काठमाडौं । मूल्यांकन पेशामा कार्यरत इन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए) ले आफ्नो १५औं स्थापना दिवस “एनभिए डे–२०८२” देशैभर विभिन्न कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ । केन्द्रीय कार्यालय काठमाडौंले ठमेलस्थित होटल यात्रीमा आयोजना गरेको मूल कार्यक्रममा ५ सयभन्दा बढी मूल्यांकनकर्ता इन्जिनियरहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल प्रमुख अतिथि रहेका थिए भने अध्यक्षता एनभिएका केन्द्रीय अध्यक्ष इ. संजयकुमार महतोले गरेका थिए ।
अध्यक्ष महतोले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिकाको इ.प्रा. नं. १२ को बुँदा (७) अन्तर्गत धितो मूल्यांकनकर्तासम्बन्धी रहेको कालोसूची तथा २/३ को व्यवस्था न्यायोचित नभएको उल्लेख गर्दै त्यसको खारेजीको मागसहित राष्ट्र बैंकको ध्यानाकर्षण गराए । प्रमुख अतिथि पौडेलले वित्तीय स्थायित्व कायम राख्न वित्तीय संस्थाहरूले उच्च मर्यादा र अनुशासन अपनाउनुपर्नेमा जोड दिँदै मूल्यांकनकर्ताहरूले पनि पेशागत आदर्श कायम राख्नुपर्ने बताए। कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसिएशनका अध्यक्ष इ. सुभाषचन्द्र बराल, नेपाल इन्जिनियरिङ काउन्सिलका रजिष्टार इ. ध्रुवराज भट्टराई, नेपाल वित्तीय संस्था संघका उपाध्यक्ष तथा सेन्ट्रल फाइनान्सका कार्यकारी निर्देशक इ. रजोजमान श्रेष्ठ, संविधान सभा सदस्य इ. सकलदेव सुतियारलगायतको उपस्थिति रहेको थियो। यस अवसरमा वरिष्ठ इन्जिनियर दिलिपकुमार श्रीवास्तवलाई सम्मान गरिएको थियो । उनी एनभिएका मधेश प्रदेशका संस्थापक तथा निवर्तमान अध्यक्ष समेत हुन् ।
स्वागत मन्तव्य उपाध्यक्ष इ. विकास वाग्लेले राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव इ. रबिन्द्र अधिकारीले गरेका थिए । समापन मन्तव्य अध्यक्ष महतोले दिएका थिए । सो अवसरमा इ. अधिकारीले भ्यालुयर्स इन्जिनियरहरूलाई छुट्टै काउन्सिलमार्फत संस्थागत मान्यता दिनुपर्ने आवश्यकता औंल्याए। एनभिए डे को अवसरमा देशभरका विभिन्न प्रदेश तथा च्याप्टरहरूले समेत विविध कार्यक्रम आयोजना गरेका थिए । गण्डकी प्रदेशले पोखरामा, लुम्बिनी प्रदेशले रक्तदान कार्यक्रमसहित, कोशी प्रदेशले धरानमा, नेपालगन्ज च्याप्टरले अन्तरक्रिया, मकवानपुर च्याप्टरले चियापान, मधेश प्रदेशले लहानमा विशेष कार्यक्रम, कर्णाली प्रदेशले अन्तरक्रिया, सुदूरपश्चिम प्रदेशले पिकनिक तथा चितवन च्याप्टरले भेटघाट कार्यक्रम गरी दिवस मनाएका थिए ।
देशैभर करिब १२ सय मूल्यांकनकर्ता इन्जिनियरहरूको सहभागितामा एनभिए डे हर्षोल्लासका साथ सम्पन्न भएको जनाइएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


