काठमाडौं । नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) ले नेपाल पर्यटन बोर्डको सहकार्यमा आगामी वर्ष “२४ औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औं अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ र कायाकिङ महोत्सव” आयोजना गर्ने भएको छ । नेपालमा व्यावसायिक जलयात्रा सुरु भएको ५० वर्ष पुगेको अवसरमा महोत्सवलाई विशेष रूपमा मनाउन लागिएको नारा ले जनाएको छ ।
नेपालमा साहसिक जलयात्राको इतिहास सन् १९६० को दशकबाट सुरु भएको मानिन्छ। सन् १९६४ मा फ्रान्सेली टोलीले त्रिशूली नदीमा तथा सन् १९६५ मा सर एडमण्ड हिलारीको टोलीले सुनकोशी नदीमा गरेको जलयात्रालाई यस क्षेत्रको महत्वपूर्ण सुरुवातका रूपमा लिइन्छ । त्यसपछि सन् १९७४ मा अमेरिकी गाइड माइक एगरले त्रिशूलीमा सफल यात्रा गरेका थिए । उनले छाडेका उपकरणको आधारमा सन् १९७५ मा हिमालयन रिभर एक्सप्लोरेशन (HRE) मार्फत नेपालमा व्यावसायिक राफ्टिङ औपचारिक रूपमा सुरु भएको थियो ।
नारा वि.सं. २०४६ पौष ११ गते (२६ डिसेम्बर १९८९) स्थापना भएको संस्था हो, जसले नेपालमा राफ्टिङ र कायाकिङ क्षेत्रको प्रवर्द्धन, व्यवसायिक सुरक्षा मापदण्ड र पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । महोत्सव यसपटक प्रतियोगितामा मात्र सीमित नहुँदै नेपालको जलयात्रा इतिहासको उत्सवका रूपमा मनाइनेछ ।
कार्यक्रमअन्तर्गत नेपालमा राफ्टिङको जग बसाल्ने HRE का संस्थापकहरूलाई विशेष सम्मान प्रदान गरिने नारा ले जनाएको छ । प्रतिस्पर्धातर्फ कायाकिङमा दुई र राफ्टिङमा एक गरी कुल तीन विधामा खेल हुनेछ । महोत्सवमा ३० जना अन्तर्राष्ट्रिय तथा १४० जनाभन्दा बढी राष्ट्रिय खेलाडी गरी करिब १७० खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ । नारा ले यस कार्यक्रमले नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


