काठमाडौं । काठमाडौँ क्षेत्र नं. ५ का प्रदेश सभा सदस्य उम्मेदवार सस्मित पोखरेल ले आफ्नो पाँच वर्षे कार्यकालमा नियमित र संस्थागत सामुदायिक सुनुवाइ सञ्चालन गर्ने स्पष्ट कार्ययोजना सार्वजनिक गरेका छन् । पोखरेलले प्रत्येक महिना एक वडा केन्द्रित गर्दै सामुदायिक सुनुवाइ आयोजना गर्ने घोषणा गरेका छन्। यसअनुसार पाँच वर्षमा कुल ६० वटा सार्वजनिक सुनुवाइ सम्पन्न गरिनेछ ।
क्षेत्र नं. ५ अन्तर्गतका १५ वटै वडामा कम्तीमा चार–चार पटक प्रत्यक्ष सुनुवाइ सुनिश्चित गर्ने उनको योजना रहेको छ। उनका अनुसार सामुदायिक सुनुवाइ कार्यक्रम केवल औपचारिक भेटघाट नभई जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद र उत्तरदायित्व स्थापित गर्ने संरचित अभ्यास हुनेछ । “निर्वाचनपछि जनप्रतिनिधि हराउने संस्कार अन्त्य हुनुपर्छ । जनतासँग नियमित रूपमा भेट्ने, प्रगति सार्वजनिक गर्ने र प्रश्नको जवाफ दिने संस्कृति विकास गर्नुपर्छ,” पोखरेलले बताएका छन् ।
कार्यक्रमअन्तर्गत सम्बन्धित वडामै खुला मञ्चमार्फत सुनुवाइ आयोजना गरिनेछ, जहाँ स्थानीय बासिन्दाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन लगायतका विषयमा प्रत्यक्ष प्रश्न राख्न सक्नेछन् । आवश्यकताअनुसार सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरी समस्याको समाधान प्रक्रियालाई अघि बढाइने जनाइएको छ ।
पोखरेलले यस योजनालाई आफ्नो चुनावी नारामात्र नभई कार्यकालभरि कार्यान्वयन गरिने स्पष्ट प्रतिबद्धता भएको बताएका छन् । “जनताको विश्वास जित्नु मात्र पर्याप्त हुँदैन, त्यो विश्वासलाई निरन्तर संवादमार्फत् कायम राख्नुपर्छ,” उनले उल्लेख गरे ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


