदै आएको सन्दर्भमा, नयाँ करेन्ट मार्टले प्याकेज्ड फुड खरिद गर्ने ग्राहकहरूलाई थप सुविधा दिने विश्वास लिइएको छ ।
सन् २०१७ मा स्थापना भएको यसोदा फुड्स प्रा.लि. गुणस्तर र नवीनताप्रति प्रतिबद्ध नेपालको अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो । ‘करेन्ट’ ब्रान्डअन्तर्गत उत्पादन हुने पिरो र स्वादिष्ट चाउचाउ विशेषगरी युवापुस्तामाझ लोकप्रिय छ । कम्पनीले आफ्ना उत्पादनहरू नेपालभरि मात्र नभई विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै नेपाली स्वादलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउँदै आएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


