Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राजनीतिक साक्षरता सम्बन्धी ४ दिने कार्यशाला सम्पन्न


बिहीबार , माघ २२ २०८२
  • 456
    SHARES

  • images
    राजनीतिक साक्षरता सम्बन्धी ४ दिने कार्यशाला सम्पन्न

    काठमाडौं । सामंजस्य परियोजनाद्वारा अपाङ्गता भएका युवा महिलाहरूका लागि ४ दिने राजनीतिक साक्षरता कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ । माघ १६ गते देखि १९ गते सम्म ४ दिन सम्म सञ्चालन भएको उक्त साक्षरता कार्यशालाको विषयमा सामंजस्यका संस्थापक अजिता देवकोटाले जानकारी गराउँदै अपाङ्गता भएका युवा महिलाहरूलाई पनि राजनीतिका विषयमा ज्ञान प्रदान गरी यसको आवश्यकता, महत्त्व तथा भूमिकाका विषयमा जानकारी गराउने उद्देश्यले ४ दिने कार्यशालाको आयोजना गरिएको बताउनु भयो ।

    images
    images
    images

    उक्त कार्यशालाको पहिलो दिन अर्थात् माघ १६ गते उहाँले राजनीति भनेको के हो ?, यसका चरण, राजनीतिका आधार, राजनीति कसले गर्नु पर्ने, राजनीतिक विचारधारा, राजनीतिक विचार धाराको महत्त्व, नारीवादी राजनीतिक विचारधारा लगायतका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । साथै उहाँले नेपालमा राजनीतिक अवस्था, यसमा युवा महिलाहरूको भूमिका के कस्तो रहेको छ भन्ने सन्दर्भमा गरिएको (प्यानल डिसकस) छलफलको सहजीकरण पनि गर्नु भयो । सो प्यानल छलफलमा आलय नामक संस्थाकी प्रतिनिधि दीक्षा खड्की, प्रगतिसिल लोकतान्त्रिक पाटीकी अध्यक्ष मण्डलकी पाँच सदस्य मध्येकी एक सदस्य ओजस्वी भट्टराई र यूथ कंग्रेस नेपालकी अध्यक्ष एजस्वी राई रहनु भएको थियो ।

    यसै क्रममा उहाँहरूले राजनीतिमा युवा अपाङ्गता भएका महिलाहरूको अर्थपूर्ण सहभागिता हुनु पर्ने, यसको लागि आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यसै गरी कार्यशालाको दोस्रो दिन माघ १७ गतेको पहिलो चरणमा अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी अध्यक्ष तथा अपाङ्गता र लैङ्गिक विज्ञ निर्मला धितालले नेपालको राजनीतिक इतिहास र अपाङ्गता नारीवादी दलित, थारु तथा मधेस आन्दोलनहरूले नेपालको लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि खेल्दै आएको भूमिका र इतिहास देखि वर्तमान सम्मको अवस्थाको विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

    यसै क्रममा उहाँले नेपालको राजनीतिक इतिहासको संक्षिप्त पृष्ठभूमि, सन् १९६० देखि १९७० को दशकतिर अपाङ्गताको अवधारणा आएको, वि.सं २०४६ देखि २०६२ जनआन्दोलनमा अपाङ्गता आन्दोलनको समेत उदय भएको बताउनु भयो । साथै उहाँले वि.सं.२०७२ पछि हाल सम्म अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अवस्था र चुनौतीका विषयमा पनि प्रस्ट पार्नु भयो । प्रस्तुतिका क्रममा निर्मला धितालले अपाङ्गता भएका व्यक्तिहरूको सवालमा अन्तर्राष्ट्रिय कानुनी दस्ताबेज तथा व्यवस्थाहरू, नेपालको संविधान २०७२ मा व्यवस्था गरिएका अपाङ्गता भएका व्यक्तिहरूका राजनीतिक अधिकार, नारीवादी आन्दोलन लगायतका विषयमा पनि प्रस्तुतीकरण गर्दै यस कार्यशालाको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

    सोही दिनको दोस्रो चरणमा उप-न्यायाधिवक्ता ममता श्रेष्ठले (Political Literacy workshop for Young women with disabilities) अपाङ्गता भएका युवा महिलाहरूको राजनीतिक साक्षरताका विषयमा प्रस्तुतीकरण गर्नु भयो । यसै क्रममा उहाँले निर्वाचनको संरचना, निर्वाचनको महत्वको बारेमा प्रस्ट पार्दै प्रतिनिधि सभा चयन प्रक्रिया, नेपालको संसद् सदस्य मिश्रित निर्वाचन प्रणालीका विषयमा पनि जानकारी गराउनु भयो ।

    त्यसै गरी उक्त कार्यशालामा यसै दिन तेस्रो चरणमा Digital Rights Nepal की संजिना क्षेत्रीले (Role of Media Narrative, Public, opinion, misinformation and disinformation and ways to Respond ) मिडिया कथन, सार्वजनिक धारणा, गलत तथा भ्रामक सूचनाको भूमिका तथा यसको प्रतिक्रियाका विषयमा प्रस्तुतीकरण गर्नु भयो । उहाँले मिडियाहरूले सूचनाहरूलाई कसरी प्रसारण तथा प्रकाशन गर्ने गरेको, ती सूचनाहरू सत्य हुन वा होइनन् भन्ने कुरा कसरी विश्वास गर्ने भन्ने विषयमा प्रस्ट पार्दै यसै विषयमा समूहगत छलफल पनि गराउनु भयो ।

    साथै समूहगत छलफल पश्चात् उक्त कार्यशालामा सहभागी अपाङ्गता भएका युवा महिलाहरूले समूहमा छलफल गरेर लेखिएका विषय वस्तुहरूलाई प्रस्तुतीकरण पनि गर्नु भएको थियो । सामंजस्य परियोजनाद्वारा काठमाडौँमा आयोजित ४ दिने अपाङ्गता भएका युवा महिलाहरूका लागि राजनीतिक साक्षरता कार्यशालाको तेस्रो दिन अर्थात् माघ १८ गतेको पहिलो चरणमा मेघा कलेजका कानुनी संयोजक तथा अधिवक्ता विनोद खत्रीले सूचनाको हकको विषयमा प्रस्तुतीकरण गर्नु भयो ।

    उक्त प्रस्तुतीकरणमा उहाँले सूचनाको हक भनेको सार्वजनिक निकायको गतिविधिलाई (म्याग्रिफाइङ् ग्लास) ले हेर्ने प्रक्रिया हो भन्दै नेपालमा सूचनाको हकको विकास क्रम, संविधान प्रदत्त हक २०७२ को धारा २७, लोकतन्त्रको आधारभूत मूल्य र मान्यता, नेपालको संविधानमा सूचनाको हक, राष्ट्रिय सूचना आयोगको भूमिका, सूचनाको हक सम्बन्धी ऐन २०६४ को प्रस्तावना, सूचना मागकर्ताले पुरा गर्ने सर्तहरू, सूचना माग गर्न सकिने सार्वजनिक निकायहरू, सूचना नदिनेलाई दण्डित गरिने सजायको व्यवस्था, सूचना प्रवाहमा बाध्य नहुने विषयहरूका बारेमा प्रस्ट रूपमा जानकारी दिनु भयो ।

    यसै दिनको दोस्रो चरणमा निर्वाचन प्रक्रियाका विषयमा विकल राईले प्रस्तुतीकरण गर्नु भयो । उहाँले नेपालमा निर्वाचन प्रणालीका विषयमा जानकारी दिँदै प्रत्यक्ष निर्वाचन, समानुपातिक प्रतिनिधित्वको प्रावधानको बुझाई लगायतका विषयमा जानकारी गराउनु भएको थियो । यसै दिनको कार्यशालाको तेस्रो चरणमा पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विधा भट्टराइले संसदमा सांसदको भूमिकाको विषयमा प्रस्तुतीकरण गर्नु भयो । यस प्रस्तुतीकरणमा उहाँले संसद् भनेको व्यवस्थापिका हो र यो राज्यको अङ्ग हो भन्दै व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको विषयमा पनि प्रस्ट पार्नु भयो ।

    त्यसै गरी उहाँले संसद्को प्रक्रिया, यसमा शून्य समय, आकस्मिक समय, विशेष समय, विचार गरियोस् भन्ने समयका विषयमा पनि जानकारी गराउँदै कानुन बन्ने प्रक्रिया, सार्वजनिक लेखा समिति, संसदीय सुनुवाइ लगायतका विषयमा प्रस्ट रूपमा जानकारी गराउनु भयो । सामंजस्य परियोजनाद्वारा काठमाडौँमा आयोजित ४ दिने अपाङ्गता भएका युवा महिलाहरूका लागि राजनीतिक साक्षरता कार्यशालाको अन्तिम अर्थात् चौथो दिन अधिवक्ता विविशीका खनाल र अमृत ढकालले नमुना प्रतिनिधि सभाका बारेमा प्रस्तुतीकरण गर्नु भयो ।

    यस प्रस्तुतीकरणमा उहाँहरूले कानुका विषयमा बताउँदै कानुनको बणानुक्रम, व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको भुमिकाको विषयमा पनि थप जानकारी गराउनु भयो । यसै क्रममा उहाँहरूले विधेयकको परिचय गराउँदै सांसदहरूको मुख्य भूमिका लगायतका विषयमा पनि प्रस्ट पार्नु भएको थियो । साथै उहाँहरूले तालिममा सहभागी अपाङ्गता भएका युवा महिलाहरूलाई सहभागी गराउँदै नमुना प्रतिनिधि सभाको प्रयोगात्मक अभ्यास पनि गराउनु भयो । जसमा अपाङ्गता भएका महिलाहरूको राजनीतिक अधिकार सुनिश्चित गर्दै उनीहरूको शिक्षा, स्वास्थ्य, रोजगार, साङ्केतिक भाषाको दोभाषेको व्यवस्था, अपाङ्गता मैत्री प्रविधि, अपाङ्गता अनुकूलको संरचना निर्माण, अपाङ्गता भएका व्यक्तिहरूको अनिवार्य अर्थपूर्ण सहभागिता, विधेयक लगायतका विषयमा छलफल गराउनु भयो ।

    उक्त कार्यशालामा सहभागीहरूलाई सामंजस्यको तर्फबाट यसका संस्थापक अजिता देवकोटाले प्रमाणपत्र प्रदान गरी यस ४ दिने कार्यशालाबाट अपाङ्गता भएका युवा महिलाहरूले राजनीतिक अधिकारका विषयमा ज्ञान हासिल गर्न सफल भएको अपेक्षा राखेको भन्दै आगामी दिनमा राजनीतिक अधिकारमा अपाङ्गता भएका व्यक्तिहरू तथा युवा महिलाहरूको पहुँचका लागि वकालत तथा पैरवी गर्दै अगाडी बढ्नु पर्ने बताउनु भयो । सामंजस्य परियोजनाद्वारा काठमाडौँमा आयोजित ४ दिने अपाङ्गता भएका युवा महिलाहरूका लागि राजनीतिक साक्षरता कार्यशालामा शारीरिक, दृष्टिविहीन र सुनाई सम्बन्धी अपाङ्गता भएका २५ जना युवा महिलाहरूको सक्रिय सहभागिता रहेको थियो ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ